कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माण प्राधिकरण प्रमुखप्रति पाल्पालीको आक्रोश

माधव अर्याल

पाल्पा — जिल्लाका भूकम्प प्रभावितका लागि कुनै पनि काम अघि बढ्न नसकेको भन्दै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र कार्यालय प्रमुखहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

पुनर्निर्माण प्राधिकरण प्रमुखप्रति पाल्पालीको आक्रोश

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाललगायतको उपस्थितिमा तानसेनमा शनिबार भएको कार्यक्रमका सहभागीले अहिलेसम्म प्राधिकरणले घर बनाइदिन नसकेको र जनतालाई सास्ती दिने काममात्र गरेको भन्दै चर्को आलोचना गरेका हुन् । उनीहरुले प्राधिकरण प्रमुखसमक्ष पाल्पामा भूकम्पबाट क्षतिग्रस्त एउटा पनि घर बन्न नसकेकोमा यथार्थ बताएका थिए ।


आफैं घर बनाउन चाहने भूकम्प पीडितहरू मापदण्डभन्दा फरक पर्ने डरमा रहेको, बनाइसकेकालाई सरकारले दिने सुविधा के गर्ने भन्ने अन्योल भएको उनीहरुले बताए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा देखिएका समस्या समाधान गर्दै भूकम्प पीडितको राहतमा प्राधिकरणले चासो दिएर तीव्रता दिनुपर्ने बताए । उनले खटिएर आएका प्राधिकरणका इन्जिनियरहरुले जागिरे मानसिकताभन्दा पनि कर्तव्यबोध हुने गरी काम गर्नुपर्ने बताए ।


नेपाली कांग्रेसका सभापति वीरबहादुर राना, एमाले उपाध्यक्ष मोहन थापा, राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य डुलबहादुर कुँवर, नेकपा (माले)का धनराज पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याललगायतले प्राधिकरणले अहिलेसम्म काम नगर्दा भूकम्प प्रभावितले अन्योल र सास्ती खेप्नु परेको बताए ।


रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठक, रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण जिसी, बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीमगर, रैनादेवी छहराका प्रमुख प्रशासकीय अधिकृत ठानेश्वर पराजुलीलगायतले भूकम्प प्रभावितका समस्या धेरै भएकाले यसमा समाधानका लागि सम्बन्धित निकायले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जनता र सरोकारवाला निकायबाट आएका समस्या समाधान गर्ने र काम तीव्रता दिन कम प्रभावित जिल्लामा समेत छलफल र अन्तर्क्रिया गरिएको बताए । प्राधिकरण प्रमुख भूसालले भने पाल्पामा प्राविधिकहरु खटिइसकेको र केही दिनमै डकर्मी तालिम सञ्चालन भएर छिट्टै नतिजा आउने काम हुनेमा ढुक्क हुन आश्वासन दिए । उनले तालिम लिएका डकर्मी र प्राधिकरणबाट खटिएका प्राविधिकले पहिलो किस्ता लिएकाहरुको घर निर्माणमा सघाउने बताए ।


भूकम्प गएको ३० महिना बित्दा पनि कम प्रभावित भनिएको पाल्पा जिल्लालाई पुनर्निर्माण प्राधिकरणले चासो नदिँदा पीडितहरु सास्ती खेपेर टहरामै दिनरात गुजार्नु परेको छ । पाल्पाका १० स्थानीय तहमा एकजना इन्जिनियर र एकजना ओभरसियर प्राधिकरणले खटाएको छ ।


केन्द्रीय तथ्यांक विभागबाट पाल्पामा १० हजार ४ सय ६५ घर सर्वेक्षण गरेकामा ४ हजार ६ सय ५२ जनाको सूची पठाइसकेको छ भने ४ हजारले ५० हजार रुपैयाँको किस्ताबापतको सम्झौता गरिसकेका छन् ।


कार्यक्रम जिल्ला समन्वय समिति संयोजक दयाराज बस्याल, जिल्ला समन्वय समितिका फोकल पर्सन दुर्गा थापाले अहिलेसम्म इन्जिनियर नभएको, गुनासा सुनुवाइ गर्न समस्या भएको भए पनि आगामी दिनमा सहज हुने बताए ।


प्रकाशित : पुस २२, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?