कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनाअनुमति बालगृह सारियो

भक्तपुर — सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा सञ्चालित नमस्ते परियोजना बालगृह अर्कै जिल्लामा सारिएको पाइएको छ । बालगृह सञ्चालकले एक जिल्लाबाट अर्कोमा सार्न जिल्ला बालकल्याण समितिको अनुमति लिनुपर्छ ।

बिनाअनुमति बालगृह सारियो

सोमबार सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतको नेतृत्वमा महिला बालबालिका शाखा प्रमुख सीता अधिकारी, नगरस्तरीय बालसंरक्षण समिति संयोजक दीपक बिसुङ्खे, दीपेश बिसुङ्खेलगायतको टोली बालगृह अनुगमनमा जाँदा उक्त बालगृह सञ्चालकले १३ बालबालिका लिएर गोरखा पुगेको पाइएको हो ।


नगरभित्र ४ बालगृह सञ्चालित रहेको नगरसँग तथ्यांकमा छ जसमध्ये नमस्ते परियोजना बालगृहले सम्बन्धित निकायलाई खबर नै नगरी अवैधानिक रूपमा बालबालिकासहित बेपत्ता भएको महिला बालबालिका शाखा प्रमुख सीता अधिकारीले बताइन् । नगरपालिकाका अनुसार उक्त बालगृह जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६५ पुस २७ मा दर्ता भई सञ्चालित थियो ।


नमस्ते परियोजना बालगृहमा सडक बालबालिका ९ र अन्य ४ गरी १३ बालबालिका रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । ‘आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०६९’ अनुसार संस्था दर्ता नगरी बालगृह सञ्चालन गर्नु हुँदैन । बालगृह सञ्चालन गर्नुपूर्व काठमाडौं उपत्यकामा केन्द्रीय बालकल्याण समिति र महिला तथा बालबालिका विभाग तथा अन्य जिल्लामा जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयबाट समेत अनुमति लिनुपर्छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?