कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

बजेट सक्न मात्रै कार्यक्रम

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनकपुरमा सोमबार आयोजना गरेको प्रदेशस्तरीय लैङ्गिक हिंसा निवारणका लागि अन्तरक्रिया कार्यक्रम निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएर निर्धारित समयअघि नै सकियो । 

बजेट सक्न मात्रै कार्यक्रम

कार्यक्रमको तालिकामा दुई कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल हुने उल्लेख भए पनि सामान्य छलफलमै कार्यक्रम टुंगियो । बिहान ८ बजेदेखि २ बजेसम्मको कार्य तालिका तोकिएको कार्यक्रम बीचमै आर्थिक वर्षको अन्तिम दिन भएकाले समय कम रहेको जनाउ दिँदै छोटयाइएको थियो ।


प्रदेश २ का ८ जिल्लाका प्रमुख जिल्ला अघिकारी, प्रहरी उपरीक्षक, महिला तथा बालबालिका कार्यालय प्रमुख, गैरसरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सहभागी लैङ्गिक हिंसा निवारणका लागि प्रदेशस्तरीय अन्तरक्रियामा कार्यपत्र नै प्रस्तुत भएन ।


कार्यपत्र प्रस्तोता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायका सहसचिव राधिका अर्यालले प्रशिक्षणको स्लाइड देखाएर जिम्मेवारीबाट पन्छिएका थिए । कार्यक्रममा सहभागीले कार्यपत्र माग्दा मन्त्रालयका कर्मचारी कार्यक्रम उपलब्ध नरहेको बताउँदै पन्छिएका थिए ।


उनको प्रस्तुतिमा आयोजकले सामान्य छलफल गरी कार्यक्रम टुंगिएको केहीबेरमै सामाजिक विकास मन्त्रलायकै अर्को कार्यक्रमको ब्यानर कर्मचारी लगाए । मन्त्रालयले खेलाडीको सम्मानका लागि आयोजना गरेको कार्यक्रमका लागि मन्त्रालयका कर्मचारी व्यस्त भए ।


आर्थिक मसान्तको अन्तिम तीन दिनमा जनकपुरस्थित मसला कटेज सामाजिक विकास मन्त्रलायको कब्जामा रहयो । बजेट सक्न, भात खुवाउन र भत्ता बाँडन मात्र कार्यक्रममा आयोजन भएको सहभागीले बताए । यहाँ कर्मचारी कार्यक्रमको प्रभावकारी बानाउनुभन्दा भात खान कुपन र भत्ता बाँडन हस्ताक्षर गराउनैमा व्यस्त थिए । कार्यक्रममा सोमबार मात्र सहभागी भएकाहरूले पनि तीनै दिनको भत्ता बुझे ।


कार्यक्रममा सहभागी एक निजामती कर्माचरीले भने, ‘हामी त कर्मचारी मन्त्रालय र मन्त्रीको विरोधमा बोल्नै मिल्दैन । महत्त्वपूर्ण विषयमा मन्त्रालयले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएन । बजेट सक्न मात्रै कार्यक्रम आयोजना भएको रहेछ ।’ कार्यक्रममा उपस्थित भएर भाषण गरेर हस्ताक्षर गरी भत्ता बुझनुबाहेक केही भएन उनले भने ।


लैङ्गिक हिंसा निवारणका लागि प्रदेशस्तरीय अन्तरक्रियामा प्रदेशको लैङ्गिक हिंसाको अवस्था र निवारणका लागि आवश्यक प्रयासबारे छलफल समेत हुन सकेन । सहभागी मन्त्री, सांसद, कर्मचारीले भाषण गरी कार्यक्रम सकिएको थियो ।

प्रकाशित : असार ३२, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?