कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कति जीपीए आउनेले के पढ्न पाउँछन् ? 

एसईई नतिजा
मकर श्रेष्ठ

काठमाडौँ — एसईईमा कम्तीमा १.६ जीपीएसम्म ल्याउने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । १.६ जीपीए भएपनि विद्यार्थीको नेपाली, अंग्रेजी र सामाजिकमा भने डी प्लस आएकै हुनुपर्छ ।

कति जीपीए आउनेले के पढ्न पाउँछन् ? 

यस्तै २ जीपीए ल्याउनेले विज्ञान, १.६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन समूह अध्ययन गर्न पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ ।

विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णाङ्कको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ ।

शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् ।


प्रकाशित : असार १०, २०७५ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?