कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसद्वारा दमनको विरोध

काठमाडौँ — कांग्रेसले आमरण अनसनरत डा. गोविन्द केसीलाई राजधानी ल्याउने क्रममा जुम्लामा बिहीबार सरकारी दमन भएको र सदन छल्ने गरी संसद बैठक ८ दिन पर सारिएकामा आपत्ति जनाएको छ । डा. केसीको जीवन रक्षाका लागि अध्यादेश हुबहु कार्यान्वयन गर्नसमेत माग गरेको छ ।

कांग्रेसद्वारा दमनको विरोध

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा र सेवा सुधारका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा आएको अध्यादेशलाई तोडमरोड गरी विधेयक संसदमा दर्ता गरिएको र सरकार क्रमश: अधिनायकवादउन्मुख शैलीमा गएका कारण स्थिति जटिल भएको दाबी गरिएको छ ।


‘डा. केसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमै प्रहरी प्रवेश गरेर लाठीचार्ज गर्ने, अश्रुग्याँस प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पुर्‍याउनेजस्ता सरकारको दमनकारी कार्यको कांग्रेस भत्र्सना गर्छ’ विज्ञप्तिमा छ । कांग्रेसले कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी एवं कैयन सर्वसाधारणमाथि प्रहरीले दमन गरेकामा समेत विरोध जनाएको छ ।


डा. केसीको माग सम्बोधन गर्न प्रतिपक्षीसँग परामर्श गर्नुपर्नेमा प्रतिनिधिसभा बैठक स्थगित गरी सरकारले गैरजवाफदेही क्रियाकलाप प्रदर्शन गरेको टिप्पणीसमेत कांग्रेसले गरेको छ । ‘समस्या समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुनसमेत कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ’ विज्ञप्तिमा छ ।


प्रकाशित : श्रावण ३, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?