कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुद्रण उद्योगमा पनि बिचौलिया

ललितपुर — काभ्रेका माधव केसी साताअघि पाटन औद्योगिक क्षेत्रभित्र मुद्रण उद्योग सञ्चालन गर्न भाडा बुझ्न गए । त्यहाँ भेटिएका एक उद्योमीले सुरुमा खाली जग्गा नभएको बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कर्मचारीले पनि त्यही कुरा दोहोर्‍याए ।

मुद्रण उद्योगमा पनि बिचौलिया

‘उद्यमीसँग कुराकानी गर्दै जाने क्रममा मासिक ५० हजारका दरले वार्षिक ६ लाख रुपैयाँ बुझाउने भएमा जग्गा पाउन सकिने बताए,’ नेपाल मुद्रण उद्योग महासंघ अध्यक्ष केसीले शनिबार जावलाखेलमा मुद्रण उद्योग प्रवद्र्धन गर्न आयोजित अन्तक्र्रियामा भने, ‘उद्योग मन्त्रालयले कि बिचौलिया हटाउनुपर्‍यो कि मुद्रण उद्योग भिलेज बनाउन गरेको प्रस्ताव कार्यान्वयनमा ल्याउनुपर्‍यो ।’

औद्योगिक क्षेत्र लिमिटेडको नियमअनुसार एक रोपनी जग्गाको भाडा वार्षिक १० हजार ४ सय रुपैयाँ मात्र छ तर केही उद्यमीले अरूलाई भाडामा लगाएर मासिक लाखाैं आम्दानी गरिरहेको आरोप छ । पाटन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कार्यवाहक प्रमुख मित्र राईले बिचौलिया नभएको दाबी गरे । ‘यो हल्ला मात्र हो,’ उनले भने ।

ललितपुर मुद्रण उद्योग संघद्वारा आयोजित अन्तक्र्रियामा महासंघका अध्यक्ष केसीका अनुसार कागज, मसी, प्लेटलगायत प्रेसमा प्रयोग हुने कच्चा पदार्थमा सरकारले १५ देखि ३० प्रतिशतसम्म भन्सार कर र १३ प्रतिशत भ्याट लगाउँछ । सरकारले भारतमा छापिएर नेपाल भित्रिएका पाठ्यपुस्तक, औषधि बट्टालगायतमा भने ५ प्रतिशत मात्र भन्सार लिन्छ ।

यस्तो सरकारी नीतिले गर्दा नेपालका प्रकाशकहरू स्वदेशमा भन्दा तेस्रो मुलुकमा पुस्तक छाप्न आकर्षित भएका छन् । यसले नेपालका मुद्रण उद्योग धराशायी बन्दै गएको र वार्षिक अर्बौं रुपैयाँ बिदेसिएको उनको तर्क छ ।

उनले भारतमा छापेर नेपाल भित्र्याइने वस्तुमा पनि भन्सार र भ्याट लगाउन सरकारसमक्ष माग गरे । ‘कि कच्चापदार्थमा ल्याउँदा भन्सारमा सहुलियत दिनुपर्‍यो,’ उनले भने । दोलखा तामाकोसी गाउँपालिका(४ मालुका कमलप्रसाद पोखरेलले पुख्र्यौली सम्पत्ति र ऋण गरेर ७ वर्षअगाडि १० करोड रुपैयाँमा मुद्रण उद्योग खोले । एक दशकअगाडि एक हजार प्रति प्रिन्ट गर्दा ३ सय रुपैयाँ आउँथ्यो । अहिले भाडा, कर्मचारी तलबलगायत खर्च बढे पनि आम्दानी भने जस्ताको तस्तै रहेको उनको भनाइ छ । ‘पाठ्यपुस्तक छाप्ने सिजनमा प्रकाशकले १० वर्षअगाडिको मूल्यमा पुस्तक नछापे भारतमा छाप्न लैजाने भनेर डर देखाउने गरेका छन्,’ उनले भने, ‘उद्योगमा भने लगानी बढ्दो छ ।’ ५ वर्षदेखि प्रिन्टिङ व्यवसायमा संलग्न काभ्रेका विदुर अधिकारीले प्रेसमा करिब ३ करोड रुपैयाँ लगानी गरिसकेका छन् । १७ कर्मचारी छन् । बैंकबाट ५ वर्षअघि लिएको २ करोड ऋण अझै तिर्न सकेका छैनन् । ‘बैंकको ऋण प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘२४ घण्टा चल्नुपर्ने प्रेस भने ८ घण्टा चलाउन पनि सकिँदैन ।’

यस्तै स्थितिले पाटनको बंगलामुखी, रोशन, अन्नपूर्ण, पुतली सडकको विनायक, युनियन, चाबहिलको शिवपुरी, बानेश्वरको साझा प्रेस बन्द भएको उनले बताए । ‘प्रेसको दयनीय अवस्थाबारे सरकारको पटकपटक ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने, ‘व्यवसायीको संगठित रूपमा आएका कुरालाई सरकारले सम्बोधन गरेन ।’

उद्योग मन्त्रालय औद्योगिक प्रवद्र्धन शाखा संयुक्त सचिव दिनेश भट्टराईले यसबारे आफूलाई जानकारी नभएको बताए । ‘कार्यालयमा बुझेर सम्पर्क गर्छु,’ उनले भने । यो उद्योगमा मुलुकभरि २५ देखि ४० अर्ब रुपैयाँ मेसिनरी सामानमा लगानी, २ हजार ५ सय व्यवसायी र ५० हजार कर्मचारी रहेको संघले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?