कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झन्डै तीन अंकले घट्यो नेप्से

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब तीन अंकले घट्यो । अघिल्लो दिनको तुलनामा २.७० अंकले घटेपछि समग्र नेप्से १ हजार दुई सय ४१.८४ विन्दुमा ओर्लेको छ ।

झन्डै तीन अंकले घट्यो नेप्से

अघिल्लो दिनको तुलनामा यो ०.२२ प्रतिशतले कम हो ।


बजार खुलेको पहिलो ३० मिनेटसम्म सामान्य सुधारको अवस्थामा रहेको नेप्से त्यसपछि ओरालो लागेको थियो । मध्यान्नमा केही सम्हालिन खोजेपनि अन्त्यमा करिब तीन अंकले ऋणात्मक बनेको हो । दसैंपछि खुलेको बजारमा आइतबार बाहेक बाँकी दुई दिन नेप्से घटेको छ । आइतबार भने नेप्से करिब पाँच अंकले बढेको थियो ।


सामान्यतया दसंै पाँच दिनसम्म मनाउने गरिन्छ । तर, यो वर्षदेखि सरकारले दसंै बिदा घटाएको छ । सार्वजनिक बिदा नभए पनि पाँचै दिन दसैं मनाउने चलन अझै व्याप्त छ । यसकारण अझै चाडपर्वकै रमझम रहेकाले लगानीकर्ता बजारमा भित्रिनसकेको सेयर दलालहरू बताउँछन् । आइतबारदेखि कारोबार खुले पनि खरिदबिक्री धेरै कम रहेको र अर्को सातादेखि बजारमा चहलपहल बढने उनीहरूको भनाइ छ ।


दिनभरको व्यापारमा १९ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम केही बढी हो । परिसूचक घटेपछि कुल बजार पुँजीकरण (बजारको आकार) केही घटेर १४ खर्ब ८१ अर्ब रूपैयाँमा सीमित छ ।


नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.२० तथा व्यापारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक ०.१८ प्रतिशतले ऋणात्मक रहे ।


उक्त दिन कारोबारमा आएकामध्ये तीन समूहको परिसूचक बढे । बाँकी ६ समूहको परिसूचक घटे । यसरी बढनेभन्दा घटने समूहको परिसूचक धेरै भएपछि समग्र नेप्से ऋणात्मक बनेको हो ।


मंगलबार होटल र बैंकिङ समूहको परिसूचक स्थिर छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.४६ प्रतिशतले बढ्यो । तर, वित्त कम्पनी समूहको परिसूचक ०.७१, निर्जीवन बीमाको १.२४, ‘अन्य’ को ०.७१, लघुवित्तको ०.५८, जीवन बीमाको ०.५७, जलविद्युतको ०.१९ र विकास बैकको ०.५ प्रतिशतले घटे ।


करिब साढे तीन हजार कारोबारबाट एक सय ५५ कम्पनीका ८ लाख ४२ हजार एक सय ९६ कित्ता सेयर खरिदबिक्री भए । कारोबारमा आएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढ्यो, ८७ कम्पनीको सेयर मूल्य घट्यो, बाँकी २८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित : कार्तिक ६, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?