कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सरकारअघि नै एकताको स्वरूप’

वाम एकता संयोजन समिति बैठक

काठमाडौँ — एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने समझदारी गरेका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुई दलबीचको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउनेबारे छलफल गरेको हो । 

‘सरकारअघि नै एकताको स्वरूप’

एमाले अध्यक्ष केपी ओली निवास, बालकोटमा बसेको समितिको बैठकमा एकताको संगठनात्मक स्वरूप र वैचारिक, राजनीतिक विषय टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल बनाउने समझदारीसमेत भएको छ । ‘सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेबारे छलफल भएको छ, त्यसका लागि कार्यदल गठन गरेर गृहकार्य अघि बढाउने समझदारी बनेको छ,’ एकता संयोजन समितिमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।


पार्टी एकताको गृहकार्य गर्ने कार्यदल भने अध्यक्ष केपी ओली थाइल्यान्डबाट फर्केपछि बस्ने बैठकले गठन गर्नेछ । ओली उपचारका लागि बुधबार त्यसतर्फ जाँदैछन् । दुई दलबीच एकता प्रक्रिया अघि बढाउन चुनावी गठबन्धन क्रममै संयोजन समिति बनाइएको थियो । चुनावपछि समितिको औपचारिक बैठक बसेको थिएन । बैठकमा दुई धारका पार्टीबीचको एकता भएकाले यसलाई सम्मानजनक बनाउन केही गृहकार्य आवश्यक रहेको नेताहरूले ठहर गरेका थिए । दुई दलबीच एकतापछिको पार्टीको प्रमुख को बन्ने, शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने, सैद्धान्तिक वैचारिक लाइन के हुने भन्नेमा समझदारी कायम गर्नुपर्नेछ । एकतापछिको पार्टी प्रमुख पद माओवादीले दाबी गरिरहेको छ । एमालेभित्र पनि एकतापछिको अध्यक्ष आफैंले पाउनुपर्ने दबाब छ । यो विवादबीच दुवै दलका तर्फबाट प्रतिनिधित्व हुने गरी दोहोरो नेतृत्वको चर्चा पनि छ ।


वाम गठबन्धन बनाउने बेला दुई दलका अध्यक्ष मुख्य नेता रहने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दुवै दलका अध्यक्षले चुनावी अभियान हाँकेका थिए । एकीकृत पार्टीमा पनि महाधिवेशन नहुँदासम्म त्यही शैली अपनाउन सकिने विकल्प पनि छलफलमा छ ।


प्रदेश सरकारको गृहकार्य गर्न कार्यदल

राष्ट्रिय सभा गठन, प्रदेश सरकार गठनलगायत विषयमा गृहकार्य गर्न एकता संयोजन समितिको बैठकले छुट्टै ६ सदस्यीय कार्यदल बनाएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार कार्यदलमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् । कार्यदलले राष्ट्रिय सभाका लागि आवश्यक दुई दलका तर्फबाट साझा उम्मेदवार तय गर्नेछ । साथै, प्रदेश सरकारको स्वरूपलगायत विषयमा गृहकार्य गर्नेछ । माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि गठबन्धनबाट साझा उम्मेदवारी हुनेछ ।

प्रकाशित : पुस २६, २०७४ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?