जाजरकोट भाइरल प्रकोप नियन्त्रणमा सधैं ढिलाइ

भीमबहादुर सिंह

जाजरकोट — पुस पहिलो सातादेखि फैलिएको भाइरल ज्वरो तीन सातासम्म नियन्त्रणमा आउन नसक्दा १३ जनाको ज्यान गइसकेको छ भने २ हजार बिरामी छन् । आठ वर्षअघिको झाडापखाला र हैजाको महामारी होस् वा दुई वर्षअघिको मौसमी रुघाखोकी तथा स्वाइन फ्लु, स्वास्थ्य निकायले समयमै प्रभावकारी नियन्त्रण गर्न नसक्दा जाजरकोटले बर्सेनि ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । 

भाइरलबाट थला परेपछि बाटोमै पल्टिएका जुनीचाँदे १, बडकुलेका एक बालक ।

सरसफाइको कमी वा रोगप्रतिको लापरबाहीले दुर्गम गाउँबस्तीमा बिरामी पर्नुलाई सामान्य मान्न सकिएला । तर, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले बेलैमा नियन्त्रण गर्न नसक्दा जाजरकोटमा सामान्य रोग फैलिएर प्रकोपको रूप लिने गरेको छ । त्यसले ठूलो मानवीय क्षतिसमेत भइरहेको छ ।
२०६६ सालमा फैलिएको झाडापखाला तथा हैजाको महामारी पूर्ण नियन्त्रणमा आउन झन्डै ६ महिना लागेको थियो । सुरुमा पखालाका रूपमा हेरिएको रोग फैलिँदै महामारी बनेपछि हैजा भएको पत्ता लागेको थियो । जसका कारण ३ सय ५० को ज्यान गयो भने झन्डै ३० हजार बिरामी परे ।
दुई वर्षअघि ०७२ सालमा फैलिएको मौसमी रुघाखोकीको प्रकोप बढेर स्वाइन फ्लुको रूप लियो । दुई महिनासम्म फैलिएको स्वाइन फ्लुको प्रकोपमा २७ जनाको ज्यान गयो भने झन्डै ५ हजार बिरामी परे ।
गत पुस पहिलो सातादेखि जुनीचाँदे १, २, ३ र ११ वडामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । प्रकोप फैलिएको तीन साता बित्दा पनि नियन्त्रणमा आउन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग प्रभावित क्षेत्रमा भाइरलबाट बिरामी पर्ने क्रम बढदो छ । जुनीचाँदेमा भाइरलका बिरामी घरघरमा थलिएका छन् ।
भौगोलिक विकटता, सूचना तथा सञ्चारको समस्या, स्रोत साधनको कमीलगायत कारण दुर्गम गाउ‘मा फैलिएका प्रकोप नियन्त्रणमा आउन ढिलाइ हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘रोग प्रभावित क्षेत्रमा चेतनाको कमी छ । सरसफाइ अभाव, दूषित पानीको प्रयोग र पोसिलो खानेकुराको अभावले रोग नियन्त्रणमा समस्या भएको हो,’ उनले भने । बिरामीको स्वास्थ्य सेवाप्रति विश्वासनहुनुले धामीझाँक्रीको भर पर्नु पनि प्रकोप नियन्त्रणमा बाधक रहेको उनले बताए ।
जाजरकोटका नागरिक अगुवा भने दुर्गम गाउँमा फैलिएको प्रकोप लम्बिनुमा स्वास्थ्य निकायको ढिलासुस्ती प्रमुख कारक रहेको बताउँछन् । रोग फैलिएको सूचना सम्बन्धित निकायमा आइपुग्नै दुई साता लाग्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । ‘सूचना प्रवाहका साथै माथिल्लो निकायको निर्देशन आउँदासम्म हप्तौं बित्ने हुनाले प्रभावित क्षेत्रका बिरामीले उपचार नपाई ज्यान गुमाउनुपर्छ,’ शाहले भने ।
जाजरकोटभन्दा विकट र पिछडिएका जिल्लामा तत्काल रोग नियन्त्रणमा आउने तर यहाँ एउटै समस्या दोहोरिइरहेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जाजरकोट खुला दिसामुक्त घोषणा भइसकेको जिल्ला हो । त्यस्तै, १५ वर्षमाथि उमेरका ९५ प्रतिशत जनसंख्या साक्षर छन् । त्यसैले पटक–पटक प्रकोप नियन्त्रणमा हम्मेहम्मे हुनुुलाई गरिबी, चेतना र सरसफाइसँग मात्र जोड्नु सान्दर्भिक नहुने शाह बताउँछन् ।
जनसंख्याको अनुपातमा स्वास्थ्य संस्था न्यून छन् । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मी सम्बद्ध संस्थामा जाँदैनन् । विशेषज्ञ चिकित्सा सेवा छैन । त्यसैले रोगको संक्रमण फैलिनासाथ तत्कालै स्वास्थ्यकर्मी परिचालन हुने स्थिति नभएको स्वास्थ्य स्रोत बताउँछ । रोग फैलिएको २/३ दिनमैऔषधि उपचारको व्यवस्था नहुने गर्दा महामारी नियन्त्रणमा ढिलाइ भएको हो ।
जाजरकोटका अधिकांश स्थानीय सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचबाहिर छन् । रोग प्रभावित क्षेत्रबाट मृत्युको सूचना नआएसम्म माथिल्लो निकायले स्वास्थ्यकर्मी र औषधि पठाउँदैनन् । जुनीचाँदेमा फैलिएको भाइरल कुन जीवाणुका कारण भएको भन्नेसमेत पत्ता लगाउन २ हप्ता कुनुपर्ने अवस्था छ । रोग फैलिन नदिन र फैलिएपछि पनि नियन्त्रणका लागि उच्च सतर्कता नअपनाउँदा पटक–पटक महामारीको सास्ती खेप्नुपरेको स्थानीय अगुवा बताउँछन् । भाइरल फैलिएको २ सातापछि मात्र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमापुगेका थिए ।
तीन दिनअघि बिरामीको खकार, सिंगानलगायत नमुना काठमाडौंस्थित ल्याब पठाइएको स्वास्थ्य प्रमुख नेपालीले बताए । ७२ घण्टापछि मात्र नमुना परीक्षणको प्रतिवेदन आउने र त्यसैअनुसार बिरामीको उपचार रणनीति बनाइने उनले जनाए । औषधि खरिदका लागि चालु आर्थिक वर्षका लागि ५ लाख मात्र बजेट भएको उनले बताए । न्यून बजेटका कारण औषधि अभाव हुने गरेको उनले सुनाए । जुनीचाँदेमा फैलिएको भाइरलका बिरामीलाई सञ्चो हुन कम्तीमा १० दिन लाग्ने उनले बताए ।
यसैबीच जिल्लामा क्रियाशील नागरिक संगठनहरूले शुक्रबार जुनीचाँदेमा फैलिएको भाइरलको प्रकोपलाई अविलम्ब नियन्त्रणका लागि सामूहिक अपिल गरेका छन् । नेपाल पत्रकार महासंघ, गैसस महासंघ, सुशासन परियोजना, सुन्दर नेपाल, इन्सेकलगायत संगठनले विज्ञप्तिमार्फत अपिल गरेका हुन् । उनीहरूले जुनीचाँदेमा फैलिएको भाइरल नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनको मागसमेत गरेका छन् ।
विशेषज्ञ चिकित्सकद्वारा उपचार सुरु
विशेषज्ञ चिकित्सकद्वारा शुक्रबारदेखि जुनीचाँदेमा फैलिएको भाइरलका बिरामीको उपचार सुरु भएको छ । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाबाट आएका बाल रोग विशेषज्ञ डा. नम्रता सिन्दानको टोलीले जुनीचाँदे १, बडकुलेमा बिरामीको उपचार सुरु गरेको हो ।
बडकुलेमा डा. सिन्दान नेतृत्वमा दुई मेडिकल अधिकृतसहित आएको ६ जनाको टोलीले सय जना बिरामीको उपचार गरेको छ । उपचारमा आएका सबै सामान्य मौसमी रुघाखोकीका बिरामी भएको उनले बताइन्् । कडा खालको भाइरलको बिरामी नआएको उनले सुनाइन् । जुनीचाँदेमा बिरामी घटदै गएको उनले बताइन् । शुक्रबार त्यहाँ २ सय बिरामीको उपचार गरिएको थियो । यसअघि १ हजार ५ सय बिरामीको उपचार भइसकेको छ । त्यहाँ ५ चिकित्सकसहित २१ स्वास्थ्यकर्मी परिचालित छन् । जुनीचाँदेको भैरव मावि, बडकुले र डाडाकोट गरी ३ स्थानमा अस्थायी क्याम्प स्थापना गरेर उपचार गरिएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

चिसोले एकै गाउँका ५ को मृत्यु

अर्जुन शाह

बाजुरा — केही दिनयता अत्यधिक चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जिल्लाको विकट जगन्नाथ गाउ‘पालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ । 

हुनीका वडाध्यक्ष कर्णबहादुर बिष्टका अनुसार मृत्यु हुनेमा ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्ट छन् । चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघाज्वरोका बिरामी रहेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले बताए ।
रुघाज्वरोले सिकिस्त भएर मृत्यु भएकाहरू भाइरल संक्रमणका कारण मृत्यु भएको अनुमान गरिए पनि कारण यकिन भइनसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । ‘भाइरल फैलिएको भन्ने अनुमानसम्म भए पनि पुष्टि भएको छैन,’ कुँवरले भने, ‘भाइरल भए/नभएको परीक्षणका लागि नमुना केन्द्रमा पठाएका छौं ।’ चिसो बढेका कारण श्वासप्रश्वास लगायत रोगका बिरामी भने चपेटामा परेको देखिएको उनले बताए । बढी संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित रहेको वडाध्यक्ष बिष्टले जानकारी दिए ।
भाइरल भए/नभएको यकिन गर्न १२ जना बिरामीको नमुना परीक्षणका लागि एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । बिरामीको अवस्था, लक्षणलगायत विषयमा महामारी तथा रोग नियन्त्रण महाशाखासँग समेत नियमित समन्वय भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।
रोग प्रभावित क्षेत्रमा उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी टोली परिचालन गरिएको कार्यालयले जनाएको छ । ‘आवश्यक औषधि तथा चिकित्सकसहितको टोली जगन्नाथमै परिचालित छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने त्यस क्षेत्रका गैरसरकारी निकायका स्वास्थ्यकर्मीलाई समेत जगन्नाथमै केन्द्रित गराएका छौं ।’
जगन्नाथ सदरमुकाम मार्तडीबाट दुई दिन पैदल दूरीमा पर्छ । औषधि अभाव हुन नदिन नेपालगन्ज र क्षेत्रीय मेडिकल स्टोर धनगढीबाट समेत थप औषधि झिकाउने प्रयास भइरहेको डा. विश्वकर्माले बताए । चिसो बढेका कारण जिल्लाका अन्य क्षेत्रमा समेत श्वासप्रश्वास र रुघाखोकी, ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका विभिन्न गाउँमा समेत रुघाज्वरो फैलिएको छ । प्रभावित सबै ठाउँमा औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्