कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुमाइयो दीपंकर बुद्ध

भक्तपुर — बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व पञ्चदानको अवसरमा पाँच दीपंकर बुद्धलाई नगरपरिक्रमा गराइएको छ ।

घुमाइयो दीपंकर बुद्ध

पञ्चदानमा भक्तपुरका पाँच विहारबाट निकालिएको दीपंकरलाई दिनभर नगरको करिब ६४ स्थानका साथै बौद्ध विहारहरूमा परिक्रमा गराई मनाउने प्रचलन छ ।

दीपंकर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुर नगरको क्वाठडौंको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोठाको चतुब्र्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कथुबही महाविहारबाट निकाली शनिबार बिहानैदेखि नगरको परिक्रमा गराएको स्थानीय पद्मसुन्दर शाक्यले बताए ।

पञ्चदानमा पाँच दीपंकर बुद्धलाई जमिनमा उत्पादन भएको काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नुन, सुन, कपडा, सुपारी, पैसा आदि गच्छेअनुसार दान गर्ने परम्परा छ । पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ ।

पञ्जदान मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गर्ने प्रचलन रहेको स्थानीय बासिन्दा बताउँछन् ।

बौद्ध धर्मावलम्बीहरू दीपंकर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिका, वृद्धवृद्धाले पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा छ । यसैगरी, मध्यपुर थिमि नगरको टोल/टोलमा दीपंकर बुद्धलाई पञ्चदान गरेको छ ।

जमिनमा उत्पादन भएको गहुँ, मकै, केराउ, भटमास, बोडीलगायत अन्न दीपंकरलाई चढाइसकेपछि मात्र प्रयोग गर्ने स्थानीय बाबुकाजी साछेंले बताए । उनका अनुसार मध्यपुर थिमिको मरुटोल, दिगुटोल, पाटी विहार, चपाचो, बोडेमा दीपंकर बुद्धलाई घरघरबाट अन्नलगायत सामग्री चढाएर दान दिई पञ्चदान पर्व मनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?