कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाटोमै बग्छ ढल

प्रशान्त माली

ललितपुर — उदयपुरकी ललिता बराल हस्तकला बनाउँछिन्। सातदोबाटोस्थित कारखानामा उनी दैनिक माक्स लगाएर काम गर्न बाध्य छिन् । त्यसको कारण हो, ढल निकास सडकमा बगेर दुर्गन्ध फैलिएकाले । उनी भन्छिन्, ‘यहाँ काम थालेको १५ वर्ष भयो । ढलको समस्या उस्तै छ ।’

बाटोमै बग्छ ढल

धापाखेल नागदहकी मनीता थापा सातदोबाटोस्थित फर्निचरमा काम गर्छिन् । ‘दिनभर दुर्गन्धमा बस्दा बेलुका वाक्वाक् हुने, खाना नरुच्ने समस्या हुन्छ,’ उनले भनिन् । झापाकी दीपा लिम्बूको समस्या पनि उस्तै छ । उनले दुर्गन्धले बेलुका टाउको दुख्ने गरेको बताइन् ।

यिनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै लगनखेल–सातदोबाटो सडकमा ढल निकास बग्दा वरिपरिका घरधनी दुर्गन्धले हैरान छन् । यात्रु नाक थुनेर हिंड्न बाध्य छन् । ढल सडकमा बगेको साता दिन भइसक्यो तर मर्मत सम्भारका लागि सम्बन्धित निकायले चासो दिएको छैन । सातदोबाटोका मंगलमान महर्जनले उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरले ‘राइट अफ वे’ कायम गर्ने क्रममा पुरिएको ढल निकास मर्मत नहुँदा समस्या भएको बताए । ‘ढलको समस्या लिएर महानगरलगायत सम्बन्धित निकायमा धाउँदा हैरान भइसक्यौं, तर हालत उस्तै छ,’ उनले भने ।

लगनखेल–सातदोबाटो सडक कालोपत्रेको ठेक्का त्रिवेणी कन्स्ट्रक्सनले पाएको हो । सातदोबाटो क्षेत्रको ढल लगनखेल, थतीटोल, टंगल, हौगल हुँदै मंगलबजारमा पुग्ने गर्छ । ढल फुट्ने समस्या सातदोबाटो क्षेत्रमा मात्र होइन । पाटन गाबहाल र महापाल चोक पनि छ । पर्यटकीय गोल्डेन टेम्पल, कुम्भेश्वरलगायत क्षेत्रमा जाने महापाल चोक मूल सडक हो ।

पाटन अस्पताल, कुमारीपाटी, मानभवनलगायत क्षेत्रको ढल महापाल चोकमा मिसिने गरेको छ । त्यहाँको मंगल पुनर्निर्माण हुन नसक्दा ढल जाम हुने गरेको छ । यसले दुर्गन्ध फैलिएको वर्षांै बितिसकेको छ । विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा नगरको ढल आउने गरेको छ । यसले दरबार क्षेत्रलाई दुर्गन्धित मात्र नभई अशोभनीय देखिने गरेको छ ।

अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुनु समस्याको मुख्य कारण भएको महानगरवासी बताउँछन् । ‘दुर्गन्धले महानगर नर्क नै भइसक्यो । दैनिक नाक थुनेर बस्नुपर्ने स्थिति छ,’ गा:बहालका राजेश वज्राचार्य भन्छन्, ‘प्रत्येक वर्ष ठेकेदारले सडक पिच गर्नेदेखि ढल बनाउने गरे पनि समस्या उस्तै छ ।’ उनले सम्बन्धित सरकारी निकायले समन्वय गरी मर्मत सम्भार गर्नुपर्ने बताए । ‘बरु त्यसमा हामी पनि आर्थिक सहयोग गर्न तयार छाैं,’ उनले भने ।

त्यस्तै महालक्ष्मीस्थान क्षेत्रको ढल दरबार क्षेत्र बंगलामुखी हुँदै वाग्मतीमा मिसिने गर्छ । मंगल टोल सुधार समिति सचिव रवि दर्शनधारीले जनप्रतिनिधिले ढल फेर्ने योजना बनाएमा सहयोग गर्न तयार रहेको बताए । ‘सरकारको मुख मात्र ताकेर हुँदैन,’ उनले भने, ‘स्थानीयवासीले पनि साथ दिनुपर्छ ।’ उनले महानगरले पर्यटकबाट राजस्व संकलन गरे तापनि विकास निर्माणमा त्यति ध्यान नदिएको बताए ।

महापालदेखि उत्तरतर्फ कुम्भेश्वरको निकास पाइप सानो र घरको जगले छेक्ने भएकाले सडकमा ढल बग्ने गरेको स्थानीय बताउँछन् । ढलको मंगलमा बालुवा, रोडा, ग्राभेलले पुर्ने र प्लास्टिक, बोरा, कपडाले गर्दा पनि जाम हुने गरेको छ । यस्तो समस्या लगनखेलको मुख्य केन्द्र र थतीटोलमा पटक पटक हुने गरेको टोल सुधार समितिका अध्यक्ष रमेश देउला बताउँछन् । ‘महानगरसँग कुरा गर्दा बजेट अभावले समस्या समाधान गर्न नसकेको भनी पन्छिन्छन्,’ उनले भने ।

लगनखेल विद्युत् प्राधिकरण, वटुक भैरव, अदालत, मालपोत, नापी शाखा, राजदल गणका साथै स्कुल, कलेज र अस्पतालबाट निस्कने ढल लगनखेल हँुदै गा:बहालको चारदोबाटोमा मिसिन्छ । बालखा टोलदेखि जेनेबहालसम्म ढल मर्मत नहुँदा समस्या देखिने गरेको छ । त्यस्तै अग्निशाला, न्याछ्यगल्ली, त:धोका र पूर्णचण्डीदेखि गाबहाल आउने ढल पनि जाम भई समस्या देखिएको छ ।

ललितपुर महानगरका अनुसार सहरी क्षेत्रका ढलको समस्या समाधान गर्न ४८ करोड लागतमा योजना बनाउन सम्झौता भइसकेको छ । ‘जसमा महानगरले २० प्रतिशत र काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वय निर्देशनालयले एसियाली विकास बैंकको सहयोगमा ८० प्रतिशत खर्च गर्नेछ,’ ललितपुर महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता महर्जनका अनुसार आयोजनाको लम्बाइ २.८ किमि र निर्माण अवधि सन् २०१९ जनवरीदेखि १८ महिनासम्म हुनेछ । ‘स्थानीय स्तरबाट आउने समस्या समाधान गर्न वडाध्यक्षको संयोजकत्वमा समन्वय समिति रहनेछ ।

आयोजनाको सबै पक्षमा समन्वय गर्न नगर प्रमुखको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुखसमेत रहेको निर्देशक समिति गठन गरिने प्रवक्ता महर्जनले जनाएका छन् । उनले योजना सफल भएमा कुमारीपाटी, महापाल, दरबार क्षेत्रलगायतमा हुने ढल जाम निराकरण हुने बताए ।

प्रकाशित : आश्विन २१, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?