उपत्यकाको फोहोर अब बञ्चरेडाँडामा

पूर्वाधार निर्माणका लागि १ अर्ब ६० करोड विनियोजन, छोटो खरिद प्रक्रिया अवलम्बन गरेर काम अघि बढाउन मन्त्रालयलाई निर्देशन
दीपेन्द्र विष्ट

बञ्चरेडाँडा, धादिङ — सरकारले उपत्यकाको फोहोरमैला व्यवस्थापन बञ्चरेडाँडामा गर्ने निर्णय गरेको छ । मंसिर १७ को मन्त्रिपरिषद् बैठकले धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको कंकनी गाउँपालिका सिमानामा रहेको बञ्चरेडाँडामा विशेष परिस्थितिका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले यथाशीघ्र निर्माण अगाडि बढाउन आवश्यक जनशक्ति व्यवस्थापन र सम्बन्धित निकायसँग संयोजनकारी भूमिका निर्वाह गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बञ्चरेडाँडा पुगेका सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले तत्काल छोटो खरिद प्रक्रिया अवलम्बन गरेर काम अघि बढाउन सचिव रमेशप्रसाद सिंहलाई निर्देशन दिए । ‘सिसडोल ल्यान्डफिल साइट ६ महिनामा भरिन्छ’, उनले भने, ‘चाँडो निर्माण गर्नुपर्छ ।’ ढिला गरेमा फोहोर व्यवस्थापनमा विकराल समस्या आउने उनले बताए ।

सरकारले १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्डफिल साइट निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिएको हो । यसका लागि सरकारले एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । १७ सय २० रोपनी जमिनमा सार्वजनिक निजी साझेदारी (पीपीपी) को माध्यमबाट फोहोरमैला व्यवस्थापन गरिने सचिव सिंहले बताए ।

८० प्रतिशत फोहोरमैलालाई मलमा परिणत गरी २० प्रतिशत फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गरिने मन्त्री राईले बताए । ‘१ सय वर्षका लागि व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि प्लान्ट जडान गरेर मल बनाउने र बाँकी २० प्रतिशत फोहोरमैला व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘त्यसो नगरेमा १० वर्षभित्र बञ्चरेडाँडा पनि भरिन्छ, पुन: अर्को समस्या आउँछ ।’

बञ्चरेडाँडामा प्रशोधन केन्द्र र स्यानेटरी ल्यान्डफिल साइट निर्माण अघि नजिकै रहेको आलेटारमा निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

गत वर्ष उपत्यकाका १० वटै नगरपालिकाको फोहोर संकलनको जिम्मा नेप वेस्टलाई दिने गरी सम्झौता भएको थियो । काठमाडौं महानगरपालिका, दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका घरघरबाट नेप वेस्टले पहिलो चरणमा फोहोर संकलन गर्नेछ ।

फोहोरमैला संकलन गरेबापत नेप वेस्टले प्रतिघरपरिवार २ सय १९ रुपैयाँ रकम उठाउनेछ । लगानी बोर्ड र नेप वेस्टबीच भएको सम्झौतामा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन २ वर्षभित्र गरिसक्नुपर्ने उल्लेख छ । सार्वजनिक–×निजी साझेदारी (पीपीए) मोडलअनुसार सञ्चालन हुने उक्त परियोजना २० वर्षपछि नेप वेस्टले सरकारलाई हस्तान्तरण गर्नेछ ।

सम्झौतामा सम्बन्धित निकायसँग समन्वय र जनचेतनामूलक शैक्षिक अभियान चलाउने पनि उल्लेख छ । लगानी बोर्डका अनुसार परियोजना सञ्चालनमा ल्याउन ५ अर्ब रुपैयाँ लाग्नेछ । ३ अर्ब रुपैयाँ परियोजनाले रोयल्टी बुझाउनेछ । हाल काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा वर्षको ५५ करोड रुपैयाँ खर्च गर्दै आएको छ ।

फोहोरमैलाबाट कम्पोस्ट मल, विद्युत्, प्राकृतिक ग्यासलगायत उत्पादन गरिनेछ । प्रत्येक घर, गल्ली, खोला किनार, ढलको माथिल्लो सतह, सार्वजनिक स्थल (जस्तै मन्दिर) बाट नेप वेस्टले फोहोरमैला संकलन गर्नेछ ।

फोहोरमैलाबाट ४ देखि ५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने सम्झौतामा छ । फोहोरमैला व्यवस्थापन केन्द्रकी पूर्वकार्यकारी निर्देशक सुमित्रा अमात्यले ६ महिनाभित्र बञ्चरेडाँडामा फोहोरमैला व्यवस्थापन गर्नुपर्ने बताइन् । ‘घरघरमा पनि कुहिने र नकुहिने छुट्याउनुपर्छ अनिमात्र समस्या समाधान हुन्छ ।’ काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको १ सय ७ रोपनी जग्गामध्ये ६५ देखि ८० रोपनीमा प्रशोधन केन्द्र जडान र स्यानेटरी ल्यान्डफिलका लागि छनोट गरिनेछ ।

२०६६ भदौ १४ को मन्त्रिपरिषद् बैठकले फोहोरमैला व्यवस्थापनसम्बन्धी एक उच्चस्तरीय समिति गठन गरी विभिन्न मन्त्रालय, विभाग र स्थानीय निकायसँग समन्वय गर्ने र निजी क्षेत्रबाट योग्य साझेदार छनोटका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यही अनुरूप तत्कालीन स्थानीय विकास मन्त्रालयले २०६७ पुस १ गते फोहोरमैला व्यवस्थापनसम्बन्धी आशयपत्र प्रकाशित गरी ८ कम्पनीछनोट गरेको थियो । त्यसमध्ये नेप वेस्ट प्रालि र सीभीसी छनोट भएका थिए । अन्तिममा नेप वेस्ट र क्लिन भ्यालीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाएका थिए ।

२०७५ फागुनमा २३ मा लगानी बोर्ड, यस क्षेत्रका विज्ञलगायतको टोलीले परियोजना विकास सम्झौता (पीडीए) गरेका थिए । त्यसपछि फोहोरमैला व्यवस्थापनका लागि मेसिन जडान र स्यानेटरी ल्यान्डफिल साइट छनोटको जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको हो ।

दोस्रो र तेस्रो चरणमा कीर्तिपुर नगरपालिका तथा ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिका र गाउँपालिकाको फोहोरमैला व्यवस्थापन जिम्मा ‘क्लिन भ्याली’ नामक संस्थालाई दिइनेछ ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजधानीमा पनि राम–जानकी विवाह

जनकपुर जान नपाएकाहरू राजधानीमै राम–जानकी विवाह हेर्न पाएर रमाए
कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुरमा राम र सीताको विवाह भव्य रूपमा मनाइँदै गर्दा राजधानीमा पनि राम–जानकी विवाह महोत्सव मनाइएको छ । महावीर भजन मण्डलले ललितपुरको कुपण्डोलमा महोत्सव आयोजना गरेको हो । 

ललितपुरको कुपण्डोलमा बुधबार राम–जानकी विवाह महोत्सव मनाइँदै । तस्बिर : शिल्पा कर्ण/कान्तिपुर

विवाह पञ्चमीमा जनकपुर जान नपाएकाहरू राजधानीमै राम–जानकी विवाह हेर्न पाएर खुसी भएका थिए । बुधबार साँझ विवाह हेर्नेको भीड लागेको थियो । यही भीडमा थिइन्, रूपन्देही कृष्णनगरकी आशा मिश्रा । उनीसँगै बसेकी युवतीलाई अवधी भाषामा आफू दुलाहापट्टिको भनेरदाबी गर्दै थिइन् ।

‘मेरो घर रामको राज्य अयोध्या नजिकै पर्छ,’ उनले भनिन्, ‘हामी अवधी भाषा बोल्छौँ । हाम्रो त भाषा पनि मिल्छ ।’ मण्डपमा सीता र रामका रूपमा सिंगारिएर बसेका नौ वर्षीया रुवि झा र १० वर्षका उमेश यादवलाई हेर्दै उनले साक्षात सीता–राम धर्तीमा झरेको अनुभव भएको सुनाइन् । आशाले आफ्नोतिर मन्दिरमा मनाइने विवाह पञ्चमी यहाँ खुला चौरमा मनाएको देख्दा रमाइलो लागेको बताइन् ।

७६ वर्षीय चन्द्र श्रेष्ठ पनि विवाह हेर्न लौरो टेक्दै सबेरै आइपुगेका थिए । भाषा नबुझे पनि रमाइलो लागेको श्रेष्ठको प्रतिक्रिया थियो । बिहानै रथ आएसँगै विवाहस्थल पुगेका थिए उनी । ‘भजन मण्डलसँगै घर भएकाले कार्यक्रम हुने थाहा थियो । भाषा नबुझे पनि रमाइलो लागिरहेको छ,’ उनले भने । मैथिली भाषाका भजन र गीत गुञ्जिँदा उनीसँगै अन्य ज्येष्ठ नागरिक पनि रमाए ।

महोत्सव हेर्न युवायुवती पनि त्रिपालभित्र पसेका थिए । थापाथली क्याम्पसकी अस्मिता झा कक्षा सकेर कार्यक्रम हेर्न पुगेकी थिइन् । जनकपुरकी स्थायी बासिन्दा भए पनि काठमाडौं बस्दै आएकी उनले कहिल्यै महोत्सव हेरेकी थिइनन् । ‘राम्रै छ, पहिलोपल्छ हेरेकी हुँ,’ मटकोरको कार्यक्रम सकिएपछि भेटिएकी उनले भनिन् ।

हुन त विवाहको साइत बेलुका आठ बजेतिर थियो । त्यसअघि धनुष तोड्ने र स्वयंवरको कार्यक्रम सम्पन्न भइसकेको थियो । आयोजक महावीर भजन मण्डल कुपण्डोलका तर्फबाट रामदेव यादवले विवाह पञ्चमी राजधानीमा मनाउने इच्छा देखाएका थिए । ‘मिथिला केवल जनकपुर होइन । गंगा नदी, हिमालय, गण्डकी र कोसीबीचका सबै मैथिल हुन्,’ यादवले भने, ‘सीता केवल जनकपुरकी छोरी होइनन्, नेपालकै छोरी हुन् । त्यसैले राजधानीमा पनि किन नमनाउने भन्ने लागेर आयोजना गर्‍यौं ।’ राजधानीमा यस्तो विवाह महोत्सव पहिलोपल्ट मनाइएको उनको दाबी छ ।

धनुषाधाम काशीपुर घर भई राजधानी बस्दै आएका उनले जनप्रतिनिधि र नेवारी समुदायको सहयोगले हौसला बढाएकामा खुसी व्यक्त गरे । ललितपुर १ का वडाध्यक्षले सहयोग गरे । विष्णुभगत तण्डुकार जानकीका पिता बने । विष्णुमती र वाग्मतीको दोभानलाई पवित्र मानेर साँझ ५ बजे मटकोर कार्यक्रम मनाइएको यादवले बताए ।

मैथिल विवाह संस्कृतिमा अंकुरित चना, चामल, सख्खर, सिन्दुर र तेलले भूमिलाई पुज्ने गरिन्छ । ‘स्वयंवर त धनुष टुट्नेबित्तिकै भयो । जन्ती अयोध्याबाट नआए पनि त्यसलाई सांकेतिक रूपमा देखायौं,’ उनले भने, ‘परिछन्, कन्यादान लगायतका विधि पनि गर्‍यौं ।’

साइत पर्खंदै गर्दाको समय सदुपयोग गर्दै नेपाली र भोजपुरी गीतमा प्रस्तुति दिइएको थियो । जनकपुरबाट आएको यसै समूहका थिए गायक सुनील पाल । ‘हिजो यसै कार्यक्रमका लागि भनेर आएका हौं । विवाह पछि फर्किन्छौं,’ उनले भने । विवाहका विधिपिच्छेका गीत गाउन उनीहरूको टोली राजधानी आएको हो ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT