कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरलले थप २ को मृत्यु

स्वास्थ्यकर्मी टोली घरघर पुग्यो, एक सातामा १२ सयको उपचार
जिल्ला स्वास्थ्य प्रमुख भन्छन्– भाइरलबाट ३ जनाको मात्रै मृत्यु भएको हो
गाउँपालिका अध्यक्ष भन्छन्– जिल्ला स्वास्थ्यले झूटो विवरण दियो
भीमबहादुर सिंह

जाजरकोट — तीन सातायता जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल ज्वरोले १३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले मंगलबार जुनीचाँदे ३, रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारी र २ नम्बर वडाका २ वर्षीय नवीन नाथको ज्यान गएको छ । 

भाइरलले थप २ को मृत्यु

यसअघि जुनीचाँदे २ का १० दिने शिशु मनोज तिरुवा, ३ महिनाकी रेबना नाथ, १ महिनाका धीरेन्द्र शाही, ७० वर्षीया आइती तिरुवा, ५५ वर्षीया धनसरा नाथ, ७९ वर्षीय शतरूप शाही, १ महिने बालक खडक परियार, २ हप्ते शिशु रमेश शाही, खडकबहादुर शाहीका छोरा ७ दिने नाम नखुलेका शिशु र ३ नम्बर वडाका ५४ वर्षीय करसिंह टमटा र वडा ५ की ६५ वर्षीय कालु तिरुवाको मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपाली भने भाइरलका कारण जुनीचाँदेमा ३ जनाको मात्र मृत्यु भएको बताउँछन् । अन्य १० जनाको दम, पखाला, निमोनियाँ, छातीको इन्फेक्सनलगायत कारण मृत्यु भएको उनले बताए । ज्वरोको लक्षण नदेखिए भाइरलको बिरामी हुन नसक्ने उनको भनाइ छ तर जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी भने ३ सातायता मृत्यु भएका सबै भाइरल ज्वरोकै बिरामी भएको बताउँछन् ।

जिल्ला स्वास्थ्यले झूटो विवरण सार्वजनिक गर्ने गरेको उनको आरोप छ । कार्यालयले भाइरल रोग कुन प्रकृतिको भन्नेसमेत पत्ता लगाउन नसकेको अध्यक्ष केसीले बताए । जुनीचाँदेमा फैलिएको भाइरल नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । उनका

अनुसार जुनीचाँदेका घरैपिच्छे भाइरलका बिरामी छन् ।

बुधबारसम्म जुनीचाँदेमा १ हजार २ सय बिरामीको उपचार भएको छ । उपचारमा आएका मध्ये ३० प्रतिशतलाई रुघाखोकी र ज्वरोको समस्या भएको डा. पवन शाक्यले बताए । बिरामीका घरघरमा पुगेर उपचार गरिएको डा. शाक्यले बताए । भाइरल रोग पूर्ण नियन्त्रणमा नआएको तर कम भएको उनले बताए । डा. शाक्यसहित २ मेडिकल अधिकृत र १३ जना स्वास्थ्यकर्मी रोग प्रभावित क्षेत्रमा खटिएका छन् । भाइरल कुन प्रकृतिको हो भन्ने पहिचान गर्न बिरामीको खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा टेकुको प्रयोगशाला पठाएको डा. शाक्यले बताए । जुनीचाँदेमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्नेजस्ता लक्षणका बिरामी रहेको उनले बताए । उनका अनुसार चिसोका कारण मौसमी रुघाखोकी फैलिएको हो ।

जिल्ला स्वास्थ्यले रोग प्रभावित क्षेत्रमा औषधि आपूर्ति सहज गर्न छेडागार नगरपालिकाको सुवानाउलीमा औषधिको बफरस्टक गरेको छ । यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थालाई रोग प्रभावित क्षेत्र जुनीचाँदेका स्थानीयका लागि न्यानो कपडालगायत सामग्री सहयोग गर्न आग्रह गरेको छ । समितिको बुधबार बसेको बैठकले जाडाका कारण भाइरल फैलिएको ठहर गर्दै बिरामीलाई न्यानो सामग्री वितरण गरेर सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । समितिले रोग प्रभावित क्षेत्रको भैरव मावि, दुर्गा प्रावि र आदर्श मावि लुहादहमा अस्थायी क्याम्प सञ्चालन गरेर बिरामीको उपचार व्यवस्था मिलाउने निर्णय गरेको प्रजिअ शाहीले बताए ।

प्रकाशित : पुस २७, २०७४ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?