देउसी–भैलो राति १० बजेसम्म मात्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो ।

गत वर्ष पनि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तिहारमा रातको समय देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ । ‘१० बजेपछि देउसी–भैलो खेल्न नपाइने सूचना जारी गरिसकेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले भने, ‘पटका पडकाउन निषेध गरिएको छ ।’

Yamaha

देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

तीन वर्षअघि गृह मन्त्रालयले देउसी–भैलो खेल्ने समय साँझको ७ बजेसम्म तोकेपछि चौतर्फी आलोचना भएको थियो । सर्वसाधारणको विरोधपछि गृह मन्त्रालयले दुई घण्टा समय थप गर्नुपरेको थियो । चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न निश्चित समय तोक्ने गरेको लामाले बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा देउसी–भैलोको माहोलसमेत विस्तारै घटदै गएको छ ।

विगतमा तिहारको तेस्रो दिन लक्ष्मीपूजाको दिन बिहानैदेखि उपत्यकामा देउसी–भैलोको रौनक हुन्थ्यो । यसपालि रौनक कम छ । ‘मान्छेले खोजेको रमाइलो हो । घरमै विभिन्न उपकरणबाट रमाइरहेका हुन्छन् । सहरमा समूहमा भन्दा पनि एक्लाएक्लै इलेक्ट्रोनिक्स डिभाइसमा रमाउँछन्,’ सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले भने, ‘अब देउसी–भैलो खेलेर रमाइलो गर्नेभन्दा पनि खाने र डुल्नेतिर सबैको ध्यान गयो ।’

प्रकाशित : कार्तिक २१, २०७५ १७:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नाचे नेपाल र बस्नेत

कान्तिपुर संवाददाता

भक्तपुर — 'कुटुमा कुटु...।' कति मीठो शब्दका गीत आजकाल । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भाषणका क्रममा राजनराज शिवाकोटीका गीतको यसरी प्रशंसा गर्दै थिए । उद्‌घोषिका एवं पूर्व मिस नेपाल सुगारिका केसीले लगत्तै शिवाकोटीलाई मञ्चमा उभ्याइन् ।

शिवाकोटी गाउन थाले आफ्नो चर्चामा आएको पहिलो गीत, सुर्के थैली खै ! त्यसैमा नाचे नेपाल र युवा नेता महेश बस्नेत।

सूर्यनगर टोल, सृजनानगरमा बुधबार बिहान रमाइलो सांगीतिक वातावरणमा शुभकामना आदानप्रदान भयो। दसैं, तिहार र छठ पर्वको सन्दर्भमा टोलले गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपाल प्रमुख वक्ता थिए। नेता नेपाल, बस्नेतसँगै सहभागी शिक्षक, कर्मचारी, विद्यार्थी, सञ्चारकर्मीसहित उक्त गीतमा नाचेका थिए।
नेता नेपालले राजनीतिक भाषण कमै गरी विकास निर्माणको कुरा गरेका थिए। भाषा, साहित्य, कला, संस्कृतिले नै नेपाल र नेपालीलाई चिनाउने भन्दै नेपालले भने, 'नयाँ संविधान आएपछि अब उज्यालो युग सुरु भएको छ। हामीले जसरी नि विकासमा फड्को मार्नु छ।'

विशिष्ट अतिथिका रुपमा बोल्दै पूर्वमन्त्री एवं भक्तपुरका सांसद महेश बस्नेतले भक्तपुरमा सबैतिरका जनता मिलिजुली बस्न सक्ने भन्दै सबैलाई स्वागत गर्ने बताए। भक्तपुरमा ४ वटा स्मार्ट सिटी बनिरहेका, सूर्यविनायकमा अन्तर्राष्ट्रिय रंगशाला बन्न लागेको जानकारी दिएका थिए। रंगशाला बन्न, ३ नम्बर प्रदेशको राजधानी हुन नदिन लाग्ने राजनीतिक दलको बस्नेतले विरोधसमेत गरे।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, उपमेयर जुना बस्नेत, प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाई र आयोजक संस्थाका अध्यक्ष बालकृष्ण न्यौपाने सहितले शुभकामना राखेका थिए।

त्यसक्रममा प्रमुख अतिथि नेपालले कलाकार राजनराज शिवाकोटी र डिआइजी शैलेश थापा क्षेत्रीलाई सम्मान समेत गरे।

प्रकाशित : कार्तिक २१, २०७५ १६:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT