कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवाको छालासहित तीन युवक पक्राउ

आश गुरुङ

लमजुङ — प्रतिबन्धित चितुवाको छालासहित प्रहरीले तीन युवकलाई पक्रेको छ । बेंसीसहर नगरपालिका ९ झिंगेखोलाका एक होटलको कोठामा लुकाईछिपाई राखिएको अवस्थामा चितुवाको छालासहित युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चितुवाको छालासहित तीन युवक पक्राउ

चितुवाको छाला लुकाइछिपाइ राखिएको छ भनी सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा चितुवाको छालासंगै तीन युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक बुद्धिसागर पुरीले बताए ।


उनका अनुसार शुक्रबार राति १० बजेको समयमा चितुवाको छालासहित सुन्दरबजार नगरपालिका वडा नं. ५ तार्कुका २७ वर्षीय विनोद तामाङ, सुन्दबजार नगरपालिका वडा नं. ४ का २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका वडा नं. ६ का २७ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको हो ।


यी युवकले दोर्दी गाउँपालिकाको विकट गाउँ ताँजे क्षेत्रबाट चितुवाको छाला ल्याएको बताएका प्रहरी स्रोतले बताएको छ । प्रहरीले बरामद गरिएको छाला र पक्राउ गरिएका ३ जनालाई शनिबार सार्वजनिक गर्दै कारबाहीको लागि जिल्ला बन कार्यालयमा बुझाइने जानकारी दिएको छ ।


‘जिल्ला वन कार्यालयका निमित्त प्रमुख एवं सहायक वन अधिकृत बालकृष्ण खनालले प्रहरीले चितुवाको छालासहित ३ युवकलाई समातेको खबर आएको र प्रहरीसँग बुझेपछि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनन्तर्गत मुद्दा चलाइने बताए । उनका अनुसार अभियोग ठहरिएमा अधिकतम एक लाख जरिवाना र १५ वर्ष कैदको ब्यवस्था रहेको उनले बताए ।

प्रकाशित : पुस २९, २०७४ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?