कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं उपत्यकाको चोभारमा सुक्खा बन्दरगाह बनाउने सरकारी योजनाको स्थानीयले विरोध जनाएका छन् । उनीहरू सुक्खा बन्दगाहले चोभारको प्राकृतिक सौन्दर्य नष्ट पार्ने दाबीसहित विरोधमा उत्रेका हुन् ।

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

चोभारको जलविनायक मन्दिर नजिकका बासिन्दा सरोज शाक्यले भने, ‘उपत्यकालाई पर्यावरणीय र सांस्कृतिक हिसाबले ध्वस्त बनाइसकिएको छ । सुक्खा बन्दरगाह यहाँ राखेर झनै कुरूप र अव्यवस्थित बनाउन खोजिँदै छ ।’ उनले स्थानीयको सहमतिबिना नै सरकारले योजना बनाएको दाबी ग्रे ।


सुक्खा बन्दरगाह निर्माणबारे स्थानीय सरकारले भने केही सुझाव दिएको छ । कीर्तिपुर नगरपालिकाले बन्दरगाह निर्माण प्रक्रिया गत चैतमा थालेको वाणिज्य मन्त्रालयको इन्टरमोडेल विकास समितिलाई पत्र लेख्दै ६ बुँदे सुझाव दिएको हो । पत्रअनुसार नगरपालिकाले स्थानीय तहको सहभागिता सुनिश्चित हुनुपर्ने, वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनेलगायतका माग राखेको छ । यसका साथै सामुदायिक वन उपभोग तथा सांस्कृतिक पर्व/जात्रा हुँदै आएको जग्गा प्रयोग नगर्ने विषय पनि समेटिएको छ ।


यसै विषयमा शनिबार चोभार संरक्षण समितिले गरेको चोभार क्षेत्रको संरक्षण र विकासमा सुक्खा बन्दरगाह सान्दर्भिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्र नं. १० बाट प्रतिनिधिसभा सदस्य राजन केसीले पनि स्थानीयका कुरामा सहमति जनाए । ‘हिमाल सिमेन्टले जनस्वास्थ्यमा असर गर्‍यो भनेर स्थानीयले नै हटाएका हुन्,’ केसीले भने, ‘अहिले पनि स्थानीयवासीको इच्छाविपरीत कुनै पनि हालमा सुक्खा बन्दरगाह बन्दैन ।’ उनले आफू जनप्रतिनिधि भएको हैसियतमा यो विषयलाई सरकारसामु राख्ने प्रतिबद्धता जनाए ।


सिमेन्ट काराखानापछि कामै नलाग्ने जग्गामा आफूहरूले रूख रोपी हेरचाह गरेको स्थानीयको भनाइ छ । सिमेन्ट कारखानाले कच्चा पदार्थका लागि ‘ब्लास्टिङ’ गर्दा जमिनमुनिका धेरै संरचना बिग्रिए । भूकम्पले पनि त्यसलाई प्रभाव पार्‍यो । चोभारको उक्त क्षेत्रमा धेरै गुफाहरू छन् । पार्क क्षेत्रका आगन्तुकलाई गाइडले गुफा घुमाउने गरेका छन् । ‘गुफाभित्र ६/७ वटा पोखरी थिए पहिला । अहिले ३ वटा बाँकी छन्,’ महर्जनले थपे, ‘त्यो पानी झथ्र्यो । अहिले पोखरी सुके, झरना छैनन् ।’ पर्यावरण र चोभारको प्राकृतिक बनोट जोगाइराख्न थाप संरचना बनाउन नहुने उनको धारणा छ । वातावरणविद् भूषण तुलाधर पनि महर्जनका कुरामा सही थप्छन् । काठमाडौं उपत्यकामा हावा छिर्ने ठाउँ मुख्य गरी दुईवटा छन् । पहिलो चोभारको गल्छी हो, अर्को धादिङ–थानकोटबाट आउँछ । ‘उपत्यकाको हावा निस्किनेचाहिँ साँगातिरबाट रहेछ । हामीले हावा आउने ठाउँलाई नै सुक्खा र धूवाँयुक्त बनायौं भने भित्रको वायु प्रदूषणको स्तर के होला, कल्पनासमेत गर्न सकिन्न,’ उनले भने ।


खेलकुदका लागि उपयुक्त
अहिले अठारौं एसियाली खेलकुद इन्डोनेसियामा भइरहेको छ । यसको ‘माउन्टेन बाइक क्रस कन्ट्री ओलम्पिक’ को तयारी दुई खेलाडीले चोभारमै गरे । यसलाई माउन्टेन बाइकिङका लागि राम्रो स्थान मान्छन्, साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी । ‘यहाँ र हात्तीवन माउन्टेन बाइकिङ अभ्यास गर्न उपयुक्त ठाउँ हो, नजिक पर्छ,’ राजभण्डारीले भने ।
योजना के छ ?


सुक्खा बन्दरगाहको योजना धेरै पहिले आए पनि अहिले शिलान्यास र निर्माण हुने पक्का भएपछि स्थानीयले विरोध गरेका हुन् । २०७३ को पुसतिरै हिमाल सिमेन्टका संरचना भत्काउन थालिएको थियो । २०७१ मंसिरमा तत्कालीन सरकारले हिमाल सिमेन्टको जग्गा सुक्खा बन्दरगाह बनाउनका लागि आपूर्ति मन्त्रालयलाई किन्न दिने निर्णय गरेको थियो ।
विश्व बैंकको डेढ अर्ब रुपैयाँँ सहयोगमा सवा आठ सय रोपनीमा बन्दरगाह र प्रदर्शनीस्थल निर्माण गर्न लागिएको वाणीज्य मन्त्रालयको भनाइ छ । विश्व बैंकसँगको सम्झौताअनुसार सन् २०१९ सम्ममा बन्दरगाह निर्माण भइसक्नुपर्नेछ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?