कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाको नामबाट नागरिकता पाउनै मुस्किल

ललितपुर — ठेंचोकी महर्जन थरकी नेवार महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै घरबाट भागेर केही दिन कोठामा बसे तर महिला गर्भवती भएको ८ महिनापछि पुरुष छाडेर भागे ।

आमाको नामबाट नागरिकता पाउनै मुस्किल

त्यतिबेला महिलाको परिवारले ‘जातीय भेदभाव’ का कारण पुरुषको खोजी गरेनन्, बरु छोरीलाई माइतीमै राखे ।

हाल ती महिलाका छोरा २१ वर्ष पुगिसके । छोराले स्थानीय युवतीसँग प्रेम विवाह गरेर उनको पनि छोरा भएको २ वर्ष बितिसक्यो तर, बुबाले नै नागरिकता पाएका छैनन् । ‘छोराले २०७० मा तत्कालीन ठेंचो गाविसबाट बुबा बेपत्ता भएको उल्लेख गरेर मेरो नाम राखेर जन्मदर्ता गराए,’ बेपत्ता तामाङकी श्रीमतीले भनिन्, ‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर धाएको २ वर्ष बितिसक्यो ।’ आमाको भने वंशजका आधारमा नागरिकता छ तर नातिको भने जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको छ ।

ठेंचोकै एक महिलाको पनि गलैंचा कारखानामा भेट भएका तामाङ केटासँग प्रेम विवाह भयो । श्रीमान्/श्रीमती भागेर भक्तपुरमा केही वर्ष बसे । उनीहरूबाट एक छोरा र एक छोरी जन्मिए । अहिले छोरा २५ वर्ष र २२ वर्षीया छोरी छन् । छोरीको विवाह भइसकेको छ । छोरीले श्रीमान्को नामबाट नागरिकता पाइन् तर उनका दाइले भने अहिलेसम्म पाएका छैनन् ।

उनी भन्छिन्, ‘संविधानमा आमाको नामबाट नागरिकता दिने व्यवस्था छ तर प्रमुख जिल्ला अधिकारी पत्र बुझ्नसमेत गाह्रो मान्छन् ।’ कार्यालयमा धाउँदाधाउँदै हैरान भइसकेको उनको भनाइ छ । छोराको जन्मदर्तासमेत गर्न सकेका छैनन् । भक्तपुरमा छोराको जन्म भएको थियो । ललितपुरको साबिक ठेंचो गाविसबाट बसाइँसराइको प्रमाणपत्र लिइसकेको छ । तैपनि नागरिकता पाइएको छैन । हाल उनीहरू भक्तपुरमा बस्छन् । श्रीमान्को मृत्युको ८ वर्ष बितिसक्यो, मृत्यु प्रमाणपत्र पनि पाइएको छैन ।

ठेंचोकी अर्की एक महिलाको समस्या पनि उस्तै छ । तामाङसँग प्रेमविवाह गरेर भागेपछि माइती पक्षले फर्काएर ल्याए । गर्भवती उनले माइतीमै बच्चा जन्माइन् । अहिले छोरी २५ वर्षकी भइन् । शिक्षण पेसा गर्छिन् । आमाको मृत्यु भइसकेको छ । आमाको नागरिकता फेला परेको छैन ।

उनले नागरिकता पाएकी छैनन् । संविधानको भाग २ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नागरिकता प्रदान गरिने व्यवस्था छ । आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले भदौ २२ मा नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका थिए ।

सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी भन्छन्, ‘ऐन संशोधन नभएर सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । संविधानमा भएर के गर्नु कार्यान्व्यन गर्न कानुन चाहिन्छ ।’

प्रकाशित : आश्विन ८, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?