कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाले पुराना हेलिकप्टर नलिने

काठमाडौँ — नेपाली सेनाले कुनै मुलुक वा संस्थाले उपहारस्वरूप दिने रिकन्डिसन (पुराना) हेलिकप्टर/जहाज तथा हतियार सजिलै स्वीकार नगर्ने भएको छ । सेनाले यसबारेमा सरकारलाई समेत जानकारी गराइसकेको छ ।

सेनाले पुराना हेलिकप्टर नलिने

बेलायतले सन् २००३ मा उपहारस्वरूप दिएका दुई एमआई १७ हेलिकप्टर बिग्रिएपछि बनाउन समस्या परेको स्मरण गर्दै सेनाले यस्तो जानकारी सरकारलाई दिएको हो । सेनाले कुनै मुलुकबाट नयाँजस्तै भनिएका कुनै पनि यस्ता जहाज खरिद नगर्ने स्पष्ट सन्देश सरकारलाई दिएको छ ।


बेलायतले दिएका दुई हेलिकप्टरमध्ये एउटा दुर्घटनामा पर्‍यो तर त्यो हेलिकप्टरको दर्तासमेत नहुँदा कम्पनीले बनाउन अस्वीकार गरेको सेना उच्च स्रोतले बतायो । पछि नेपाली सेना आफैंले सामान खरिद गरेर बनाउनुपरेको र अन्य स्थानमा महँगोमा मर्मत गर्नुपरेको सेनाले जनाएको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले पनि सन् २००३ को मार्चमा ल्याइएको हेलिकप्टर अहिले ‘लिलामी’ मा राख्नुपरेको जनाएको छ । निकै महँगो मर्मत खर्च पर्ने भएपछि यसलाई न्यूनतम रकम राख्दै लिलामीमा राखेको हो । १० वर्ष पनि राम्रोसँग चलाउन नसकिएपछि सेनाले यस्ता रिकन्डिसन पुराना हेलिकप्टरको विकल्प खोजेको हो ।


प्रधानसेनापति राजेन्द्र क्षत्रीले ‘रिकन्डिसन’ उपकरणले समस्या पर्ने जानकारी राजनीतिक नेतृत्वलाई दिँदै आएको अधिकारीहरूले जनाएका छन् । उनले गत असारमा बेलायतको औपचारिक भ्रमणका क्रममा पनि बेलायती सहयोगमा नेपालमा रहेको हेलिकप्टर कम्पनीमा दर्ता नहुँदा मर्मतमा समस्या आएको जनाएका थिए । बेलायतले २००३ पछि यस्तो सहयोग

गरेको छैन ।


यस्ता हेलिकप्टरहरू सीधा खरिद नगरी विक्रेताबाट किन्दा समस्या परेको हुन सक्ने सैन्य अधिकारीहरूको भनाइ छ । नेपाललाई बेलायतले त्यतिबेला दुई एमआई–१७ र दुई आइल्यान्डर्स दिएको थियो । बेलायतले दिएको मात्र नभई भारतले दिएको हेलिकप्टर पनि त्यस्तै छ जसले गर्दा त्यसलाई पनि सेनाले लिलाम बढाबढमा बिक्री गर्न

लागेको छ । सेनाले उक्त हेलिकप्टर बिक्रीका लागि अफ्रिकी मुलुकमा लबिइङ गरेको समेत उच्च स्रोतले बतायो । अफ्रिकी मुलुकमा रहेका नेपाली सेनाले पनि आफ्नो

सेनासँग यस्तो हेलिकप्टर रहेको भन्दै औपचारिक जानकारी दिइरहेको छ ।


अमेरिकी जहाज छिट्टै

नेपाललाई अमेरिकाले उपलब्ध गराउने चार जहाज आगामी केही महिनादेखि नेपाल भित्रनेछन् । ती सबै नेपाली सेनाको ‘अर्डर’ मै आउन लागेका हुन् । सन् २०१७ को अन्त्यसम्ममा आइपुग्ने भनिए पनि कम्पनीमा निर्माण प्रक्रियाले केही समय लम्बिएको हो । सबै कागजी प्रक्रिया पूरा भएको र अब छिट्टै आउने नेपाली सेनाले जनाएको छ ।


सेनाले हेलिकप्टर मर्मत नभएकोबारे बेलायतलाई जानकारी दिएको थियो । उनीहरूले राम्रो चालु हालतमा रहेको हेलिकप्टर दिएको भए पनि कम्पनीसँग सीधा खरिद नगरेको वा मर्मत गर्दा कम्पनीको नियम बेवास्ता गरेका कारण दर्ता नभएको हेलिकप्टर नेपालमा

आइपुगेको हो । उडाउन र अन्य इन्जिनियरिङ पार्टमा समस्या नभए पनि त्यस्ता हेलिकप्टरमा निकै समस्या हुने अधिकारीहरूले बताए । नेपाली सेनाले काम नलाग्ने अवस्थामा रहेका हेलिकप्टर र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया निकै अघिदेखि बढाएको हो । सेनाको हवाई निर्देशनालयले करिब ६६ करोड न्यूनतम मूल्य तय गरेर बोलकबोलमा लिलाम अघि बढाएको सूचना सार्वजनिक भइसकेको छ ।


सेनाले आफूसँग रहेका दुई एमआई १७, दुई सुपर पुमा, चिताह, जहाजका साथै त्यसका पार्टपुर्जा लिलाम गर्ने सूचना निकै अगाडि जारी गरेको हो । उपहारमा आएका र विभिन्न समयमा आफंैले टेन्डर आह्वान गरेर खरिद गरेका ती हेलिकप्टर लिलामीमा राखिएको हो । भारत सरकारसँग सैनिक सहयोगअन्तर्गत सहुलियतमा लिइएका हेलिकप्टरसमेत यसमध्ये छन् ।

प्रकाशित : पुस २८, २०७४ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?