कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्ने भो– राष्ट्रिय पुस्तकालय

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनेको राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण हुने भएको छ  । संघीय मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जमलस्थित करिब ८ रोपनी क्षेत्रफल जग्गामा राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ  ।

बन्ने भो– राष्ट्रिय पुस्तकालय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकले मन्त्रालय मातहत जमलमा रहेको जग्गामा राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय गरेको जानकारी दिए । उक्त पुस्तकालय सुविधा सम्पन्न, प्रविधिमैत्री, अन्तर्राष्ट्रियस्तरको हुने उनले जनाए ।


राष्ट्रिय पुस्तकालय पुन:स्थापना गर्ने भनिएको जमलस्थित जग्गामा दुई दशकअघि त्रिविको परीक्षा नियन्त्रण कार्यालय थियो । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सारिएपछि जनप्रशासन क्याम्पस रहेको थियो भने हाल शंकरदेव क्याम्पसको साइन बोर्ड टाँगिएको छ । सहरको मध्यभागमा रहेको उक्त जग्गामा पुराना जीर्ण भवन छन् ।


भूकम्पले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि तीन सय वर्षदेखिका पुस्तक बोरामै थन्किएका छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । भूकम्पबाट पुस्तक जोगिए पनि भवन क्षतिग्रस्त भएकाले राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन । पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीका अनुसार भूकम्पपछि पुस्तकलाई काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा ८० हजार थान पुस्तक सारिएका छन् भने बाँकी बोराका पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा राखिएको छ । त्यहाँ २१ हजार थान पुस्तक छन् । बाँकी पुस्तक हरिहर भवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएका छन् । पुस्तकालयको प्रशासनिक काम हरिहर भवन घोडातबेला टहरामा सुचारु छ ।


ऐतिहासिक महत्त्वका हजारौं पुस्तकलाई कीरा लाग्नबाट जोगाउन कपुर र बेगन प्रयोग गरिएको छ । बर्खायाममा पानी पसेर किताब भिजेका छन् भने धमिरासमेत लागेको छ । कतिपय पुस्तक तथा कागजात धुजाधुजा अवस्थामा छन् । हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर राखिएको छ । रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा तीलगायत मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् ।


‘जमलको जग्गा भोगचलन गर्न स्वीकृति पाएका छौं,’ पुस्तकालय प्रमुख मैनालीले भने, ‘भवन निर्माण गरेर राष्ट्रिय पुस्तकालय स्थानान्तरण गर्छौं ।’ राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारी दरबन्दी रहेकामा कटौती भई हाल १५ जना छन् । चालू आर्थिक वर्षमा राष्ट्रिय पुस्तकालयको बजेट ८९ लाख रुपैयाँ छ । बजेटमध्ये अधिकांश रकम कर्मचारीको तलबभत्तामा सकिन्छ । भूकम्पपछि पुस्तकालय अन्यत्र सारिए पनि कर्मचारी भने हरिहरभवन परिसरको तत्कालीन तबेला टहरामा बाल पुस्तकालय कक्षमा छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सेरियल नम्बर (आईएसएसएन) दिंदै आएको छ ।


पुस्तकालय अभियन्ता इन्दिरा दलीलगायतले विज्ञप्ति जारी गर्दै राष्ट्रिय पुस्तकालय पुन:स्थापनाको निर्णयको स्वागत गरेका छन् । ‘अब बन्ने भवन नेपाल र नेपालीले गर्व गर्न सकिने, नेपाली कला संस्कृति झल्किने, विपद् प्रतिरोधी, अपांगमैत्री, वातावरणलाई समेत ध्यानमा राखेर आधुनिक प्रविधियुक्त हुनुपर्नेछ,’ सरकारको ऐतिहासिक निर्णयलाई यथासम्भव चाँडो मूर्तरूप दिनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘साथै विदेशी विशिष्ट पाहुनाहरू आउँदा यो हाम्रो नेपालको पहिचान हो भनेर गर्वले भन्न सकियोस् । यो भवन राष्ट्रिय गौरवको योजना बनाई नेपालकै खर्चमा निर्माण गर्न उपयुक्त हुन्छ ।’


राष्ट्रिय पुस्तकालयको अनलाइन सुचारु छ । नयाँ पुस्तक खरिद गर्ने गरिन्छ । सरकारले २०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरेर पुस्तक संकलन सुरु गरिएको थियो । उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?