कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर फाल्ने ठाउँ बन्दै इनार, पोखरी

कान्तिपुर संवाददाता

ललितपुर — खोकनाकी सम्झना महर्जनको घर इनारसँग जोडिएको छ । उनी सानै छँदासम्म इनारको पानीबाट भाँडाकुँडा माझ्ने, नुहाइधुहाइ गर्ने, लुगा धुनेको भीडभाड हुन्थ्यो । अहिले इनारमा निकै थोरै पानी छ, त्यो पनि दुर्गन्धित । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष बढी बितिसक्यो ।

फोहोर फाल्ने ठाउँ बन्दै इनार, पोखरी

आफूलाई जिताएमा सफा हराभरा सम्पदा बस्ती बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अहिले इनार सफा गर्न पहल गरेनन् । पोखरीमा पानीसमेत भर्न चासो दिएका छैनन् ।


बुङमतीमा मंगलबार एम्स इन्टरनेसनल कलेज लगनखेलद्वारा स्थानीय, प्रदेश र केन्द्रीय सरकारका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा उनले खोकनाका वडाध्यक्षलाई लक्षित गरेर प्रश्न सोधिन्, ‘प्राय: घर वरिपरि इनार छन् । सरकारले सरसफाइ गर्न प्रत्येक वर्ष बजेट छुट्याउँछ । तर, सफाइ किन भइरहेको छैन ?’


खोकनका टोल, चोक अझै सफा हुन सकेका छैनन् । उनले फोहोरमुक्त बस्ती बनाउन कस्ता योजना बनाइरहेको भनी जिज्ञासा राखे । प्रतिउत्तरमा ललितपुर महानगर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले इनारको तथ्यांक संकलन गरिरहेको दाबी गरे । ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग छलफल गरेर खानेपानीका रूपमा प्रयोग गर्न मिल्ने/नमिल्ने इनारको पहिचान गर्न खाका तयार पारिरहेका छौं,’ उनले भने, ‘फोहोरको पुन: प्रयोग गर्न जग्गा खोजिरहेका छौं ।’


खोकनामा रुद्रायणी मन्दिरको उत्तरपट्टिको द्य: पुखु (पोखरी), खा:, पा:ला:, गा:, कुटु, ढोकासी र समल गरेर ७ पोखरी छन् । कुनै बेला टीकाभैरवबाट ल्याइएको राजकुलोको पानीले यी पोखरी भरिन्थे । अहिले यसको पानी प्रयोग भएको छैन । दुर्गन्धले पोखरी नजिकै जान पनि गाह्रो छ । पोखरी फोहोर फाल्ने ठाउँ बनेको छ ।


खोकनामा एक हजार ६ सय ६२ घरधुरी छन् । महानगरभित्रका धारामा साताको दुई पटक पनि पानी आउँदैन । ढुंगेधारा खानेपानी, इनार र पोखरी घरायसी पानीका विकल्पका रूपमा प्रयोग हुन्थ्यो । अहिले ढुंगेधारामा पानी आउन छोडिसक्यो । खोला किनारमा गुड्ने टिपरका कारणले नख्खु खोलाको अवस्था पनि उस्तै छ ।


ओम कार्कीले प्रश्न गरे, ‘जनताले कहिलेसम्म सजिलैसँग खानेपानीको उपभोग गर्न पाउँछौं ।’ प्रतिउत्तरमा सांसद पम्फा भुसालले फर्पिङबाट ल्याइरहेको पानी चक्रपथभित्रका बस्ती खोकना, भैंसेपाटी, बुङमती क्षेत्र, नल्लु क्षेत्रबाट ल्याइएको पानी चापागाउँ, ठेचो, सुनाकोठी र गोदावरी क्षेत्रको पानी ठैब, हरिसिद्धिलगायत बस्तीमा मात्र वितरण गर्ने योजना रहेको बताइन् ।


‘यसका लागि मेलम्ची खानेपानी आयोजनासँग सम्झौता भएर काम अगाडि बढिरहेको छ,’ उनले दाबी गरिन्, ‘यसले चक्रपथभित्रका बस्तीमा पर्याप्त पानी पुग्नेछ ।’ महानगर– १८ वडाध्यक्ष पुरुषोत्तम खड्काले दुई इन्चको पाइपबाट पानी ल्याइरहेको ठाउँमा घरको संख्या बढेर नपुगे भएको बताए । ‘खानेपानी संस्थानसँगको सहकार्यमा पाइप लाइन परिवर्तन गर्ने योजनामा छाैं,’ उनले दाबी गरे ।


महानगर–२७ सुनाकोठीस्थित बुद्ध प्रतिमा राखिएको पोखरीमा पानी छैन । तल्लो लाछीको दक्षिणपट्टि र बस्तीभित्रका अन्य पोखरी फोहोरले पुरिइसकेका छन् । यही बस्तीमा २ सभासद बस्छन् । सरसफाइ गर्न टोल सुधार समिति र वडाध्यक्षले चासो दिएका छैनन् ।


गोदावरी नगरपालिका ठैबमा पोखरी वडा कार्यालयसँगै जोडिएको छ । कुनै बेला यो पोखरी ठैबवासीको लागि घरायसी काममा प्रयोग गर्ने पानीको स्रोत थियो । पोखरीभित्र र वरपरको फोहोरले गर्दा आसपास दुर्गन्ध फैलिएको छ । दुर्गन्धले गर्दा वडा कार्यालयमा आउने सेवाग्राहीसमेत नाक थुनेर सेवा लिन बाध्य छन् ।


सम्पदा बस्तीको सफाइका लागि वाग्मती सफाइ अभियान जस्तै अभियान सञ्चालन गर्नुपर्ने स्थानीय बताउँछन् । गोदावरी नगरपालिका चापागाउँ, ठेचोमा पनि अलपत्र परेका पोखरी तथा ढुंगेधारा छन् । ललितपुर महानगरपालिकामा बढी ढुंगेधारा र पोखरी छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?