कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिच्छविकालीन मूर्ति २० वर्षपछि प्रतिस्थापन

प्रशान्त माली

ललितपुर — पाटन दरबारस्थित मूलचोकमा आइतबार बिहान नाश भइसकेको लिच्छविकालीन गुठीका गुठियारको भीडभाड थियो । शरीरमा रातो कपडा लगाएर जम्मा भएका राजोपाध्याय समुदायबाहेक जनप्रतिनिधि, तलेजुका पुजारी, गुठी संस्थान त:बहाल कार्यालयका प्रतिनिधिको उपस्थित थियो ।

लिच्छविकालीन मूर्ति २० वर्षपछि प्रतिस्थापन

पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबार, पाटन संग्रहालय, मंगलटोल सुधार समिति, प्रहरी तथा पर्यटक जम्मा भएका थिए ।

पाटनको सबैभन्दा पुरानो ऐतिहासिक खड्ग जात्रा पुन: सञ्चालन गर्न लिच्छविकालीन मू: छेँ आग: द्य: (मानमानेश्वरी देवी) को मूर्ति पाटन संग्रहालयबाट बाहिर ल्याउने साइत बिहान ११ बजे थियो ।

१९९० को भूकम्पले मानमानेश्वरी देवी मन्दिर भत्केपछि त्यहाँका मूर्ति, खड्गहरू संग्रहालयमा स्टोरमा राखिएको थियो । मन्दिरसँग सम्बन्धित जात्रा २० वर्षअघि बन्द भएको थियो । यस वर्ष जात्रा पुन: सञ्चालन गर्न संग्रहालयबाट मूर्ति बाहिर ल्याएर दरबारस्थित बहादुर शाह भवनको उत्तरपट्टिको भूकम्पले भत्केको मू: छेँ आँगन घरमा प्रतिस्थापन गरिएको छ ।

तान्त्रिक विधिपूर्वक होम जप गरेर क्षमापूजा पनि गरिएको छ । मू: छेँ आग: द्य: गुठी व्यवस्थापक साम्राज्यदेव श्रेष्ठ भन्छन्, ‘गुठियारको आफ्नै खर्चमा क्षमा पूजा गरेका छौं । जात्रा सञ्चालन गर्न भने ललितपुर महानगरले सहयोग गर्ने अपेक्षमा छौं ।’ उनले १९९० को भूकम्पले क्षति भएको मन्दिर ८५ वर्षपछि पनि पुनर्निर्माण हुन नसकेकामा दु:ख व्यक्त गरे । जात्रा गर्न संग्रहालयबाट बाहिर ल्याएर लिच्छविकालीन मुख्य देवतासँगै सिद्धिलक्ष्मी, शिव, सूर्य, शिवपार्वती, चामुण्डा, काली, सरस्वतीलगायत मूर्ति प्रतिस्थापन गरिएको छ ।

दरबार क्षेत्रसँग सम्बन्धित लोप भइसकेका नाच पुन: सञ्चालनमा ल्याउन जनप्रतिनिधि, तलेजु र कुम्भेश्वरका पुजारी, न:कबहिलको अष्टमातृका नाच खल:, पाटनका नाय: बाजा, कायगु ननी:, डंगु, मुहाली र इन्द्रबाजा खल:, कुमारी घर: पनि लागि परेका छन् ।

ठेचोका नवदुर्गा गुठियारले भने ललितपुर महानगरमा लिखित रूपमा पत्र नै दर्ता गराएर जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । नवदुर्गा गुठी पुजारी गोपाल माली भन्छन्, ‘नाच सञ्चालन गर्न क्षमा पूजा गरिसकेका छौं । ‘अब आवश्यक फूलमाला, गरगहना, बाजा मर्मत गर्न बाँकी छ,’ उनले भने ।

नवदुर्गा नाच मूलचोकमा विजयादशमी र कोजाग्रत पूर्णिमा गरेर दुई पटक मञ्चन गर्ने चलन छ । अहिले पूर्णिमा तिथिमा मात्र सञ्चालनमा छ । विजयादशमीमा नचाउने चलन बन्द भएको २० वर्ष बितिसक्यो । लोप भइसकेको नाच यस वर्ष सञ्चालन गर्न महानगरका मेयर चिरीबाबु महर्जनले सहयोग गर्न गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने मालीको भनाइ छ । ‘दरबन्दी रकम समानुकूल वृद्धि गराउन महानगरमा धाएको आधा दशक बितिसक्यो । तर, अहिलेसम्म वृद्धि भएको छैन,’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?