१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चिसोले सप्तरीमा ७ महिने बालकसहित थप ६ को मृत्यु, मृतकको संख्या १५ पुग्यो

अवधेशकुमार झा

राजविराज — आठ दिनदेखि जाडो र शीतलहरका कारण कठ्यांग्रिएर मृत्यु हुने क्रम अझै रोकिएको छैन । सप्तरीमा एक सात महिने बालकसहित थप ६ जनाको मृत्यु भएको छ ।

चिसोले सप्तरीमा ७ महिने बालकसहित थप ६ को मृत्यु, मृतकको संख्या १५ पुग्यो

पछिल्लो पटक मृत्यु भएका ६ जना समेत जिल्लामा आठ दिनको अवधिमा जाडोका कारण मर्नेको संख्या १५ पुगेको छ ।


कञ्चनरुप नगरपालिका-२ का ५५ वर्षीय बेचन शेखको आइतबार बिहान खेतमा पानी लगाउने क्रममा जाडोले कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले जानकारी दिए । उनका अनुसार बिहान घरबाट पानी लगाउन खेत गएका शेख खेतमै कठयांग्रिएर ढलेपछि घर ल्याउँदै गर्दा मृत्यु भएको हो ।


यस्तै खडग नगरपालिका-८ का ६० वर्षीय मुसहरु चौधरीको कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार तिलाठी कोईलाडी गाउँपालिका-४ का नारायण मुखियाको पनि जाडोका कारण मृत्यु भएको छ । अति विपन्न रहेका मुखिया झुपडीमा बस्दै आएका थिए ।


यसैगरी खडग नगरपालिका-७ खोरियाका ६० वर्षीय प्रेमबहादुर माझीको जाडोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । उता कञ्चनरुप-७ का ६० वर्षीय उतिम मरिक डोमको पनि जाडोका कारण मृत्यु भएको छ । चारदिन अघि बिहान घर नजिकै कठ्यांग्रिएर ढलेका उतिमको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको उनका छोरा सिकिन्दर मरिक डोमले जानकारी दिए ।


कञ्चनरुप नगरपालिका-४ मा भने एक ७ महिने बालकको चिसोका कारण सिकिस्त भएपछि उपचारका लागि विराटनगर लग्दै गर्दा मृत्यु भएको छ । कञ्चनरुप-४ का ललित चौधरीका सात महिने छोरा गणेश जाडोका कारण सिकिस्त भएपछि स्थानीय क्लिनकमा निमोनिया भएको शंका गरेपछि उपचारका लागि विराटनगर लग्दै गर्दा मृत्यु भएको स्थानिय सञ्चारकर्मी राजकुमार पासमानले जानकारी दिए ।


यसैबीच, जाडो अत्यधिक बढेपछि आइतबारबाट जिल्लामा प्याब्सनअन्तर्गतका निजी विद्यालय ३ दिनसम्मका लागि बिदा दिइएको प्याब्सन सप्तरीका अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।

प्रकाशित : पुस २३, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?