कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोदारी राजमार्गको बेवास्ता [तस्बिरहरुसहित]

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे ओमपार्क ग्रामीण सडक कालोपत्रे भइरहँदा सीमा जोड्ने कोदारी राजमार्ग सामान्य मर्मतसमेत गरिएको छैन । भूकम्प, बाढी र वर्खाको पहिरोले तहसनहस बनाएको बाह्रबिसे–तातोपानी सडक अझै बदलिन सकेको छैन ।

कोदारी राजमार्गको बेवास्ता [तस्बिरहरुसहित]

दर्जनौं पहिरोले बाह्रबिसे तातोपानी सडकखण्ड आवतजावतको लागि निकै जोखिमपूर्ण बन्दै आएको छ । सिरिसे, डाक्लाङ, झ्यालेभिर, झिर्पुको हिन्दीदेखि लार्चासम्म भूकम्पले कमजोर बनाएका माथिल्लो भागका सुख्खा पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दै गएको हो ।


पहिरोले यो खण्डको १५ किलोमिटर सडक जीर्ण बनाउँदा पैदलयात्रीले हिँड्डुलमा सास्ती खेपिरहेका छन् । भूकम्पपछि चिनियाँ ठेकेदार कम्पनी सीआरसीसीले यो खण्डको पुनर्निर्माण गरेको थियो । अहिले यो सबै पुरेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।


‘लार्चा पुल भत्किएपछि सीमा सडक बेवास्तामा परेको झै भएको छ, यो खण्डको अझै सुधारमा जोड् दिइएको छैन,’ उनले भने । उनले गत शुक्रबार राजधानीमा भएको तातोपानी सञ्चालन तथा अरनिको राजमार्ग विस्तारसम्बन्धीको अन्तरक्रियामा कोदारी राजमार्ग मर्मत र नाका खोल्नेबारेमा आवाज उठाएको सुनाए ।


चीन सरकारबाट प्राप्त १४ अर्ब ९८ करोडमध्ये झण्डै आधा रकम अरनिको राजमार्ग सडक मर्मतमा प्रयोग गरिने योजना बनेको प्रतिनिधि र सांसदले जनाएका छन् । ‘करोडौं बजेटमा ग्रामीण सडक कालोपत्रे गरिँदैछ, नाका जोड्ने राजमार्गलाई किन बेवास्ता गरिएको हो,’ उनले भने ।


कोदारी राजमार्ग २६ किलोमिटर सडकखण्ड हाल पुरानै कटानको अवस्थामा पुगिसकेको छ । पाङ्सेर्पु पहरो खसेर तातोपानी जोड्ने लार्चापुल भत्काएपछि सीमावर्ती क्षेत्र कष्टमा छ । भदौदेखि थालिएको बेलिब्रिज निर्माण लापरबाही भएपछि भोटेकोसी हाइड्रोपावर कम्पनीले हिमपाइप प्रयोग गरेर अस्थायी रुपमा गाडी वारपार गर्ने व्यवस्था गरेको छ ।


‘बेलिब्रीज वर्खाअघि नसके, तातोपानी पुन: नाकाबन्दीमा पर्छ,’ भोटेकोसी गाउँपालिका तातोपानीकी दिलमाया शेर्पाले भनिन्, ‘हिमपाइपद्वारा बनाएको सडक र फड्के बर्खालगत्तै कोसीले बगाएर लैजान्छ ।’


राजमार्ग सुख्खा पहिरोले समय समयमा अवरुद्ध र जोखिमयुक्त बनाएकाले यात्रु, बिरामी सास्तीमा परेको उनले सुनाइन् । सवारी साधन नचल्दा उनीहरु पहिरो जोखिम मोल्दै पैदल नै हिँडेर यात्रा गरिरहेको सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी हजारियालाल जैसवालले बताए ।


‘पहिरोले सडक ठाउँठाउँमा कटान भइरहने गरेको छ,’ उनले भने, ‘पाइलापिच्छै जोखिम मोल्नुपर्ने भएकाले सवारी साधन यता आउँदैनन् ।’


प्रकाशित : माघ २, २०७४ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?