कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सत्ता, शक्ति र धम्कीबाट प्रेसलाई नियन्त्रण गर्न नखोज’

काठमाडौँ — नेपाल मिडिया सोसाइटीले शक्ति, सत्ता र धाक–धम्कीबाट प्रेसलाई नियन्त्रण गर्न खोज्ने प्रवृत्ति हावी हुँदै गएकामा चिन्ता व्यक्त गर्दै त्यसको सशक्त सामना गर्ने जनाएको छ । सोसाइटीले जनतालाई सुसूचित गर्न र बेथितिलाई बाहिर ल्याउन नेपालका मिडियाले दृढतापूर्वक कलम चलाइरहने उद्घोषसमेत गरेको छ । 

‘सत्ता, शक्ति र धम्कीबाट प्रेसलाई नियन्त्रण गर्न नखोज’

मिडिया सोसाइटीले बुधबार विज्ञप्ति जारी गरी लोकतान्त्रिक मूल्यमान्यता र आदर्श पालना गर्ने शपथ खाएको सरकार र सरकारी निकायहरूलाई त्यसखालको प्रेसविरोधी तत्त्व र तिनका क्रियाकलापमाथि गम्भीरतापूर्वक छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनसमेत आग्रह गरेको छ ।

‘लोकतान्त्रिक खुला समाजको प्रमुख आधारस्तम्भ स्वतन्त्र प्रेस हो । प्रेसले राजनीतिक, सामाजिक तथा आर्थिकलगायत विसंगति र विकृतिलाई रोक्न सत्ता र शक्तिको अभ्यास गर्नेहरूलाई खबरदारी गर्छ भने जनतालाई सार्वभौमिक नागरिक अधिकारको उपभोग गर्दै स्वच्छ समाज निर्माणमा सहभागी हुन प्रेरित गर्छ,’ सोसाइटीले विज्ञप्तिमा भनेको छ, ‘जनतालाई सुसूचित गर्नु प्रेसको मुख्य कर्तव्य र दायित्व हो । अन्तर्राष्ट्रिय मान्यता, प्रचलन र लोकतान्त्रिक संविधानले प्रदत्त गरेको दायित्व बहनमा प्रेस चुक्दैन । प्रेसले जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्दागर्दै पनि समाचार वा विश्लेषणप्रति विधिसम्मत तरिकाले कसैले पनि असहमति व्यक्त गर्ने वा कानुनी रूपमा चुनौती दिने कुुरालाई उत्तिकै सम्मान गरिनुपर्छ भन्नेमा नेपाल मिडिया सोसाइटी दृढ छ ।’

विज्ञप्तिमा कुनै स्वार्थ समूह वा राजनीतिक आवरणको संरक्षणमा देशलाई घात गर्ने, जनताको सुसूचित हुने अधिकार कुण्ठित गर्ने तत्त्वले प्रेसलाई त्रास, दबाब, धाक, धम्की र आपराधिक हमला हुने गरेका विश्वव्यापी घटनाप्रति मिडिया सोसाइटी सचेत मात्र होइन, पूर्ण रूपमा अवगतसमेत रहेको उल्लेख छ । ‘नेपालका हरेक राजनीतिक तथा आर्थिक विकृति र विंसगतिको भन्डाफोर गरेर जनतालाई सुसूचित मात्र होइन कि लोकतान्त्रिक व्यवस्थाको बहाल तथा जनताका अधिकार अविच्छिन्न प्रयोग योग्य बनाउने काममा सबभन्दा अग्रणी स्थानमा नेपाली प्रेस नै छ । यद्यपि नेपाली प्रेसलाई धम्की, दबाब र स्वनियन्त्रणका बाटामा पुर्‍याउन विभिन्न स्वार्थ समूहले निरन्तर आक्रमण गर्दै आएका छन्,’ मिडिया सोसाइटीका तर्फबाट अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा छ ।

‘लोकतान्त्रिक दिशामा अग्रसर भइरहेको नेपाली समाजको प्राणवायुका रूपमा रहेको प्रेसलाई दुरुपयोग वा नियन्त्रण गर्ने कुनै विषय सह्य नभएको’ उल्लेख गर्दै सोसाइटीले भनेको छ, ‘मिडियामा समाचार कसरी बन्छ, कस्तो कुरा प्रकाशन र प्रसारण हुन्छ भन्नेमा सबभन्दा बढी जानकार र सचेत नेपाल मिडिया सोसाइटी नै छ ।’

निरंकुशताविरुद्धको आन्दोलनमा नेपाली प्रेसले झेलेको यातना, संविधान निर्माण क्रममा र संक्रमणकाल लम्ब्याउन चाहने तत्त्वहरूको प्रेसप्रतिको वैरभाव, बहुचर्चित लोकमान प्रकरण, राजस्व छली र छलाउन गरिएका प्रपञ्चका पात्रको प्रेसविरोधी हर्कत स्मरण गर्दै सोसाइटीले भनेको छ, ‘आयल निगम जग्गा

खरिद प्रकरणमा गरिएको प्रेसविरोधी क्रियाकलाप र दबाब केही उल्लेखनीय प्रेसको नैसर्गिक कर्तव्य र दायित्वबाट च्युत गर्न गरिएका कुत्सित क्रियाकलापसमेत ताजै छन् ।’

सोसाइटीले केही समयदेखि नेपालमा विदेशी लगानी र मनी लौन्डरिङको विषय एउटा जटिल राजनीतिक प्रकरण र नेपाली प्रेसको सरोकारको विषय बन्दै आएको उल्लेख गरेको छ । ‘केही स्वार्थ समूह र व्यवसायीहरूले स्रोत नखुलेका विदेशी कम्पनीबाट नेपाली कम्पनीका नाममा ऋण लिने र फेरि ऋण तिर्ने नाममा विदेशमै रकम पठाउने कोसिस भएका समाचार बन्दै आएका छन्,’ सोसाइटीले विज्ञप्तिमा भनेको छ, ‘मनी लौन्डरिङसम्बन्धी अन्तर्राष्ट्रिय संस्था र नियामक निकायहरूले नेपाललाई लगातार चेतावनी दिइरहेका छन् । ब्रिटिस भर्जिन आइल्यान्डलगायत ट्याक्स हेभन मानिने मुलुकबाट नेपाली व्यक्तिले कम्पनी खोल्ने र त्यहींबाट आफ्नै कम्पनीमा ऋणका नाममा रकम भित्र्याउने गरिएको कोसिसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण विभागको छानबिनसम्बन्धी प्रतिवेदनका आधारमा कान्तिपुर दैनिकमा समाचार प्रकाशन भएको थियो । प्रतिवेदनमा आधारित उक्त समाचारमा उल्लेख भएको विदेशी रकम नेपाल भित्र्याउन खोज्ने व्यक्तिले नेपाली प्रेसलाई धम्क्याउने शैलीमा जिल्ला प्रशासन कार्यालयमा कान्तिपुर दैनिकका प्रकाशकबाट जिउधनको सुरक्षा गरिपाऊँ भन्ने जस्तो हास्यास्पद उजुरीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘सञ्चारकर्मी वा प्रकाशक सञ्चालकले समाचारको कुनै पात्र वा कसैमाथि पनि डरत्रास वा धम्की दिने विषय कल्पनाभन्दा बाहिरको हो । धम्की दिएको भए त्यसको कुनै न कुनै प्रमाण जरुरी पर्छ’ भन्दै सोसाइटीले बिनाप्रमाण वा मनगढन्ते रूपमा कसैले कसैलाई अझ त्यसमाथि मिडिया सञ्चालकमाथि लाञ्छना लाउनु भनेको सम्बन्धित उजुरीकर्तामा राष्ट्रिय अर्थतन्त्रमाथि नै खेल्न खोज्ने पक्षले नै धम्की दिएको वा त्यो समूहले कसैमाथि हमला गर्ने मनसाय वा योजना रहेको हुन सक्ने उल्लेख गरेको छ ।

सोसाइटीले प्रहरी र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका विवादास्पद व्यवसायी अजेयराज पराजुली सुमार्गीले जिल्ला प्रशासन कार्यालयमा दिएको जिउधन सुरक्षासम्बन्धी निवदेनले नेपाली प्रेसलाई धम्क्याउने नयाँ प्रपञ्चको सुरुवात गरेको ठहर गरेको छ ।

‘कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाबाट कहिले, कुन माध्यमबाट र कसरी उनीमाथि धम्की दिइएको हो, स्पष्ट गर्नुपर्छ । अन्यथा झूटा उजुरी गर्ने र नेपाली प्रेसलाई सत्ता र शक्तिको प्रयोग गरेर तर्साउन खोज्ने दुष्प्रयत्नलाई निरुत्साहित गर्न कारबाही गरिनुपर्छ,’ सोसाइटीको विज्ञप्तिमा छ ।

‘समाचारका सम्बन्धित पक्षले कानुनी रूपमा चुनौती दिने विषय मिडिया सोसाइटी सदा सम्मान गर्छ,’ विज्ञप्तिमा सोसाइटीले केही समय पहिले कथित समाचारको स्रोतको बहानाबाजीमा अनलाइनका केही पत्रकारमाथि गरिएका अभद्र व्यवहार, प्रहरीबाट भएका अमर्यादित पत्राचार तथा हत्कण्ठा तत्काल रोक्नसमेत माग गरेको छ ।

प्रकाशित : पुस २७, २०७४ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?