कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी कम, आगलागी बढी

विदेशमा खानेपानीको पाइपसँगै आगो निभाउन प्रयोग हुने पानी भएको पाइप पनि जोडिन्छ । तर उपत्यकामा भने खानेपानीको र आगो निभाउने पानीको एउटै लाइन छ 
शिल्पा कर्ण

काठमाडौँ — उपत्यकामा सबैभन्दा बढी आगलागी हुने जिल्ला हो काठमाडौं । घनाबस्ती, विद्युतीय तथा आगो उत्पन्न गर्ने सामग्रीको बढी प्रयोग र धेरै उद्योग सञ्चालनमा रहेकाले यहाँ आगलागीको बढी जोखिम छ । काठमाडौंपछि ललितपुरमा बढी आगलागी हुने गरेको छ ।

पानी कम, आगलागी बढी

काठमाडौं महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार काठमाडौंमा वार्षिक औसतमा डेढ सयदेखि दुई सय आगलागीका घटना हुन्छन् भने ललितपुरमा १ सय २५ सम्म घटना हुने गर्छन् । यसरी हेर्दा काठमाडौंमा मात्र प्रत्येक दुई दिनमा एउटा आगलागी हुने गर्छ । मानवीय क्षति कम हुने भए पनि भौतिक क्षति धेरै हुने गरेका छन् ।


आगलागी नियन्त्रणका लागि देशको राजधानीमा चुस्त व्यवस्था नभएको विज्ञ तथा स्वयं आपतकालीन सेवामा खटिने कर्मचारी बताउँछन् । ‘अन्य स्थानमा बढी हावा चल्ने मौसममा बढी आगलागीको जोखिम हुन्छ । तर यहाँ घनाबस्तीका कारण आगलागीको मौसम भन्ने नै हुन्न,’ काठमाडौं महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्रका कार्य प्रमुख किशोर भट्टराईको भनाइ छ ।


जिल्लामा कतै आगो लागे जुद्ध बारुणयन्त्रबाट फायर फाइटरसहितको टोली पानी भरिएका
ट्यांकर बोकेर जान्छन् । पानी सकिए, फेरि अर्को ‘फायर ट्रक’ बोलाएर पहिलोचाहिँ पानी भर्न जान्छ । यसबीचमा सडक र ट्राफिक त अस्तव्यस्त भयो नै, आगोले गर्ने क्षति पनि बढ्छ । ललितपुर र भक्तपुरमा २ वटा अग्निनियन्त्रक वाहन भए पनि जनशक्ति अभाव र उपकरण बिग्रनेजस्ता कारणले प्राय: एउटा मात्र सञ्चालनमा हुन्छ । यस्तोमा काठमाडौंकै बारुणयन्त्र सहयोगका लागि पुग्ने गरेको छ ।


काठमाडौंमा आगो निभाउन आवश्यक पानीको मुख्य स्रोत एउटा मात्र छ । सुन्दरीजलबाट काठमाडौंमा वितरणका लागि आउने पानी बौद्ध महांकालको ट्यांकीमा जम्मा हुन्छ । कतै आगलागी भए पानी भर्न त्यहीँ जानुपर्ने हुन्छ । एक त चाबहिलको चारैतिरको क्षेत्रमा ट्राफिकजाम, अर्को आगलागी भएको स्थानको दूरीले क्षति बढाउँछ ।


महानगर जुद्ध बारुणयन्त्र प्रमुख बद्रीमान नगरकोटीका अनुसार यसकारणले पनि क्षति बढी हुन्छ । महानगरसँग २८ हजार लिटर पानी भण्डारण क्षमताको ट्यांकी छ । त्यसैको पानी प्रयोग गरिन्छ । कहीँकतै थप आवश्यक परे स्थानीय बोरिङ गरेको ठाउँबाट निकालिन्छ वा खानेपानी पुर्‍याउन हिँडेका ट्यांकरलाई अनुरोध गर्छन् ।


कहीँ कतै, केही आधुनिक ठूला भवन तथा संरचनामा आगलागीबाट हुने जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गरिएको हुन्छ । उपत्यकाका दशक पुराना भवनमा भने यी सुविधा छैनन् । बारुणयन्त्र प्रमुख नगरकोटी भन्छन्, ‘सपिङ मल, फाइभ स्टार होटलहरूमा आगो लाग्दा प्रयोग गर्न मिल्ने भूमिगत पानी हुन्छ । हामी त्यही प्रयोग गर्छौं ।’


आपतकालीन कार्य सञ्चालन केन्द्रका कार्य प्रमुख भट्टराईका अनुसार यहाँ आगो नियन्त्रक केमिकलपछि दोस्रो ठूलो अभाव निभाउन प्रयोग गर्ने पानीको हो । कहीँ व्यक्तिगत बोरिङ गरेका व्यक्तिले पानी दिन मानेनन् वा ट्यांकरले मानेन भने तुरुन्तै पानी किन्न बजेट छुट्याइएको हुन्न । उनले भने, ‘ठूला भवन निर्माण गरिँदा तिनमा अग्नि नियन्त्रणका लागि अस्थायी संरचना बनाउनैपर्ने नियम छ । तर तिनको प्रयोगको अवस्था के कस्तो छ भन्नेबारे कसैले अनुगमन गर्दैन,’ उनले भने ।


हराए ‘फायर हाइड्रेन्ट’
कहीँकतै सडक छेउमा अलिक मोटो पाइप ठाडो पारिएको देख्नुभएको छ ? मोटो पाइपलाई माथिबाट कचौरा आकारको फलामले ढाकेको हुन्छ र एकातिरबाट पाइप खोल्न मिल्ने ढकनी हुन्छ । यही हो ‘फायर हाइड्रेन्ट ।’ अहिले कहीँकतै मात्र देखिन्छ यो । जस्तो महान्यायाधिवक्ताको कार्यालयबाट जिल्ला समन्वय समिति जाने सडकको दाहिने छेउमा यस्तै फलामे फायर हाइड्रेन्ट ढलेको देख्न सकिन्छ । त्यसैगरी ललितपुरको कृष्णगल्लीबाट भाटभटेनी जाने सडकको दाहिनेतर्फ यो संरचना छ । यसको मुख्य काम भनेको दमकललाई सक्दो छिटो पानी उपलब्ध गराउनु हो । यो पानीको सञ्जालसँगै जोडिएको हुन्छ । कतै आगलागी भएमा दमकलले यहाँबाट पानी निकालेर ट्यांकर भर्न सक्छ ।


विदेशमा खानेपानीको पाइपसँगै आगो निभाउन प्रयोग हुने पानी भएको पाइप पनि जोडिन्छ । तर उपत्यकामा भने खानेपानीको र आगो निभाउने पानीको एउटै लाइन छ । अहिले फायर हाइड्रेन्टको अवशेष कहीँकतै मात्र देख्न सकिन्छ । भएका पनि काठमाडौं महानगरपालिकाभित्र छन् । तर यसको यकिन संख्या न महानगरपालिकासँग छ न त काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग । ‘फायर हाइड्रेन्टका भौतिक संरचना नै छैनन् ।


२०४०/४२ सालतिर देखिन्थे । यहाँ पानी अभाव सुरु भएसँगै भएका केही संरचना पनि हराए,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रशासन महाशाखा प्रमुख सुरेशप्रसाद आचार्यले भने । पहिले यो के कति संख्यामा कहाँ–कहाँ थियो भन्ने पनि यकिन जानकारी कतै पाइन्न । पानीे अभाव भएपछि सीमित समयका लागि निश्चित समयमा, विशेषगरी बिहान–बेलुका मात्र पाइपमा पानी छोड्न थालियो । त्यसपछि यसको प्रयोग पूर्णरूपमा बन्द भयो ।


जुद्ध बारुणयन्त्र प्रमुख नगरकोटीको भनाइमा समयक्रमसँगै नयाँ प्रविधि भित्रियो र यसको प्रयोग न्यून हुँदै गयो । ‘केही सडक विस्तारमा परेका छन् । कुनै संरचना निर्माणले हराइसक्यो,’ नगरकोटीले भने, ‘पहिले भए पनि यसको प्रयोग हामीले कहिल्यै गरेनौं ।’ आपतकालीन केन्द्रका भट्टराईले फायर हाइड्रेन्ट सुरुमा बारुणयन्त्र स्थापना गरिँदाताका अत्यावश्यक रहेको बताए । फायर हाइड्रेन्टमै पाइप जोडेर आगो निभाउन पानी फाल्ने गरिन्थ्यो । ‘वि.सं. १९९४ मा जुद्ध बारुणयन्त्र स्थापना हुँदा त्यसमा पानी बोक्ने स्थान थिएन । पछि ट्यांकीवाला फायर ट्रक आइसकेपछि पुरानो बारुणयन्त्रका साथै फायर हाइड्रेन्ट पनि हराए ।


नयाँ निर्माण हुने क्रममा
उपत्यकामा खानेपानीको चरम अभाव हटाउन मेलम्ची खानेपानी आयोजनाले काम गरिरहेको छ । अब झन्डै दुई सय किलोमिटरको हाराहारीमा पाइप बिछ्याउन बाँकी रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कीर्तिपुर, बालाजुलगायतका स्थानमा सडक फेरि खन्नुपर्ने स्थिति रहेको आयोजनाको भनाइ छ ।


पाइपसँगसँगै फायर हाइड्रेन्ट पनि निर्माण भइरहेका छन् । तर यी फायर हाइड्रेन्ट महानगरभित्र मात्र हुनेछन् । ‘मेलम्ची आए पनि यी फायर हाइड्रेन्टमा चौबीसै घण्टा पानी हुने छैनन्,’ आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक दिवाकर ढकालले भने, ‘यांग्री र लार्के खोलाको पानी पनि जोडिएपछि मात्र सधैं पानी हुन्छ । यसका लागि डीपीआर तयार भइसक्यो, कम्तीमा ३ वर्ष लाग्छ ।’ अर्थात् फायर हाइड्रेन्ट भए पनि यो चल्न कम्तीमा ३/४ वर्ष लाग्छ ।


महानगरभित्र तीन सयभन्दा बढी फायर हाइड्रेन्ट राखिएका छन् । यहाँ तीन किसिमका फायर हाइड्रेन्ट निर्माण भएका छन् । एउटा ‘स्ट्यान्ड पोस्ट’ जसको अंश अहिले पनि कहीँकतै देखिन्छ । अहिले सडक छेउमा देखिने जस्तै हुन्छन् । अर्को ‘अन्डरग्राउन्ड’ छन्, जुन सडकमुनि स्ल्याबले छोपिएको हुन्छ । फायर ट्रक आफैंले खोल्ने उपकरणको सहायताले स्ल्याब हटाउँछन् र स्ट्यान्ड पोस्ट राखेर पानी निकाल्छन् । तेस्रो पातलो पाइपमा जोडिएको हुन्छ जुन भित्री सहरमा, चोक–चोकमा राखिएको आयोजनाले जनाएको छ ।


नयाँ हाइड्रेन्ट राख्नु निकै सकारात्मक भए पनि त्यसको ‘कम्प्याटिबिलिटी’ अर्थात् बारुणयन्त्रसँग मिल्ने कि नमिल्ने भन्ने कुरा महत्त्वपूर्ण हुने आपतकालीन केन्द्रका भट्टराईको भनाइ छ । ‘दमकलको पाइपसँग मिल्ने खालको हुनुपर्छ । त्यसैगरी प्रेसर निकै बढी हुनुपर्छ ताकि २/३ मिनेटमै ट्यांकीमा पानी भरियोस्,’ उनले भने । प्राविधिक पक्ष अहिले ध्यान नदिएपछि ती हाइड्रेन्ट पनि बेकामे हुने उनले बताए । कहाँ हाइड्रेन्ट राखिएका छन्, सोको जानकारी अग्नि नियन्त्रकलाई दिनुपर्ने उनको सुझाव छ ।


अमेरिकाको केही राज्यमा भने बर्सेनि संरचना सुरक्षाको प्रमाणपत्र अनुगमनपछि नवीकरण गराउनुपर्ने प्रावधान रहेको उनको अनुभव छ । उनले नयाँ स्थानमा बस्ती बसाउँदा पानीको भण्डारण, ढल निकासजस्ता कुरा आधारभूत आवश्यकता भए पनि नेपालका त्यसको अभ्यास नहुनु दु:खद भएको बताए । भारत, केन्या, मलेसियाजस्ता देशको अनुभव बटुलेका उनी भन्छन्, ‘यहाँ महानगर बाहिर बस्ती बढ्ने कुरालाई आत्मसात् गरिएको पाइन्न । दमकलको धारासँग मिल्ने, सहजै खोल्न सकिने र पानी भरिने भयो भने मात्र काम लाग्छ ।’

प्रकाशित : आश्विन २०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?