कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ वर्षपछि खड्ग जात्रा देखाइने

ललितपुर — पाटनस्थित च्यासलका ७७ वर्षीय इन्द्रवीर व्यञ्जनकार लोप भइसकेको लिच्छविकालीन खड्ग जात्रामा अग्रपंक्तिमा इन्द्रबाजा बजाउँछन् । एकपटक बाजा बजाउन ४ जना आवश्यक पर्छ । गुठी संस्थानले एकपटक गुठीबाहिर आउँदा प्रत्येक गुठियारलाई २५ रुपैयाँका दरले खान्की रकम दिन्छ ।

१५ वर्षपछि खड्ग जात्रा देखाइने

गुठीलाई अन्य कुनै निकायले भने आर्थिक सहयोग दिने गरेको छैन । गुठीमा ४८ सदस्य छन् । एक पटक गुठीबाहिर बाजा बजाउँदा कम्तीमा १० हजार खर्च हुन्छ । ‘रातो मत्स्येन्द्रनाथ तथा तलेजु पूजाविधिमा पनि बजाउनुपर्छ,’ उनले भने, ‘अहिले जेनतेन चलाएकै छौं ।’ वर्षमा सरदर १८ पटक बजाउनुपर्ने चलन छ ।

मुहाली गुठीका ४० मध्ये बाजा बजाउने एक मात्र बाँकी छन् । ‘कोहीको मुत्यु भइसक्यो, कसैले छाडे भने केही बसाइँ सरे,’ सुनधारा दोबाट टोलका मुहाली गुठियार ७५ वर्षीय कान्छा कपाली भन्छन्, ‘खड्ग जात्रामा बजाएबापत २ पैसा दिन्थ्यो । पशुपतिनाथ मन्दिरमा दैनिक महादेवलाई महास्नान गराउने बेलामा बजाउने चलन बन्द भएको १५ वर्ष बितिसक्यो ।’

पाटन कायगु ननीका गुठियारले खड्गजात्राका बेलामा बौ: (धान र चामल मिसाएर पकाएको भात) बोक्ने परम्परा छ । जात्राको क्रममा खड्ग समात्ने व्यक्तिको अगाडिपछाडि बसेर नगर परिक्रममा गर्ने गरिन्छ । महालक्ष्मी मन्दिरमा राँगासहित बलि चढाउँदा जल चढाउन बौ: गुठियार अनिवार्य मानिन्छ । ‘यो चलन २०४३ देखि रोकियो । त्यसको एक वर्षपछि रातो मत्स्येन्द्रनाथ जात्रामा जाने चलन पनि बन्द भयो,’ कायगु ननीका गुठियार ६३ वर्षीय कृष्णबहादुर महर्जनले भने, ‘१५ गुठियारले बाहिर बाजा बजाउँदा प्रसाद ग्रहणलगायतका लागि करिब २५ हजार खर्च हुन्छ ।’

खड्गजात्रासँग सम्बन्धित यी गुठियार उदाहरण मात्र हुन् । ठेचो नवदुर्गा भवानी देवी, तलेजु, नाय: बाजा खल:, यल मु:खल, कोन्ति खल:, महालक्ष्मी ध:पाला, कुमारी घर, कुम्भेश्वर मन्दिरका पुजारी, ग: प्याख: खल: नकबहिल (अष्टमातृका नाच), डंगु खल: हौगलगायत गुठीसम्बन्धी विभिन्न गुठियार छन् । यिनीहरूलाई गुठी संस्थानले दिँदै आइहरेको जिन्सी र नगद सहयोग पनि समयअनुकूल परिमार्जन हुन सकेको छैन ।

१९९० को भूकम्पले पाटन दरबार क्षेत्रस्थित लिच्छविकालीन मानमानेश्वरी देवी मन्दिर ध्वस्त बन्यो । गुठी संस्थानले उक्त मू:छेँ आँगन घरको मूर्ति पाटन संग्रहालयको स्टोरमा राखेको छ । उक्त क्षेत्र २०६१ मा थ्री–स्टार क्लबलाई १५ वर्षका लागि भाडामा लगाइयो । जात्रा सञ्चालन गर्नुपर्ने आँगनघर पनि रेस्टुरेन्टलाई भाडामा दिएपछि दरबार क्षेत्रसँग सम्बन्धित संस्कृति लोप हुँदै गएको मानमानेश्वर देवी मन्दिरका व्यवस्थापक साम्राज्यदेव श्रेष्ठ बताउँछन् । ‘यसले दसैंमा रौनक हरायो । स्थानीय गुठियार, सरोकारवाला र जनप्रतिनिधिसमक्ष यसलाई ब्युँताउन आग्रह गरेका छौं ।’

ललितपुर महानगरमा सोमबार सम्पन्न सारोकारवालासँगको अन्तक्र्रियामा गुठी संस्थान तथा महानगर लगायतका निकायले लोप भइसकेको संस्कृति जगाउने प्रतिबद्धता जनाए । लिच्छविकालीन मन्दिर भाडामा लगाएको ठेक्का सम्झौता २०७६ जेठमा सकिँदै छ । गुठी संस्थान ललितपुर प्रमुख शैलेन्द्र पौडेल भन्छन्, ‘ठेक्का अवधि निर्माण र मुद्दा मामिलाको समय जोडेर २०६८ सम्म लम्बिन सक्छ,’ उनले भने, ‘त्यतिबेला भूकम्पको लामो समय पुनर्निर्माण हुन नसकेपछि खाली ठाउँ देखेर त्यसै छोड्नुभन्दा भाडामा लगाइएको हुनुपर्छ ।’ उनले पुनर्निर्माण प्राधिकरण र ललितपुर महानगरसँग समन्वय गरेर पुनर्निर्माणको पहल गर्ने बताए ।

उनले लिच्छविकालीन मन्दिरमा रेस्टुरेन्ट सञ्चालन रहे पनि जात्रा सञ्चालन गर्न ठाउँको व्यवस्था गर्न सकिने बताए । दरबार क्षेत्रसँग सम्बन्धित लिच्छविकालीन खड्ग (पायो) जात्रा लोप भएको २१ वर्ष वितिसक्यो । ‘पायो जात्रा पुन: सञ्चालन गर्न दरबन्दीअनुसार दिँदै आइरहेको बोका, ५० धार्नीको राँगालगायत सरसामान अहिले पनि उपलब्ध गर्न सकिन्छ,’ उनले भने ।

जात्रा सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्न सकिने महानगरकी उपमेयर गीता सत्यालले भनिन्, ‘लोप भइसकेको जात्रा, पर्व तथा संस्कृति संरक्षण गर्न समयानुकूल दरबन्दीमा वृद्धि गरिनेछ ।’ यसका लागि दरबन्दी मूल्यांकन समिति गठन भइसकेको उनले जनाइन् ।

ललितपुर महानगर–१२ का वडाध्यक्ष नारायण व्यञ्जनकारले त्रिपाल राखेर भए पनि जात्रा सञ्चालन गरिने बताए । ‘थ्री–स्टार क्लबले संस्कृति जोगाउन सकारात्मक भूमिका खेल्नेछ,’ उनले भने, ‘पहिलाको कुरालाई लिएर अहिले विवाद गरिरहनु उचित होइन ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले लोप भइसकेको जात्रा पुन: सञ्चालन गर्न सकेमा पाटन क्षेत्रलाई संस्कृतिक नगर बनाउने थप टेवा पुग्ने बताए ।

यल सांस्कृतिक पर्व संरक्षण समितिका पूर्वसंयोजक सविन श्रेष्ठले समिति र महानगरपालिकाले समन्वयको भूमिका खेल्नुपर्ने बताए । काठमाडौं उपत्यका संरक्षण कोष निर्देशक रोहित रञ्जितकारले मन्दिर पुनर्निर्माण गर्न डिजाइन तथा लगत इस्टिमेट तयार भइसकेको बताए ।

ललितपुर महानगरपालिका–१६ वडाध्यक्ष निर्मलरत्न शाक्यल सरकारको मात्र मुख नताक्न अनुरोध गरे । ‘गुठियार आफैंले पनि सक्दो पहल गराैं,’ उनले भने ।

प्रकाशित : आश्विन २, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?