कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुद्ध वारुणयन्त्र : करोडौं लगानी, सुरक्षा न्यून

शिल्पा कर्ण

काठमाडौँ — जनघनत्व कम भएका स्थानमा बढी हावा चल्ने भएकाले सुक्खायाममा आगो लाग्ने बलियो सम्भावना हुन्छ । तर राजधानीमा घनाबस्तीका कारण आगलागीको जोखिम बाह्रैमास उत्तिकै हुन्छ ।

जुद्ध वारुणयन्त्र : करोडौं लगानी, सुरक्षा न्यून

बस्तीको बीचमा विद्युत्बाट चल्ने उद्योगधन्दा, स–साना कारखाना हुने भएकाले विद्युत् सर्ट भई आगो लाग्न सक्छ । साथसाथै भान्सामा पर्याप्त सावधानी नअपनाउँदा खाना पकाउने ग्यास लिकेज भई आगो लागेका घटना पनि थुप्रै आउने जुद्ध वारुणयन्त्रका कर्मचारीको अनुभव छ । त्यसका साथै एकअर्कासँग टाँसिएका घरका कारण अन्य घरमा पनि आगो चाँडै सल्किन्छ ।


केही दिनअघि यस्तै ठूलो आगलागी भयो बुद्धनगरमा । यही मंसिर १० गते बुद्धनगरस्थित प्लाई तथा फर्निचर उद्योगमा आगलागी भयो । दिउँसो ३ बजे फैलिएको आगोबारे दमकललाई २३ मिनेटपछि खबर आयो । त्यसको ७ मिनेटमा दमकल घटनास्थल पुगेको काठमाडौं महानगरपालिका वारुणयन्त्र प्रमुख बद्रीमान नगरकोटी दाबी गर्छन् ।


‘त्यो दिन हाम्रो कार्यालयबाट ३, ललितपुरका २ तथा भक्तपुर, सेना र प्रहरीका एक/एक दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिइयो,’ नगरकोटीले भने, ‘विद्युत् सर्ट भएर आगलागी हुँदा ८० प्रतिशत सामान जल्यो । मानवीय क्षति भने हुन पाएन ।’


प्रहरीका अनुसार राम कार्कीले सञ्चालन गरेको गौरीशंकर फर्निचरबाट फैलिएको आगोले नजिकैको सजावट प्रालिमा समेत क्षति पुर्‍याएको थियो । आगलागीमा करोडौं क्षति भएको जनाइएको छ । यस्ता स्थानमा फैलिएको आगो सुरुमै नियन्त्रण गर्न सके ठूलो क्षति नहुने नगरकोटीको भनाइ छ ।


‘राजधानीमा यस्ता धेरै उद्योगधन्दा छन् । जहाँ करोडौंको लगानी भए पनि अग्नि सुरक्षा उपकरण निकै कम छन् । ती यन्त्र जडान वा २०/२५ हजार रुपैयाँ पर्ने सानै अग्नि नियन्त्रक उपकरण पनि राखिन्न,’ उनले भने । यसैगरी कात्तिक २९ मा सिंहदरबारभित्र आगलागी भयो । गृह मन्त्रालयका सुरक्षा सल्लाहकारकै कोठामा एसीबाट आगलागी फैलिएको थियो ।


हुन त वारुणयन्त्रका लागि १०१ नम्बरमा डायल गर्नुपर्ने हुन्छ । तर वारुणयन्त्रलाई खबर आयो जनसेवा वृत्तमार्फत । दिउँसो ३:१० मा गएको दमकल ४ बजे फर्कियो । ‘त्यहाँ दमकलले हानेको भए थप क्षति हुन सक्थ्यो । एसीमै आगो लागेको भएर त्यहीँको फायर एक्स्टिनग्युसरले हानेर निभायौं,’ नगरकोटीले भने ।


कतिपय स्थानमा सुरक्षा उपकरण भए पनि प्रयोग गर्न नजान्दा क्षति बढ्ने उनको भनाइ छ । महानगरले समय–समयमा आगो लाग्न नदिन अपनाउनुपर्ने सावधानी, अग्नि नियन्त्रणका उपाय, उपकरणको प्रयोगबारे जानकारी दिन तालिम आयोजना गर्छ । तालिम दिँदा सुरक्षाका मामिलामा संवेदनशीलता नदेखिएको उनी बताउँछन् ।


‘एउटा कोलोनीको फ्ल्याटको मूल्य र सजावटमा करोडौं खर्च गर्छन् तर भान्सामा २०/२५ हजार रुपैयाँको अग्नि नियन्त्रक यन्त्र राख्दैनन्,’ उनले भने । तर हिजोआज ठूला भवनमा लाखौं लिटर क्षमताको पानी ट्यांकी र ‘फायर हाइड्रेन्ट’ राख्नु सकारात्मक भएको उनी बताउँछन् । बुद्धनगरको फर्निचरमा लागेको आगो निभाउन नजिकैको बुटवल हाइड्रोपावर रहेको भवनको अन्डरग्राउन्डको पानी प्रयोग गरिएको थियो ।


आगो निभाउने क्रममा विभिन्न ठूला भवन, सपिङ मल, स्टार होटलको पानी र हाइड्रेन्ट प्रयोग गर्ने गरिएको छ । ‘बढीजसो फायर फाइटर यहीँका बासिन्दा भएकाले कहाँ त्यस्ता भवन छन् भन्ने जानकारी हुन्छ । केहीले आनाकानी गरे पनि पछि पानी दिन सहमत हुन्छन्,’ फायर कमान्डर रामकुमार घिमिरेले भने ।


दमकलको संख्याभन्दा पनि पानीको उपलब्धताले अग्नि नियन्त्रणमा प्रभाव पार्ने उनको भनाइ छ । कति स्थानको अनुगमनका क्रममा जानाजान आगो लगाएको जस्तो देखिने गरेको वारुणयन्त्रका कर्मचारी बताउँछन् । ‘बिमा रकम दाबी गर्नेले आगो लगाउने गरेको जस्तो पनि देखिन्छ केही परिस्थितिमा, तर हामीसँग त्यसको प्रमाण हुन्न,’ एक कर्मचारीले भने । बिमा गर्नुअघि आगलागीबाट बच्ने उपकरण भए/नभएको र क्षति हुन नदिन अपनाइएको सावधानी हेरेर मात्र बिमा गर्नुपर्ने अग्नि नियन्त्रक कर्मचारी सुझाव दिन्छन् ।


बढ्दो ट्राफिकले ढिलाइ

वारुणयन्त्रको हटलाइनबारे निकै कम व्यक्तिलाई जानकारी भएको स्विकार्छन् वारुणयन्त्र प्रमुख नगरकोटी । वारुणयन्त्रलाई अधिकांश जानकारी जनसेवा वृत्तबाट आउँछ । सर्वसाधारणले १०० नम्बर डायल गरेर प्रहरीलाई जानकारी दिन्छन् ।


सीधै वारुणयन्त्रको कार्यालयमा खबर गर्ने निकै कम हुन्छन् । ‘सय नम्बर रानीपोखरीमा उठ्छ । त्यहाँ विस्तृत बुझेर यहाँ जनसेवामा खबर हुने रहेछ,’ नगरकोटीले भने, ‘अनि उताबाट यहाँ जानकारी आउन्जेल १० मिनेटभन्दा बढी खेर गइसक्छ ।’


हुन त फोन गर्नेसँगै वारुणयन्त्रले कुन बाटो आउँदा नजिक र कम ट्राफिक पर्छ, आगो कति सल्किसकेको छ लगायतका जानकारी लिने गर्छ । यसले समयमै र पर्याप्त पानी तथा दमकल लिई पुग्न मद्दत गर्छ । तर यो प्रक्रियाभन्दा सीधै १०१ मा फोन गर्दा समय कम लाग्ने र कम क्षति हुने नगरकोटी दाबी गर्छन् ।


सडकमा उत्रिइसकेपछि पनि गन्तव्यमा पुग्न कठिन हुन्छ भन्छन् चालक । बढदो ट्राफिक जाम र सवारी चालकको व्यवहारले कहिलेकाहीँ दिक्क बनाउने गरेको भनाइ छ दमकल चालक ५२ वर्षीय राजेन्द्रबहादुर श्रेष्ठको ।


हुँदैन समन्वय

२०६८ साल मंसिर २८ गते भोटाहिटीमा आगलागीको खबर वारुणयन्त्रसम्म पुग्यो । महानगरपालिकाका प्रहरी सँगसँगै आगो निभाउन तयार टोलीमा थिए, सशस्त्र प्रहरीका वीरेन्द्रबहादुर साउद पनि । उमेरले भर्खरै २२ पुगेका थिए उनी । पुरानो कच्ची घरमा आगो लागेको रहेछ । उनीसहित तीन जनाले पानी फाल्दै थिए घरभित्र आगो लागेको ठाउँमा ।


त्यतिकैमा अर्को सरकारी सहायता संस्थाको दमकलले पनि बाहिरबाट पानी छ्याप्यो । ‘कति स्पिडमा पानी फाल्ने जानकारी सबैलाई हुन्न, तालिमप्राप्तले मात्र आगो लागेको ठाउँ हेरेर पानी फाल्न सक्छ । त्यो बेला बाहिरबाट बेस्सरी फालेको पानीले त्यो घरको गारो भत्कियो,’ साउदले सम्झिए । त्यही बेला माथिको छत र छेउको पर्खाल भत्किएर उनकै हातमाथि पर्‍यो, दाहिने हत्केला छिनायो । एउटै कमान्ड नहुँदा वा फरकफरक संस्थाबाट गएकाबीच समन्वय नहुँदा दुर्घटना हुने गरेका छन् । केही भने ठूला दुर्घटना हुनबाट जोगिएको स्थिति पनि छ ।


१०१ मा ‘ब्लफ कल’

जुद्ध वारुणयन्त्रको कार्यालयस्थित हटलाइन १०१ मा दिनको सयभन्दा बढी कल आउँछन् । प्रत्येक कल उठाउनैपर्छ, कुनमा कहाँ आगलागीको खबर आउने हो र निभाउन कुद्नुपर्ने हो भनेर ‘फायर फाइटर’ तम्तयार रहन्छन् । उपकरण र गाडी पनि तयार रहन्छ । ‘तर त्यस्ता कलमा ९० प्रतिशतभन्दा बढी त ब्लफ कल हुन्छन्,’ वारुणयन्त्र प्रमुख बद्रीमान नगरकोटी भन्छन्, ‘कतिपय जिस्किने गर्छन्, कति चुप लागेर बसेका हुन्छन् । केहीले चाहिँ ट्राफिकको नम्बर, टेलिकमलगायतका नम्बर मागिरहेका हुन्छन् ।’


केन्द्रीकृत संरचना

हाल वारुणयन्त्रमा ४ चालक, ४ दमकल र ८ वटा फायर बाइक छन् । तर ५ वटा प्रयोग कम हुने र बिग्रेर थन्किएका कारण ३ वटा चलाइने गरेको वारुणयन्त्र कार्यालयले जनाएको छ ।


तीन वटा रेस्क्यु जिप र ठूला ट्यांकर पल्टिँदा उठाउने रेस्क्यु ट्रक एउटा छ । यसैगरी इनारमा मान्छे डुब्दा पनि वारुणयन्त्रकै टोली उद्धारका लागि जाने गरेको छ । त्यसका लागि २५ र ३० मिटरका दुईटा सिंढी छन् ।


दमकलकै रूपमा प्रयोग गर्न सकिने तर पानी नबोक्ने लाइट पोर्टेबल पम्प ४ वटा रहेको वारुणयन्त्रले जनाएको छ । राणाकालमा स्थापित जुद्ध वारुणयन्त्र पञ्चायती शासनका बेला अञ्चलाधीशअन्तर्गत आयो । प्रजातन्त्रपछि गृह मन्त्रालय र हाल स्थानीय तहअन्तर्गत छ ।


नयाँ उपकरण र गाडी आए, मान्छेको बसोबास बढेसँगै आगलागीका घटनाका कारण सबै फेरिए । यस परिवर्तनका बीच अहिलेसम्म वारुणयन्त्रको कार्यालय भने उही स्थानमा छ ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?