कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिन्ताङमा मारिएकाहरू सहिद घोषित

भिषा काफ्ले

काठमाडौँ — सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पञ्चायतकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 

छिन्ताङमा मारिएकाहरू सहिद घोषित

उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदको शुक्रबारको बैठकले २०३६ सालमा भएको छिन्ताङ घटनामा मारिएकालाई सहिद घोषणा गरी राहत दिने निर्णय गरेको हो ।

छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । हत्याकाण्ड थापाले नै गराएको आरोप कम्युनिस्ट पार्टीहरूले लगाउँदै आएका थिए । संयोगले थापाकै छोरा सुनीलबहादुरले उनीहरूलाई सहिद घोषणा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । सुनीलबहादुरले संविधानसभाका दुवै चुनावमा छिन्ताङमा प्रचारप्रसार गर्दा घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्ने आश्वासन दिएका थिए ।

‘मैले छिन्ताङ पुगेर भोट माग्दै गर्दा सहिद घोषणामा पहल गर्छु भनेको थिएँ । भनेको पूरा हुँदा मलाई गौरव लागेको छ,’ मन्त्री थापाले कान्तिपुरसित भने । कम्युनिस्ट पार्टीहरूले छिन्ताङ घटनालाई हत्याकाण्डको संज्ञा दिने गरेका थिए । मुलुकमा ६ जना कम्युनिस्ट प्रधानमन्त्री हुँदा पनि उक्त घटनामा मारिएका कार्यकर्तालाई सहिद घोषणा गरिएको थिएन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको उक्त निर्णयको स्वागत गर्दै पञ्चायतविरुद्ध लोकतन्त्रको पक्षमा लाग्दा सहादत हुने सबैलाई सहिद घोषणा गर्न माग गरे ।

सहिद घोषणा भएकामा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेसलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राई छन् ।

छिन्ताङ हत्याकाण्ड हुँदा प्रधानपञ्च रहेका गोविन्द बालिङलाई समेत मन्त्रिपरिषद्ले सहिद घोषणा गरेको छ । माओवादी द्वन्द्वकालमा माओवादीबाट मारिएका चार जना पूर्वपञ्च र एक जना राप्रपा कार्यकर्तालाई पनि सहिद घोषणा गरिएको हो ।

माओवादीबाट हत्या गरिएका तत्कालीन बेलाहारा गाविसका अध्यक्ष गंगा जोशी, तत्कालीन मुगा गाविसका रामजी थापा, राजन भट्टराई र तत्कालीन भीरगाउँ गाविसका दीपक दाहाल पनि सहिद घोषणा भएका छन् ।

प्रकाशित : पुस २९, २०७४ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?