कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उनी सडकमा छट्पटाइरहे

‘त्यति धेरैबेरसम्म सडकमा छट्पटिएको मान्छेलाई वास्ता नगरेको देख्दा मानवीय भावना हराउँदै गएको महसुस हुन्छ’
कान्तिपुर संवाददाता

भक्तपुर — सोमबार साँझ । पुरानो बसपार्कबाट मध्यपुर थिमि (सरस्वती खेल) जाने बस छुट्ने समय भइरहेको थियो  । बसपार्कमै सबै सिट भरिए । निकै थोरैमात्र बस चल्ने यो रुटमा यात्रुले प्राय: ठेलमठेल यात्रा गर्नुपर्छ । दसैंको संघारमा यात्रु झन् बढे ।

उनी सडकमा छट्पटाइरहे

बसपार्कमै भरिए पनि चोक र बिसौनीमा पनि यात्री थपिँदै गए । बसभित्र ठाउँ नभएपछि परिचालक मनीष तामाङ छतमा चढ्ने भर्‍याङमा झुन्डिए । एक घण्टापछि बस मध्यपुर थिमिको अन्तिम बिसौनीमा पुग्यो । सबै यात्रु झरेर आआफ्नो गन्तव्यमा लागे । भक्तपुर सुकुलढोकाका ४६ वर्षीय चालक श्यामसुन्दर कर्माचार्य पनि बसबाट झरे । उनले तामाङलाई देखेनन् । झुन्डिएको भर्‍याङमा पनि थिएनन्, छतमा पनि थिएनन् ।


भोलिपल्ट बिहान महानगरीय प्रहरी वृत्त थिमिले उनलाई बोलायो । वृत्तमा गएर पनि उनले भने, ‘हिजो पुरानो बसपार्कबाट हिँडेको मेरो बसका परिचालक बीचमै हराए ।’ प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍यायो । अघिल्लो दिन मृत्यु भएको तर पहिचान नखुलेको एक युवाको शव उनलाई देखाइयो । त्यो उनकै परिचालकको थियो ।


कर्माचार्यले उनको सनाखत गरे । तर, उनलाई पनि परिचालकको नाम, ठेगाना थाहा थिएन । बसमा परिचालक बारम्बार परिवर्तन भइरहने हुनाले आफूलाई थाहा नभएको उनले प्रहरीलाई बताए । प्रहरीले कर्माचार्यलाई तत्काल नियन्त्रणमा लियो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ वर्षे मनीष तीन महिनाअघि मात्रै बा४ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । बसमा भर्‍याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिइरहेका थिए । राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । चालक र यात्रु कसैले थाहा पाएनन् । बस आफ्नै रफ्तारमा कुदिरह्यो ।


पिच सडकमा बज्रिएका तामाङ सडकमा छट्पटिइरहे । सडकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवतजावत पनि चलिरह्यो । उनको उद्धारमा कोही अघि सरेन । केहीबेरपछि उनको उद्धार भयो । एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्‍याइयो । चिकित्सकले एम्बुलेन्समै उनको मृत्यु भइसकेको बताए ।


उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्‍यो । सडकमा खसेका तामाङ ७ मिनेटसम्म छट्पटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ । उनको तत्काल उद्धार गर्न नसक्दा मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक हस्त सुनार बताउँछन् । गठ्ठाघरबाट सानोठिमी आउने सडकको बीचमा प्रहरीको पोस्ट छैन ।

सडकमा छट्पटिएका व्यक्तिबारे समयमै प्रहरीलाई खबर भएको वा उनको उद्धार भएको भए ज्यान जोगिन सक्ने सुनार बताउँछन् । ‘त्यति धेरैबेरसम्म सडकमा छट्पटिएको मान्छेलाई वास्ता नगरी सबै हिँडेको देख्दा मानवीय भावना हराउँदै गएको महसुस हुन्छ,’ सुनारले भने, ‘दुर्घटनास्थलमा मान्छेहरू जम्मा भएर फोटो खिच्न र रमिता हेर्नतिर लाग्छन् । प्रहरीसम्म खबर आउँदा र अस्पताल पुर्‍याउँदा अवस्था नाजुक भइसकेको हुन्छ ।’

प्रकाशित : आश्विन २५, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?