कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलपोखरी सजाइँदै

काठमाडौं महानगरपालिका सहरी योजना आयोगले सार्वजनिक गरेको कमलपोखरीको स्केच

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई पर्यटकीय आकर्षणका हिसाबले साजसज्जा गर्ने भएको छ । महानगर अन्तर्गतको सहरी योजना आयोगले यसको डिजाइनबारे स्थानीयवासी र सरोकारवालासँग छलफल गरिसकेको र टेन्डर आह्वान गर्ने क्रममा रहेको जनाएको छ । 

कमलपोखरी सजाइँदै

२३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीलाई नेपाली इँटा र दर्जिन ढुंगाको प्रयोगले सजाउने महानगरको तयारी छ । आयोगका सदस्य सचिव सरोज बस्नेतले डिजाइन तयारी भइसकेको र वरपरका संरचना भत्काएपछि त्यहाँका संस्थालाई दिइने विकल्पबारे छलफल भइरहेको बताए ।


महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले केही वर्षअघि उपत्यका विकास प्राधिकरणले सफा गरी पर्खाल बनाइदिए पनि त्यतिले मात्र नपुग्ने भएर पर्यटकीय हिसाबले आकर्षक बनाउन लागिएको बताए । ‘सहरी योजना आयोगको इस्टिमेट अनुसार हेर्दा यसमा ७/८ करोड खर्च लाग्ने भएको छ ।


अहिले आकाशे पानीको भरमा छ तर अब मेलम्चीबाट आउने पानीलाई प्रयोग गर्ने योजनामा छौं,’ उनले भने । बोरिङ गर्दा राम्रो पानी नआउने भएकाले मेलम्चीको आसमा रहेको उनले बताए । उपत्यकाकै विभिन्न स्थानमा पुननिर्माणपछि पोखरी सुकेकाले कमलपोखरी साजसज्जाका क्रममा सावधानी अपनाइने उनको भनाइ छ । पुनर्निर्माणमा छेउछाउका संरचना भत्काउने, सिमेन्ट प्रयोग गरिने, रुख रोपिने भए पनि पोखरीको पानी नसुकोस् भन्न पानी नचलाइने उनले जानकारी दिए । पोखरीको चारै कुनामा स–साना कमल फुल्ने पोखरी रहनेछन् ।


हरियाली प्रवद्र्धन गरी पार्कका रूपमा विकास गर्ने तयारी छ । पोखरीको केन्द्रमा पाटी तथा छेउमा ढुंगेधारा बनाउने र ‘सेमि कभर्ड एरिया’ समेत राखिनेछ । घाट वा पोखरीका सिँढी पनि व्यवस्थित हुनेछन् । ‘पर्यटकमैत्री शौचालय पनि हुनेछ । त्यहीँ छेउमा सानो घर बनाई क्लबलाई दिनेछौं,’ वडाध्यक्ष श्रेष्ठले भने । राति रंगीबिरंगी प्रकाशले पोखरीको सौन्दर्यलाई झनै बढाउने उनको भनाइ छ ।


आयोगका सदस्य सचिव बस्नेतले यसको डिजाइनमा वास्तुशास्त्रीसँग पनि सल्लाह लिइएको बताए । समय व्यतीत गर्ने हिसाबले निर्माण गरिने भएकाले सौन्दर्यीकरणका साथै ‘फुट स्टल’ पनि राखिनेछ । उनले भने, ‘पानी सफा र फिल्टर गर्न विज्ञसँग कुरा गरिरहेका छौं । कोण मिलाएर संरचना बनाइनेछ, जसले वास्तुशास्त्र सिक्नेलाई पनि सहयोग हुनेछ ।’


पछिल्लो आठ वर्षदेखि यहाँ छठ मनाइंँदै आएको छ । महानगर मेयर विद्यासुन्दर शाक्यले सकभर आगामी वर्षको छठसम्ममा निर्माण सकिनेगरी काम हुने बताउँछन् । केही अवरोध नआए डिजाइन स्वीकृत भएपछि निर्धारित समयभित्रै सकिने उनको भनाइ छ । ‘निर्माणपछि यसको स्वरूप नै फेरिनेछ,’ मेयर शाक्यले सोमबार आयोगमा आयोजित डिजाइनमाथिको छलफल कार्यक्रममा भने, ‘पोखरीको अस्तित्व जोगाउँदै अघि बढौं । सबैले सहमतिका साथ अघि बढे चाँडै निर्माण सकिन्छ ।’


कार्यक्रममा काठमाडौं ४ का सांसद गगन थापा र प्रदेश सांसद नरोत्तम वैद्यले पनि योजनाप्रति सकारात्मक रहेको बताएका थिए । आयोगको प्रस्तुतिपछि सांसद थापाले भने, ‘यस क्षेत्रमा महानगरले राम्रो योजना ल्याएकोमा धन्यवाद । हामी सँगै मिलेर काम गरौं ।’


मत्स्य विकास केन्द्रको स्वामित्वमा भए पनि २०/२५ वर्षदेखि वास्ता नगरेको स्थानीयको गुनासो भएकाले त्यस विषयमा विवाद आए आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । प्रदेश सांसद वैद्यले हरियाली व्यवस्थापन गर्न कठिनाइ हुने धारणा राख्दै भविष्यमा आयोजना हुने राजनीतिक

कार्यक्रमलाई मध्यनजर गर्दै त्यसै अनुसारका संरचनासमेत राख्नुपर्ने सुझाव दिए ।


कमलपोखरी संरक्षण एवं जनहित समाजका महासचिव राजेन्द्र सिंहले आगामी वर्षको छठसम्म निर्माण सकिनेगरी निर्माण गरिने बताए । ‘पोखरीभित्र ढलान नगर्न भनेका छौं । अहिले त्यहाँभित्रको फोहोर व्यवस्थापन पनि समस्या हो,’ सिंहले भने, ‘त्यहाँ रानीपोखरीको माछालाई खुवाउने सामान कुहिएर गन्हाउने भएको छ । फोहोर पानीको उचित निकास हुनुपर्छ ।’ सफा गरे पनि हरियो लेदो नजाने भएकाले पोखरी पुनर्निर्माणसँगै नयाँ पानी फेर्नुपर्ने उनको सुझाव छ ।


महानगरीय प्रहरी वृत्त कमलपोखरीले ४ रोपनी ४ आना जग्गा प्रयोग गरेको छ । त्यसलाई र सँगै लालपुर्जा बिनाको जग्गामा संरचना बनाई बसिरहेको ट्राफिक प्रहरीलाई हटाउँदा विकल्प दिन उपयुक्त स्थानबारे निर्णय भइसकेको छैन । आयोगले पनि यो समस्या रहेको स्विकार्दै चाँडै निक्र्यौल गरिने बताएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?