कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्यो सिद्धिलक्ष्मी

भक्तपुर नगरलाई साँचो हस्तान्तरण

भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले भूकम्पका कारण क्षतिग्रस्त सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण सकेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

बन्यो सिद्धिलक्ष्मी

विभागले २ वर्षको अवधिमा पुनर्निर्माण सम्पन्न गरी एक समारोहबीच शुक्रबार क्षमापूजा गरी नगरपालिकालाई साँचो हस्तान्तरण गरेको हो ।


विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र परिसरको प्रस्तर (ढुंगे) मन्दिरको साँचो नगर प्रमुख सुनील प्रजापतिलाई हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पुरातत्त्व विभाग र भक्तपुर नगरको प्रशंसा गरे ।


भक्तपुरका राजा जगतप्रकाश मल्लले नेपाल संवत् ७९२ मा स्थापना गरेको मन्दिर २०७२ वैशाखको भूकम्पले पश्चिमतर्फ ढल्केको थियो । पुरातत्त्वविद्को सुझावअनुसार जगसम्म भत्काएर पुनर्निर्माण गरेको पुरातत्त्व विभागका इन्जिनियर एवं सूचना अधिकारी मोहनकृष्ण श्रेष्ठले बताए ।


सिद्धिलक्ष्मी मन्दिरले १८९१ र १९९० सालको भूकम्प थेगे पनि २०७२ वैशाखको भूकम्प र त्यसपछिको पराकम्पले क्षति पुर्‍याएको हो । क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार गर्दा पुन: भत्किने जोखिम भएकाले जगसम्मै भत्काएर पुनर्निर्माण गरिएको श्रेष्ठ बताउँछन् ।


यसअघि नेपाल संवत् ८३५ मा राजा भूपतिन्द्र मल्लले जीर्णोद्धार गरेको अभिलेखमा उल्लेख छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको मन्दिर १९ फिट लम्बाइ, १९ फिट चौडाइ र २३ फिट अग्लो छ । शिखर शैलीको प्रस्तर मन्दिर माटोको जोडाइमा बाहिर ढुंगा तथा भित्र इँटाको प्रयोग गरी मौलिक शैलीमा बनाइएको हो ।


‘उपत्यकाभित्रका ढुंगे मन्दिरभन्दा भिन्न शैलीमा बनेको सिद्धिलक्ष्मीको छुट्टै विशेषता छ,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सिँढीको दायाँबायाँका रक्षक गणको अद्भुत कलाकारिताले मन्दिरको परिचय दिन्छ ।’ विभागले मन्दिर पुनर्निर्माण गर्न १ करोड १७ लाख १३ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको जनाएको छ ।


मन्दिरमा पुजारीको व्यवस्था गरी सर्वसाधारणका लागि खुला गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पुजारी नहुँदा मन्दिरको नित्यपूजा रोकिएको तलेजु भवानीका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । पुजारी नभएकैले शुक्रबार जोशी र तलेजुकै राजोपाध्याय पुजारी उत्तमांगराज राजोपाध्यायले मूर्ति पुन: प्रतिस्थापन तथा क्षमापूजा गरे ।


नगर प्रमुख प्रजापतिले गुठी संस्थान, भक्तपुर तलेजु र पुरातत्त्व विभागसँग समन्वय गरी पुजारीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि भक्तपुरका साना–ठूला १४ सम्पदा संरक्षण तथा पुनर्निर्माण भइसकेको बताए । उनले बाँकी क्षतिग्रस्त सम्पदा २ वर्षभित्र पुनर्निर्माण गरिसक्ने दाबी गरे । विभागका भक्तपुर प्रमुख मोहन सिं लामाका अनुसार विभागले निर्माण थालेका ३६ मध्ये १४ सम्पदा सम्पन्न भइसकेका छन् ।


अन्य पुनर्निर्माणको चरणमा छन् । चालु आर्थिक वर्षमा १७ सम्पदा संरक्षण तथा पुनर्निर्माणका लागि स्वीकृत भएको उनले बताए । विभागका अनुसार भक्तपुरमा भूकम्पका कारण २ सय ३२ सम्पदामा क्षति पुगेको थियो ।

प्रकाशित : मंसिर ८, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?