कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति जोगाउनै मुस्किल

प्रशान्त माली

ललितपुर — ठेचो ग्वा:ननी टोलका ९२ वर्षीय श्रीगोविन्द महर्जन र ७९ वर्षीय सन्तलाल महर्जन दाफा बाजाका गुरु हुन् । सिखछेँ दाफा खल:का उनीहरू अहिले बाजामा सहभागी छैनन् । उनीहरूले पहिला बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ परिसरमा प्रत्येक वर्ष दाफा बाजा बजाउँदै आएका थिए ।

संस्कृति जोगाउनै मुस्किल

यो चलन अहिले बन्द भइसकेको छ । कात्तिक महिनाभर बाजा बजाउने चलन बन्द भएको १२ वर्ष बितिसक्यो । अहिले ठेचो शक्तिपीठ, माथिल्लो लाछी, धर्मस्थलीपुर, मन्द पाटी र कजीको घर बजाउनुपर्ने परम्परा, पञ्चदान र पीठ पूजामा एक महिना बाजासहित नगरपरिक्रमा गर्ने चलन जेनतेन सञ्चालनमा छ ।
***

माली गा: दाफा खल:द्वारा गँुला: पर्वको अवसरमा एक महिना ३३ कोटि देवताको गीत गाउने चलन बन्द भएको ३ वर्ष बितिसक्यो । कात्तिकभर माली गा:स्थित दुईवटा पाटी, माथिल्लो लाछी, कुटुझोल दुई स्थान, खाँचा, धर्मस्थलीपुर गरेर सात स्थानमा बजाउने चलन पनि बन्द भइसकेको छ । २०४४ देखि हालसम्म प्रशिक्षण दिन सकिएको छैन । अहिले योमरीपुन्ही, भैरव जात्रा र नवदुर्गा देशाच्यागु (नगर परिक्रमा) बाजा बजाउने चलन दयनीय अवस्थाबाट गुज्रिरहेको छ ।
***

यी दुई बाजा खल: उदाहरण मात्र हुन् । ठेचो सांस्कृतिक बाजा संरक्षण समितिमा आबद्ध १२ बाजा खल: छन् । समितिले गरेको अध्ययनमा अधिकांश बाजा खल: दयनीय अवस्थाबाट गुज्रिरहेको पाइएको छ । समितिका अनुसार प्रत्येक बाजा खल:को मतया: जात्रा, एकमहिने पीठ सेवा, योमरीपुन्ही, बालकुमारी, ब्रह्मायणी र नवदुर्गा जात्रा, भैरव र गणेश देवता मन्दिर जात्रामा महत्त्वपूर्ण भूमिका हुन्छ । ‘एकपटक बाजा बजाउन कम्तीमा १५ जना जनशक्ति आवश्यक पर्छ,’ ठेचो बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जनले भने, ‘यसले वर्षदिनमा एउटा बाजा खल: सञ्चालन गर्न झन्डै ९० हजार रुपैयाँ आवश्यक पर्छ । पहिला उक्त रकम सम्बन्धित बाजाका कजी (व्यवस्थापक) आफैंले बेहोर्दै आइरहेका थिए । अहिले त्यस्तै स्थिति रहेन । यसले गर्दा पनि बाजा संरक्षण गर्न गाह्रो परेको छ।’

ठेचोमा दाफा खल: बाहेक नवदुर्गा धिमे पुच:, माली गा: धिमे खल:, खाँचा धिमे खल:, सरस्वती धिमे खल:, कुसीको बाँसुरी खल:, तननी बाँसुरी खल:, ब्रह्मायणी बाँसुरी खल: कुटुझोल बाँसुरी खल: छन् । मतया: जात्रा पहिला सिखछेँ दाफा खल:, न्हुछेँ , न्ह्यछेँ र माली गा: गरेर चार वटा दाफा खल:को संयुक्त आयोजना गर्दै आइरहेको थियो । दाफा खल:लाई गाह्रो परेपछि समितिको पहलमा बाह्रै वटा बाजा खल:ले प्रत्येक वर्ष आयोजना गर्ने निर्णय गरी सञ्चालन गरिएको छ । अहिले १२ बाजा खल:लाई पनि जात्रा सञ्चालन गर्न गाह्रो परेको अवस्था छ ।

सिखछे खल:का कजी तुलसीगोविन्द महर्जन भन्छन्, ‘एक पटक बाजा प्रशिक्षण दिँदा ३ महिनासम्म सिकाउनुपर्छ । यसका लागि झन्डै डेढ/दुई लाख रुपैयाँ खर्च लाग्छ । सम्पूर्ण रकम सिक्न आउने व्यक्ति आफैंले बेहोर्नु पर्छ । आर्थिक समस्याले गर्दा बाजा लोप हुदै गएको हो ।’ उनका अनुसार कुनै बेला राज्यले संस्कृति परम्परालाई आत्मसात् गर्‍यो । कुनै चाडपर्व त आफैंले सिर्जना गर्‍यो । केहीलाई सरकारी संस्था जस्तो गरि मान्यता पनि दियो । ‘कुन जात्रा कुन संगठन गर्ने र कसकसले कति सघाउने नियम बनाइदियो । यसबमोजिम काम गरेबापत गुठीयारहरूले सुविधा र आर्थिक सहयोग पाउने व्यवस्था भयो,’ उनले भने, ‘यता गोरखा सरकार आएपछि सरकारबाट दिइने प्रत्यक्ष र अप्रत्यक्ष सबै सहायता बन्द भयो । यसले गर्दा पनि दाफा बाजा मात्र नभई सम्पूर्ण संस्कृति परम्परा लोप हुँदै गए ।’

धर्मस्थली भजन तथा कुसीको बासुरी खल:ले पहिला प्रत्येक दिन दैनिक भजन आयोजना गर्दथ्यो । अहिले साताको एकपटक पनि हुन छोडेको छ । भजन खल:मा आबद्ध ६२ जनाको कोष स्थापना गरिएको छ । प्रत्येक साता व्यक्तिगत रूपमा २० रुपैयाँ राखेर भजन सञ्चालन गर्दै आइरहेका छन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संस्कृति परम्परालाई पर्यटनसँग जोडेर नगरपालिकाको आम्दानीको स्रोत बनाइने बताए । ‘यसले बाजा संरक्षण गर्न आवश्यक रकम पनि व्यवस्था गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?