कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन माघ २४ 

राजेश मिश्र

काठमाडौँ — सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको भन्दा एक दिन अगाडि निर्वाचन मिति तोकिएको हो ।

राष्ट्रिय सभा निर्वाचन माघ २४ 

आयोग स्रोतका अनुसार राष्ट्रिय सभाको गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक परिणाम आउने भएकाले आयोगले छिटोमा फागुन १५ गते सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाउन सक्ने सम्भावना छ । राष्ट्रिय सभाको मत गणना प्राविधिक दृष्टिकोणले जटिल रहेकाले त्यसले कम्तीमा २ देखि ३ दिन समय लिन सक्ने अनुमान छ ।

‘परिणामपछिका आवश्यक प्रक्रिया पूरा गरेर दललाई समानुपातिक सिट बाँडफाँट र पत्राचार माघ ३० गते गर्ने सम्भावना रहन्छ,’ स्रोतले भन्यो, ‘विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलले न्यूनतम ७ दिन पाउने छन् । प्राप्त सूचीमा न्यूनतम २ दिनको छानबिनपछि नमिलेको विषय मिलाउन दलले ३ दिन पाउने छन् । यी सबै काम सक्दा फागुन १० गते कट्ने सम्भावना छ ।’ यसरी अगाडि बढदा नयाँ सरकार गठन फागुन दोस्रो सातापछि पुग्ने देखिन्छ ।

वाम गठबन्धनले चुनाव परिणाममा भइरहेको ढिलाइलाई लिएर आयोगको विरोध गरिरहेका छन् । निर्वाचनको मिति धेरै पर लगिएको प्रति असन्तुष्टि जनाउँदै वाम गठबन्धनका नेताहरूले बिहीबारको सर्वदलीय बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेको सेरोफेरोमा गराउन सुझाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आयोगका पदाधिकारीलाई बोलाएर प्रतिनिधिसभाको निर्वाचन परिणाम छिटो दिने वातावरण मिलाउन आग्रह गरेकी थिइन् । आयोगले निर्वाचनका लागि न्यूनतम सबै कार्यक्रमहरू गर्नैपर्ने भएकाले प्रस्तावित मितिलाई धेरै वर सार्न नसकिने जानकारी सरकारलाई गराएको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाले एउटा बाटो खुलेको र आयोग अब प्रदेश प्रमुख नियुक्तिको प्रतीक्षामा रहेको बताए ।


प्रकाशित : पुस २२, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?