कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न निर्देशन

‘गुम्बज शैली अस्वीकार्य’
कान्तिपुर संवाददाता

काठमाडौँ — रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न संस्कृति मन्त्रालयले पुरातत्त्व विभागलाई निर्देशन दिएको छ ।

बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न निर्देशन

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित अध्ययन समितिले दिएको प्रतिवेदन आधारमा मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्ने निधो भएको हो ।


समितिमा सम्पदाविद् सुदर्शनराज तिवारी, प्रेमनाथ मास्के र सूर्यभक्त साागाछे रहेका थिए । मंगलबार सिंहदरबारमा आयोजित बैठकमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले विज्ञहरूको आधारसम्मत प्रतिवेदनलाई बालगोपालेश्वर पुनर्निर्माणको आधार बनाउन निर्देशन दिएका थिए ।


विज्ञ समितिले वास्तुशास्त्रअनुसारको मिल्दो संरचना र पर्खालको मोटाइ–चौडाइको विशेष नापनक्साअनुरूप ग्रन्थकुट शैली निर्धारण गरेको हो । ग्रन्थकुट आधारको मन्दिरको उचाइ गर्भगृहको सतहबाट गजुरको अमालकसम्म ३९ फिट रहने र गजुरको उचाइ १३ फिट रहने प्रतिवेदनमा उल्लेख छ ।


रानीपोखरी पुनर्निर्माण सम्बन्धमा भने जलस्रोत एवं भूगर्भविद्को सुझावअनुसार, पोखरीको पिँधमा कालो माटो र बालुवा प्रयोग गरिने भएको छ । पोखरी वरिपरिको सबैभन्दा तल्लो खण्डमा कालो माटोको प्रयोग गर्ने, सबैभन्दा बाहिरी भागमा इँटाको क्लोनिङ गर्ने तथा पोखरी वरिपरि फुटपाथमा सुर्खी मोर्टारको सट्टामा ढुंगाको धूलो प्रयोग गरिने भएको छ ।


रानीपोखरी र बालगोपालेश्वर पुनर्निर्माण काममा समन्वय, सहजीकरण र अनुगमन गर्न पुनर्निर्माण प्राधिकरणको संयोजनमा एक समिति गठन गरिने भएको छ । मंगलबारको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, पुरातत्त्व विभागका प्रतिनिधिसहित सहभागी थिए ।

प्रकाशित : कार्तिक २०, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?