कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘शिरमाह्रानी’ नेपालमा प्रदर्शनको तयारी

आश गुरुङ

लमजुङ — गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर गुरुङ फिल्म ‘शिरमाह्रानी’ निर्माण गरिएको छ । अंग्रेजीमा ‘अ व्युटीफूल गुरुङ गर्ल’ नाम दिइएको उक्त फिल्मको प्रदर्शन बेलायतबाट सुरु भएको छ ।

‘शिरमाह्रानी’ नेपालमा प्रदर्शनको तयारी

आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन थालिएको उक्त फिल्म नेपालमा प्रदर्शन तयारी गरिएको निर्देशक मनोज गुरुङले बताए । बेलायतका दर्शकले औधी रुचाएको फिल्म ‘शिरमाह्रानी’ नेपाल र विदेशकै पनि विभिन्न ठाउँमा प्रदर्शन हुने तर, मिति तय भइनसकेको उनले बताए ।


यसअघि च्ह्यालयाब ट (ओइलिएको फूल), थु (साथी) र मारय ट (सुनको फूल) निर्देशन गरिसकेका उनले यस फिल्ममा एउटी राम्री गुरुङसेनी केटीको बखान गरेका छन् । कसैले कसैलाई लगाएको गुन बिर्सन नहुने सन्देश दिन फिल्मले दिन खोजेको उनले बताए । ‘साथीसंगीबीचको भारा (गुन) तिर्न सजिलो लाग्छ । आमाको दूधको भारा (गुन) तिर्न गाह्रो हुन्छ । तर, तिर्नुपर्छ भन्ने सन्देश फिल्ममा दर्शाइएको छ’ उनले भने । पर्वतको बिहादी गाउँपालिकाको बच्छा गाउँ र केही सिन पोखरामा छायांकन गरिएको उक्त फिल्म गुरुङ भाषा र संस्कार-संस्कृतिमा आधारित रहेको उनले बताए ।


फिल्ममा दर्शन गुरुङ, सिमरन गुरुङ, खेमराज घले, तीव्रता गुरुङ, प्रीति गुरुङलगायतले अभिनय गरेका छन् । कमल गुरुङ र हुमबहादुर गुरुङको कथामा मनोज गुरुङले लेखन दिर्नेशन गरी फिल्म तयार पारेका हुन् । मुक्तिमनोज फिल्मको तेस्रो प्रस्तुतिको फिल्म ‘शिरमाह्रानी’ मा बेलायतस्थित हुमबहादुर गुरुङ कार्यकारी निर्माता छन् । मनोज गुरुङ र हुमबहादुर गुरुङको गीतमा मनोज आफैंले संगीत भरेका छन् ।


फिल्मलाई खिमबहादुर गुरुङले छायांकन गरेका छन् । ३ वटा गीत समेटिएको फिल्ममा ‘ङल ङोल्स्यो शिरमाह्रानी’ बोलको गीत अहिले गुरुङ समुदायमा चर्चित छ । गायनमा मनोजलाई प्रिया गुरुङले साथ दिएकी छन् । उक्त गीतलाई ‘कभर डान्स’ प्रतियोगिताको लागि आह्वान गरिएको थियो । ५० हजार रुपैयाँ पुरस्कार राशि राखेर प्रतियोगिता आह्वान गरिएकोमा तरेली सांस्कृतिक परिवार पोखरा प्रथम भएको थियो । १३ वटा भिडियोले प्रतिस्पर्धा गरेको उक्त गीतमा देशविदेशका कलाकारले सहभागिता जनाएका थिए ।


नेपाली फिल्मको इतिहासमा सम्भवत: यस्तो प्रतियोगिता पहिलोपटक आयोजना गरिएको निर्देशक गुरुङले बताए । उनका अनुसार कभर भिडियोलाई स्ट्रीम नेपाल नामक युट्युब च्यानलमा राखेर प्रतिस्पर्धा गराइएको थियो । बढी भ्युअर्स पाएको भिडियोलाई सर्वोत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?