डिप्रेसनले आत्महत्या

फातिमा बानु

काठमाडौँ — डिप्रेसनका कारण आत्महत्या बढ्दो छ । नेपाल प्रहरीका अनुसार नेपालमा दैनिक १५ जनाले आत्महत्या प्रयास गरिरहेका छन् । यसका कुनै उमेर समूह भन्ने किटान छैन । सबै उमेर समूहका मानिसलाई डिप्रेसनले आत्महत्यासम्म पुर्‍याएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ३ सय ४६ ले आत्महत्या गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा बढी हो । ३ वर्षअघि ४ हजार ७ सयले आत्महत्या गरेका थिए । नेपालमा सबैभन्दा बढी विष सेवन र झुन्डिएर आत्महत्या गर्ने गरेका छन् । अघिल्लो वर्ष ५ हजार १ सय ३१ ले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा नेपाल ७ औं स्थानमा पर्छ भने महिलाको हकमा नेपाल तेस्रोमा छ ।

आत्महत्या विश्वकै ठूलो समस्या बन्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि ८ देखि १० लाख मानिसले आत्महत्या गरिरहेका छन् । प्रत्यक ३ सेकेन्डमा एकले आत्महत्याको प्रयास गरिरहेका छन् ।

Yamaha

प्रत्येक ४० सेकेन्डमा एकले आत्महत्याकै कारण ज्यान गुमाइरहेका छन् । आत्महत्याको मुख्य कारण डिप्रेसन भएको चिकित्सक बताउँछन् ।

मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा भन्छन्, ‘हिंसा, पारिवारिक झगडा र आर्थिक अभाव पनि डिप्रेसन बढ्नुको कारक हुन् । डिप्रेसन कडा हुँदै जाँदा आत्महत्याको रूप लिन्छ ।’ उपचार सर्वसुलभ हुन सकेमा आत्महत्यादर घट्न सक्ने उनले बताए ।

नेपालमा मानसिक रोगलाई सामान्य रूपमा हेरिन्छ । मानसिक रोग घरघरको समस्या बन्दै गएकाले यसले आत्महत्याको दर बढिरहेको छ । यसलाई उपचार आवश्यक छ भन्ने चेतना नपुग्दा बिरामी आत्महत्यासम्म पुग्छन् । अज्ञानता, गरिबी र सहज उपचार नहुँदा रोग लुकाएर बस्ने गरेका छन् । नेपाल जस्तो विकासोन्मुख देशमा दिनप्रतिदिन मानसिक बिरामी थपिइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ५ मध्ये एकमा कुनै न कुनै खाले मानसिक रोग हुन्छ । कुल बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी उपचारको पहुँचमा छैनन् । आधालाई मानसिक रोगको उपचारबारे चेतना छैन । कोही भने सामाजिक विभेद र रोग नस्विकार्ने प्रवृत्तिका कारण उपचार गर्न मान्दैनन् । उपचार गर्नुपरे लुकेर गर्छन् ।

वरिष्ठ मनोरोग विशेषज्ञ डा. सुनीलकुमार शाह भन्छन्, ‘मानसिक रोग बढ्नुको मुख्य कारण बिरामीप्रति समाजले हेर्ने नकारात्मक दृष्टिकोण हो, सरकारले यो रोगबारे समाजमा जनचेतना बढाउनुपर्छ ।’ डिप्रेसनबारे खुलेर बोल्ने वातावरण भए आत्महत्या घटेर जाने उनको दाबी छ । उनी थप्छन्, ‘बिरामीले स्थानीय तहमा यो रोगको उपचार पाउन आवश्यक छ, नजिक सेवा नहुँदा बिरामी सहेरै बस्ने गरेका छन् ।’ पुरुषको तुलनामा महिलामा दोब्बर बढी समस्या छ । व्यस्त जीवनशैली, एक्लोपन, दुव्र्यसनी र सामाजिक बेवास्ताका कारण युवावर्ग पनि यो रोगको चपेटाबाट अछुतो छैन ।

महिलाको हकमा भने घरेलु हिंसा, संस्कृतिको नाममा महिलामाथि हुने लाञ्छना, र मायाममताको अभावले पनि उनीहरू मानसिक रोगको चपेटामा पर्दै गइरहेको मनोचिकित्सक बताउँछन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको तथ्यांकअनुसार उपचारको दायरामा आएका लगभग ५० हजार बिरामीमध्ये ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष छन् ।

उनीहरूमा चिन्ता गरिरहने समस्या, डिप्रेसन र मानसिक असन्तुलन, छारे रोग लगायतका समस्या देखिएको छ । वैदेशिक रोजगारी, अस्थिर राजनीतिक अवस्था, माइग्रेन र भूकम्पले देशमा मानसिक रोगी थपिएको चिकित्सक बताउँछन् ।

भोक नलाग्नु, रमाउन नसक्नु, सुतिरहन मन लाग्नु, आत्मविश्वास खस्किनु मानसिक रोगका प्रमुख लक्षण हुन् । मानसिक रोगबाट बच्न एक्लै नबस्ने, आफ्ना कुरा खुलेर भन्ने, दैनिक काममा सक्रिय हुने र सन्तुलित भोजन सेवन गर्नुपर्ने मनोचिकित्सक सुझाव छ ।

न्यून सहनशीलता कारण
भक्तपुर (कास)– खाँडादेवी गाउँपालिका–७ रामेछापका १९ वर्षीय नारायण खत्रीले भदौ ६ मा झुन्डिएर आत्महत्या गरे । भक्तपुरको कमलविनायक पाइपलाइन बस्दै आएका खत्रीले प्रेमिकासँग सामान्य विवाद परेकै कारण आत्महत्या गरेको छिमेकी बताउँछन् । अन्तरजातीय प्रेम सम्बन्धमा रहेका खत्रीले प्रेमिकालाई रिस साध्न आवेगमा आएर आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मन्डनदेउपुर नगरपालिका बालुवापाटी घर भई सोही स्थान बस्ने १२ वर्षीय विशाल ढकालले महिनादिनअघि झुन्डिएर आत्महत्या गरे । स्कुल नगएको भन्दै अभिभावकले गाली गरेपछि आवेशमा कक्षा ८ पढ्ने ढकालले आत्महत्या गरेको परिवारको भनाइ छ ।

त्यसैगरी, डिप्रेसनको औषधि सेवन गरिरहेकी पाँचखाल नगरपालिका–५ की ४२ वर्षीय लीलामाई सापकोटाले बुधबार झुन्डिएर आत्महत्या गरिन् । सूर्यविनायक–८ सिपाडोल बस्दै आएकी उनले सुरूमा हातको नसा काटेर आत्महत्याको प्रयास गरेको, विष सेवन गरेको र धेरै प्रयास गर्दा पनि प्राण त्याग्न नसकेपछि रूखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनायो ।

यी तीन घटना प्रतिनिधि मात्र हुन् । पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चालु आर्थिक वर्षको २ महिनामा १५ ले आत्महत्या गरेका छन् । जसमध्ये १४ झुन्डिएर र एकले विष सेवन गरेका हुन् ।

सानो विषयलाई लिएर एक्कासि अप्रिय निर्णय लिने परम्पराको विकास हुँदै गएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालय कुमार श्रेष्ठले भने, ‘महत्वाकांक्षी सोच तथा प्रतिस्पर्धात्मक समाजमा घुलमिलको कठिनाइका कारण आत्महत्याको निर्णयमा पुग्ने गर्छन् ।’ ‘बढ्दो महत्त्वाकांक्षा, न्यून सहनशीलता, प्रतिस्पर्धात्मक समाज आत्महत्याका कारक हुन्,’ मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. वासुदेव कार्कीले भने, ‘विज्ञान प्रविधिले निम्त्याएको आधुनिक जीवनशैलीमा चल्न नसक्दासमेत कपितय व्यक्तिले डिप्रेसनसँगै आत्महत्या गर्ने निर्णयमा पुगेको पाइन्छ ।’

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ ०८:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालिकाले बनाए सिड प्रतिवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि (सिड) समितिमा पठाउने द्देश्यले नेपाली बालिकाले छायाँ प्रतिवेदन तयार गरेका छन् ।

सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न १९ जिल्लाबाट राजधानीमा उपस्थित बालिकाहरूको भेलाबीच सार्वजनिक प्रतिवेदनको सहजीकरण गरेको कन्सोर्टियम नेपालले बालिकाद्वारा लेखिएको यस्तो प्रतिवेदन सम्भवत: विश्वकै पहिलो रहेको जनाएको छ ।

प्रतिवेदनमा बालिकाहरूले पछिल्लो समय बढै गएको असुरक्षा, बलात्कार तथा हिंसाका घटनालाई प्रमुखताका साथ उठाएका छन् । कार्यक्रममा कञ्चनपुरकी बालिका ममता सार्कीले भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा आफ्नो धारणा राख्दै न्यायको अपिल गरेकी छन् । अर्की बालिका अनिषा गिरीले बलात्कृत बालिकाको रोदन शीर्षकको कवितामार्फत भनिन्, ‘कहिलेसम्म भइरहन्छ अपराध समाजमा, सिद्धान्तमा मात्र सीमित कानुन कहिले उत्रिन्छ व्यवहारमा ?’

रोल्पाकी मुना सुवेदीले पनि छोरीको वेदना कविता सुनाउँदै पीडकलाई आग्रह गर्दै भनिन्, ‘मैले तिमीलाई र तिमीले मलाई सम्मान गरे मात्र हाम्रो अस्तित्व पूरा हुन्छ ।’ स्विट्जरल्यान्डको जेनेभामा आगामी अक्टोबर २२ देखि सुरु हुने सिड समितिको ७१ औं सत्रको एक महिनअघि पेस गरिने नेपालसम्बन्धी प्रतिवेदनमा ४९ जिल्लाका बालिकाका मुद्दा समेटिएको प्रतिवेदक समीक्षा कार्कीले बताइन् ।

सिडको अधिकारसम्बन्धी १२ वटा धारामा भेदभावविहीनता तथा समानता, बालिकाको विकास, लैंगिक भूमिका तथा परम्परागत सोच, सहभागिता, शिक्षा, आत्मनिर्भरता तथा रोजगारी, स्वास्थ्य, सामाजिक तथा आर्थिक जीवन, परिवार तथा पारिवारिक मामिलालगायतका अधिकार समेटिएका छन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT