कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानीको च्याम्बरमा खसेर मृत्यु : दाेषीलाई कारबाही माग

कान्तिपुर संवाददाता

काठमाडौँ — साताअघि कीर्तिपुरस्थित खानेपानीको भल्भ च्याम्बरमा खसेर मृत्यु भएका साइकलयात्री श्यामसुन्दर श्रेष्ठलाई शनिबार एक कार्यक्रमबीच श्रद्धाञ्जली दिइएको छ  । उपत्यका र काभ्रेका विभिन्न साइकल प्रयोगकर्ताको पहलमा श्रेष्ठलाई श्रद्धाञ्जली दिइएको हो  ।

खानेपानीको च्याम्बरमा खसेर मृत्यु : दाेषीलाई कारबाही माग

कार्यक्रममा श्रेष्ठकी दिदी शुभद्रा, उपत्यका र काभ्रेका विभिन्न साइकल प्रयोगकर्ताहरूको संगठन, मनोक्रान्ति नेपाललगायत संस्थाका प्रतिनिधिले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको सम्झनामा घटनास्थलमा सेतो साइकल राखिएको छ ।

चागलनिवासी शुभद्राले सामान्य दुर्घटना मात्र नभई राज्यको लापरबाहीले भाइको ज्यान गएको बताइन् । ‘उसले नेपाल र भारतका धेरै ठाउँमा साइकल यात्रा गरिसकेको थियो,’ उनले भनिन्, ‘कतै केही भएको थिएन । यहीं आएर खुला राखेको ढलमा ठोक्किँदा ज्यान गयो ।’ अहिले स्ल्याब राखेको स्थान पहिल्यै छोपिएको भए श्यामको ज्यान जोगिन्थ्यो कि भन्ने उनलाई लाग्छ ।

उनले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरिन् । ‘क्षतिपूर्ति पायौं भने त्यो हामी राख्दैनौं, कुनै ट्रस्ट वा समाजसेवा गर्ने संस्थालाई दान गर्छौं,’ उनले भनिन् । उनले जतिसक्दो चाँडो प्रहरीले अनुसन्धान टुंग्याउनुपर्ने बताइन् । पोस्टमार्टम रिपोर्ट आउन १० दिन लाग्नु लाजमर्दो भएको उनले गुनासो गरिन् ।ज्येष्ठ सदस्य ललितपुरका ६६ वर्षीय लक्ष्मीबहादुर महर्जन र शुभद्राले श्रेष्ठको सम्झनामा राखिएको सेतो साइकलमाथि फूल अर्पित गरेपछि उपस्थित सबैले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

अधिवक्ता सुनीलरञ्जन सिंहले च्याम्बरको स्ल्याब खुलै राख्ने मान्छे दोषी रहेको बताए । उनले भने, ‘यसको कानुनी उपचारमा जेजति सहयोग चाहिन्छ, त्यो म गर्न तयार छु । यसमा तीनै तहको सरकार जिम्मेवार छ । मुख्य त स्थानीय तहको दोष हो ।’ खाल्डो छोप्न आफूले पटक–पटक केयूकेएलका कर्मचारीलाई आग्रह गर्दा पनि अटेर गरिएको उनले बताए । सम्बन्धित सरकारी निकायविरुद्ध उजुरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाउन सकिने भएकाले त्यसका लागि पहल गर्न उनले सुझाए । पत्रकार तथा नागरिक अगुवा कनकमणि दीक्षितले श्रेष्ठको मरणलाई व्यर्थ जान दिन नहुने बताए । ‘यस घटनामा कानुन र जवाफदेहिताको कुरा ल्याउनैपर्छ,’ उनले भने, ‘सानो जमात भए पनि आन्दोलन सुरुवात गर्नुपर्छ । काठमाडौं स्मार्ट सिटी होइन, साइकल सिटी बन्नुपर्छ ।’

साइकलमा यात्रा गर्नेलाई सडक सुरक्षित बनाउनुपर्नेमा झन् जोखिमयुक्त बनाइएको उनको भनाइ थियो । नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले सम्बद्ध निकायको गैरजिम्मेवार अभिव्यक्तिले पीडित परिवारलाई थप पीडा दिएको बताए । उनले भने, ‘अहिले श्यामसुन्दरजीको मृत्यु भयो । भविष्यमा त्यो ठाउँमा जोकोही पनि हुन सक्छ । सरकारी निकायले आफ्नो कमजोरी सुधार्नुपर्‍यो ।’ उनले सडक सुरक्षा सरकारको प्राथमिकताको विषय बन्न नसक्नु दुखद रहेको बताए । योगा शिक्षक र अध्यात्मतर्फ झुकाव राख्ने ३८ वर्षीय श्यामसुन्दर श्रेष्ठको घर फर्किने क्रममा गत शुक्रबार भल्भ च्याम्बरमा खसेर मृत्यु भएको थियो । भोलिपल्ट शनिबार बिहानै साइकलसहित उनको शव भेटिएको थियो ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?