कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाग्यले बाँचेकी तिला

फातिमा बानु

काठमाडौँ — शरीरमा तीनटा फलामे छड रोपिएर घाइते भएकी दाङ, घोराहीकी तिला नेपालीले अन्तत: मृत्युलाई जितेकी छन्  । शरीरमा छड उनिएको २८ घण्टापछि मात्रै उनले उपचार पाएकी थिइन्, महाराजगन्जको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरबाट  ।

भाग्यले बाँचेकी तिला

असोज २१ गते दिउँसो दुई बजेतिर तिला श्रीमान्लाई खाना पुर्‍याएर घर फर्कंदै थिइन् । उनका श्रीमान् रामबहादुर परियार सिलाइको काम गर्छन्, घोराहीमा । आफ्नै सुरमा हिँडिरहेकी तिलालाई पछाडिबाट मोटरसाइकलले ठक्कर दियो । उनी उछिट्टिएर ट्याक्टरमा ठोक्किन पुगिन् । ट्याक्टरले घर बनाउन प्रयोग हुने छड बोकेको थियो । उनको शरीरमा तीनटा छड रोपिए । उनी छडमै अड्किएको अस्पतालमा भेटिएका प्रत्यक्षदर्शीले बताए । दुइटा छड स्तन छेडेर ढाड बाहिर निस्किए । छातीबाट घुसेको एउटा छड भने घाँटीबाहिर निस्किएको थियो ।


त्यस दिन रामबहादुर गार्मेन्टमा सिलाइको काम गरिरहेका थिए । स्थानीयले तिलालाई उद्धार गरी अस्पताल पुर्‍याइएको सुनाएपछि उनी घोराहीको महेन्द्र अस्पतालतर्फ दौडिए । अस्पताल पुगेर श्रीमतीको अवस्था देख्दा उनको होसहवास उड्यो । उनी भन्छन्, ‘कपडा च्यातिएको थियो, उनी रगतमा डुबेजस्तो देखेँ ।’ पीडाले तिला बेस्सरी चिच्याएकी थिइन् । उनले त्यो दिन सम्झे, ‘लामा छड रोपिएको थियो रे, सडकमै आधा छड काटेर अस्पताल पुर्‍याएका रहेछन् ।’


घोराहीमा उपचार हुन नसकेपछि तिलालाई भैरहवाको मेडिकल कलेज रिफर गरियो । त्यहाँ पनि छड निकाल्न नसकेपछि उनलाई काठमाडौं रिफर गरियो । परियार परिवार तिलालाई हेलिकप्टरमै काठमाडौं ल्याउन चाहन्थे । आर्थिक अवस्था कमजोर भएका कारण उनलाई चाँडो अस्पताल ल्याउन सकिएन । रामबहादुर भन्छन्, ‘जोखिम मोलेर एम्बुलेन्समा काठमाडौं लग्यौं, अप्ठ्यारो बाटोमा छडले उनलाई अझै पीडा दिन्थ्यो, देखेर म आफैं मूच्र्छा पर्थें ।’ एम्बुलेन्समा उनी कहिले होसमा हुन्थे, कहिले बेहोस । तिला ‘एय्या मरे’ मात्रै भन्थिन् ।


भैरहवाबाट १२ घण्टा समय लगाएर उनीहरू वीर अस्पतालको ट्रमा सेन्टर पुगे । रिफर भएर ल्याइएकी तिलाको ट्रमामा पनि उपचार हुन सकेन । उनलाई महाराजगन्जको मनमोहन सेन्टरमा रिफर गरियो । असोज २२ गते राति शल्यक्रिया गरी उनको शरीरमा छेडिएका छड निकालियो । डा. उत्तमकृष्ण श्रेष्ठसहितको टिमले तिलाको शल्यक्रिया गरेको हो । उनी होसमा आएकी छन् । खतरामुक्त भएको चिकित्सकको भनाइ छ । उनले ‘म ठीक छु’ सम्म भन्न सक्छिन् । श्रीमान् रामबहादुर उनलाई कुर्न बसेका छन् ।


रामबहादुर आफंै बिरामी छन् । मोतीबिन्दुका कारण दायाँ देख्दैनन् । एउटा आँखाको भरमा उनी मजदुरी गर्छन् । परिवार पाल्छन् । खर्च अभावकै कारण उनले आँखाको शल्यक्रिया गर्न सकेका थिएनन् । उनी भन्छन्, ‘दसैंमा काम बढी हुन्थ्यो, खर्च बटुलेर आँखा उपचार गर्छु सोच्या थें, यस्तो भयो ।’ तिलाले उनको घर मात्रै सम्हालिदिएकी थिइनन्, आधा काम पनि ।

तिला पुराना कपडा च्यातिदिन्थिन्, धोइदिन्थिन् । रामबहादुर तिनै कपडा सिलाउँथे । उनीहरूको गुजारा यसरी नै चलेको थियो । तर आफ्नो सपना पूरा गर्नु त कहाँ हो कहाँ कामको लोड बढी हुने बेला पसल बन्द गरेर हिंड्नुपर्दा रामबहादुर थप चिन्तित छन् ।


तिलालाई ठक्कर दिने मोटरसाइकल र ट्याक्टर चालक पक्राउ परिसकेका छन् भने एक फरार छन् । उनीहरूले नै उपचार खर्च व्यहोरिरहेका छन् । चालकहरूले उपचार गर्न नमानिरहेको रामबहादुर बताउँछन् । उनीहरू उम्किए भने श्रीमतीको उपचार नहोला भन्ने चिन्ताले उनलाई गाँजिरहेको छ । उनी भन्छन्, ‘म मजदुरी गरौं कि श्रीमती स्याहारुँ ।’ मजदुरी नगरे घरमा छोराछोरी र बस्तुभाउ भोकै हुने अवस्था रहेको उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?