ओलीको निर्वाचन खर्च २४ लाख

बनियानी, झापा — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए । 

शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी ली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र कांग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

एमाले अध्यक्ष ओलीले रु २४ लाख एक हजार १६०, कांग्रेस नेता सिटौलाले रु २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले रु २४ लाख १० हजार र कांग्रेस नेता शर्माले रु २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका खगेन्द्र अधिकारीले रु २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले रु २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले रु छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले रु तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले रु ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले रु ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले रु एक लाख नौ हजार २०० खर्च भएको विवरण पेस गरेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले रु २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले रु १५ लाखसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो ।

प्रकाशित : पुस १८, २०७४ १५:११
प्रतिक्रिया
पठाउनुहोस्

४ हजार मिटरको उचाइमा गाडी सरर...

उत्तरी धादिङको उच्च भेगमा गाडी पुग्यो
हरिहरसिंह राठौर

धादिङ — रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग ४ हजार मिटरको उचाइमा रहेको पाङसाङमा गाडी पुगेको छ ।  जिल्ला विकास समितिले लाखौं खर्च गरेर विगत १० वर्ष अघिदेखि निर्माण सुरु गरेको उक्त सोमदाङ–तिप्लिङ सडक उपभोक्ताहरुले कामै नगरे पछि अलपत्र परेको थियो । रसुवाको स्याफ्रुबेंसीबाट सोमदाङसम्मको ४२ किमी सडक नेपाली सेनाले २०४४ सालमै सम्पन्न गरेको थियो ।

गत फागुनमा हिउँ परेको पाङसाङ भन्ज्याङ । फाइल तस्बिर ।

गत फागुनमा हिउँ परेको पाङसाङ भन्ज्याङ । फाइल तस्बिर ।

नेपाल सरकारले गणेश हिमालमा रहेको जस्ता खानी अध्ययन र सञ्चालन गर्न उक्त सडक नेपाली सेना मार्फत निर्माण गरेको थियो। ३२ सय मिटर उचाईको सोमदाङबाट ४ हजार मिटर उचाईको पाङसाङ देउराली कटाई तिप्लिङसम्म ३१ किमी सडक पुर्‍याइएको हो।

जिल्लाको उत्तरी भेकको रुबीभ्यालीका तत्कालिन ३ गाविसमा भूकम्पपछि पुनर्निर्माणका सामाग्री सहज पुर्‍याउन उक्त सडक निर्माण गरिएको हो। रुबीभ्यालीका बासिन्दाहरुलाई सडकमार्ग नहुँदा दैनिक उपभोग्यवस्तुहरु किनमेल गर्न २ दिन पैदल हिँडेर दार्खाको डुण्डुरे पुग्नु पर्ने बाध्यता थियो। अब गाडी पुगेपछि त्यहाँका बासिन्दालाई किनमेलको लागि सहज हुने छ।

‘सोमदाङबाट पाङसाङ ७ किमी र त्यसपछि २१ किमी सडक खने तिप्लिङको लवदुङ पुग्छ। अबको ३ महिनामा तिप्लिङबा बस्तीहरुमा यात्रुबाहक र मालबाहक साना सवारीसाधनहरु गुड्नेछन्,’ रुबीभ्याली–१ का वडाअध्यक्ष पेम्वा घलेले भने।

सडकपुगेपछि धादिङको उत्तरी भागको पर्यटन व्यवसाय फस्टाउने स्थानीयको विश्वास छ।

प्रकाशित : पुस १८, २०७४ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्