कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरनिको राजमार्गमा सर्भिस ट्रयाक बनाइँदै

भक्तपुर — अरनिको राजमार्ग सडकखण्डअन्तर्गत जगातीदेखि साँगासम्मको दायाँबायाँ सर्भिस ट्रयाक निर्माण सुरु भएको छ ।

अरनिको राजमार्गमा सर्भिस ट्रयाक बनाइँदै

सर्भिस ट्रयाक निर्माणसँगै सडकको मापदण्डभित्र परेका घर, टहरालगायत संरचना १५ दिनभित्र हटाउन सूर्यविनायक नगरपालिकाले सूचना निर्देशन दिएको छ ।


सूर्यविनायक नगरपालिका ८, ९ र १० का वडाध्यक्षको सक्रियतामा जगातीदेखि र काभ्रेको सीमा साँगासम्मको करिब ५ किलोमिटर सडकको दायाँबायाँ सडक अतिक्रमण गरी बनाइएका संरचना सोमबारबाट हटाउन सुरु गरिएको हो ।


अतिक्रमण गरी बनाइएका संरचना हटाएर सडक फराकिलो बनाउने तथा फागुनबाट सुरु हुने सूर्यविनायक–धुलिखेल ६ लेन सडक निर्माणलाई सहज बनाउन सर्भिस ट्रयाक खुला गर्न लागेको वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए ।


सडक अतिक्रमण गरी बनेका संरचना हटाउन नगरपालिकाले आइतबार सूचना सार्वजनिक गरेको थियो । हाललाई मापदण्डमा परेका घरहरू नभत्काउने तर पेटी तीन फिट बाँकी राखी अन्य संरचना हटाएको थापाले बताए । स्थानीय बासिन्दासँगको समन्वयमा जनप्रतिनिधिको रोहबरमा डोजर लगाएर संरचना हटाउन सुरु गरेको छ । हाललाई सडकको दायाँबायाँ ग्राभेल गर्नेसमेत जनाएको छ ।


पछिल्लो समय मुलुकको पूर्वीक्षेत्रको आवागमन हुने अरनिको र बीपी राजमार्गको मुख्य नाका जगाती–साँगा सडक साँघुरो हुँदा जामको समस्या देखिएको छ । जाम तथा दुर्घटना न्यूनीकरणका लागि सर्भिस ट्रयाक निर्माण गरेको थापाले बताए । १५ दिनभित्र जगाती, भातेढिकुर, जोरपाटी, पलाँसे, साँगासम्मको ५ किलोमिटर सडकको दायाँबायाँ सर्भिस ट्रयाक निर्माण गर्ने जनाइएको छ ।


सडक सफा गर्ने प्रतिबद्धता

जनप्रतिनिधि तथा सरोकारवालाले अरनिको राजमार्ग सफाइ तथा ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।


सोमबार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको अरनिको राजमार्ग सफाइ तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला व्यक्तिहरूले सडक सफा तथा ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्यहरू शशिजंग थापा, डा.राजेन्द्रमान श्रेष्ठ, प्रतिभा श्रेष्ठ, रजनी जोन्छे, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, कर्णेल शिवप्रसाद पौडेल, मध्यपुर थिमि नगरका वडाध्यक्षले सडक क्षेत्र फोहोर मुक्त बनाइने, सडकको हरियाली र सुन्दरता कायम राख्ने, दुर्घटना न्यूनीकरण गर्ने, राजमार्गलाई वातावरणमैत्री बनाउने, सर्भिस ट्रयाक व्यवस्थित गर्ने, सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने, फुटपाथका पसलहरू हटाउने, छाडा चौपायाको व्यवस्थापन गर्ने बताएका हुन् ।


नगरपालिकाले राजमार्ग सरसफाइ अभियानको अवधारणापत्रसमेत सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले प्रस्तुत गरेको अवधारणापत्रमा ट्राफिक आइल्यान्डको बोटबिरुवा संरक्षण रेखदेख तथा ट्राफिक व्यवस्थापन गर्ने र सफाइका लागि विभिन्न क्रियाकलाप गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?