कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वको मुखमा आफूखुसी मूल्य

कान्तिपुर संवाददाता

भक्तपुर — चाडपर्वको मुखमा व्यापारीले खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउँदा सर्वसाधारण महँगीको मारमा परेका छन्  । ढुवानी खर्च तथा पेट्रोलियम पदार्थको मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्  ।

चाडपर्वको मुखमा आफूखुसी मूल्य

जिल्लामा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको स्थानीय सर्वसाधारणको गुनासो छ । हरियो तरकारी, चामल, तेल, दाल, चिनी, तरकारी तथा लत्ताकपडाजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका छन् । ‘आलु धार्नीको २४० रुपैयाँ भन्छन्, अन्य तरकारीको मूल्य उत्ति नै महँगो छ,’ सूर्यविनायक नगरपालिका ६ नयाँबस्तीकी उषा दुवालले भनिन्, ‘न खाद्यान्न न लत्ताकपडा किनिसक्नु छ ।’

चाडबाड नजिकिँदै जाँदा भक्तपुरमा बजार मूल्य अकासिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा धेरै बढेको छ । यस्तै, लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मूल्य पनि बढेको छ । ‘हरेक वस्तुको मूल्य बढेको छ,’ भक्तपुर नगर ५ तौमढीकी उमा पक्वांले भनिन्, ‘गोलभेंडा, दाल, चामल, तेल, तरकारी सबै चीजको मूल्य अकासिएको छ ।’ सीमित आम्दानी भएका सर्वसाधारणलाई चाडबाड मान्न धौधौ परेको उनको गुनासो छ । व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाड सेके पनि नियमनकारी निकायले चासो नदेखाउँदा समस्या थपिएको सर्वसाधारण दु:खेसो गर्छन् ।

सूर्यविनायकका तरकारी होलसेल व्यापारी पुस्करप्रसाद बरालका अनुसार खाद्यान्न र तरकारीको मूल्य सबैभन्दा धेरै बढेको छ । ‘खरिदमै महँगो परेका कारण बजार महँगिएको हो,’ उनले भने । चाडबाड नजिकिएसँगै जिल्लामा तरकारीको मूल्य पनि बढेको छ । एक साताअघि ६० रुपैयाँ पर्ने गोलभेंडाको भाउ १०० रुपैयाँ पुगेको उनी बताउँछन् । भक्तपुरमा काउली प्रतिकिलो एक सय २० देखि १ सय ४० रुपैयाँसम्म पर्छ । त्यस्तै नयाँ आलु २०० देखि २४० रुपैयाँ धार्नी पर्ने बरालले बताए । पुरानो आलु भने ८० देखि १०० रुपैयाँमा बेच्दै आएको बताउँदै उनले भने, ‘अन्य तरकारी पनि उत्तिकै महँगिएको छ ।’

दैनिक उपभोग्य सामग्रीको मूल्य बढेका कारण न्यून आय भएका विपन्न परिवार मारमा परेका छन् । दुई महिना अघिसम्म जिरा मसिनो चामल २५ किलोको बोरा १ हजार ६ सय रुपैयाँमा पाइन्थ्यो । अहिले होलसेलमै डेढ सय रुपैयाँ बढाइएको छ । मुख्य बजारभन्दा भित्री क्षेत्रमा थप मूल्य बढाएर खाद्यान्न बिक्री गर्ने गरिएको छ ।
११५ रुपैयाँमा बेच्दै आएको भटमासको तेलको भाउ १४० पुगेको छ । यस्तै, किलोको ३५ रुपैयाँमा पाइने आँटाको भाउ पसलैपिच्छे पाँचदेखि १० रुपैयाँसम्म बढी लिने गरेको पाइएको छ ।

चार सय रुपैयाँ रहेको जिरालाई अहिले कतै पाँच सय त कतै त्यसभन्दा बढी तिर्नुपर्छ । धनियाँको भाउ ८० रुपैयाँबाट बढाएर सय रुपैयाँ किलो पुर्‍याइएको छ । मैदा किलोमा १० रुपैयाँ महँगिएको छ । चना ८० बाट बढेर किलोको सय रुपैयाँ पुगेको छ । ‘पछिल्लो एक महिनामा दैनिक उपभोग्य वस्तु सबैको मूल्य बढेको छ,’ वेलकम मार्केका सञ्चालक राजेन्द्र शिल्पकारले भने, ‘ग्राहकले बाध्य भएर किनिरहेका छन् ।’ नगरपालिकाहरूले चाडपर्वको मुखमा अनुगमन गरे पनि अनुगमनको प्रभाव नपरेको उपभोक्ताको गुनासो छ । ‘फलफूल किनिसक्नु छैन, एक किलो स्याउको मूल्य ३५० लिन्छ,’ स्थानीय मीना तजलेले प्रतिप्रश्न गरिन्, ‘खाद्य सामग्री तथा लत्ताकपडाको मूल्य निर्धारण गर्ने काम कसको ?, पसल नै पिच्छे मूल्य तोक्न पाइन्छ ?’

प्रकाशित : आश्विन २८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?