कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रदेश प्रमुख ३ दिनभित्र’

डीआर पन्त

कैलाली — प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् । प्रदेश प्रमुख र राजधानी तोक्न नसकेको आलोचना खेपिरहेका प्रधानमन्त्री देउवाले अहिलेसम्म सहमति प्रयासका कारण ढिलाइ भएको जनाउँदै तीन दिनभित्र दुवै काम हुने बताए ।

‘प्रदेश प्रमुख ३ दिनभित्र’

‘प्रमुख दलहरूको सहमति लिएर प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न खोज्दा ढिलाइ भयो,’ कैलालीको गोदावरीमा बाह्रराशी मकर मेला उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘अब सहमति भए पनि नभए पनि सरकारले ३ दिनभित्र प्रदेश प्रमुख र राजधानी तोक्नेछ ।’

प्रदेश राजधानीबारे सरकारले नभई प्रदेशसभाले निर्णय गर्ने उल्लेख गर्दै देउवाले तत्काललाई भौतिक पूर्वाधार भएको ठाउँमा अस्थायी राजधानी तोकिने जानकारी दिए ।

आफू सत्ता लम्ब्याउने खेलमा लागेको विपक्षीको आलोचनालाई उनले अर्थहीन भन्दै भ्रम फैलाउन यस्तो प्रचार गरिएको बताए । ‘निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद् गठन भएको छैन, कसलाई सत्ता सुम्पने ?’ प्रधानमन्त्री देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुँदैन ।’ देउवाले थपे, ‘को हो प्रधानमन्त्री हुने ? कानुनसम्मत रूपमा अगाडि आउनुपर्‍यो, म एक मिनेटमै सत्ता छाड्न तयार छु ।’

कैलाली–५ का सांसद नारदमुनी रानाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरणको बाटो खोलिदिनुपर्ने आग्रह गरेपछि देउवाले भने, ‘जनतालाई भ्रममा राख्न कानुनी प्रक्रिया नै नबुझीकन आरोप लगाउनुको कुनै अर्थ नरहेको बताए ।’ राष्ट्रिय सभा निर्वाचनपछि संसद्ले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए ।

कैलालीको गोदावरी तीर्थस्थलमा आयोजित सभामा प्रधानमन्त्रीले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका क्षेत्रहरूको विकासका लागि आफ्नो सदैव प्रयत्न रहने प्रतिबद्धता गरे । ‘गोदावरी राष्ट्रिय तीर्थ हो,’ उनले भने, ‘यसको विकासका लागि सक्दो प्रयास गर्नेछु ।’

त्यसअघि गोदावरी धाम विकास समितिका अध्यक्ष साहित्यकार पदमराज जोशी, सांसद राना र गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले प्रधानमन्त्रीलाइ गोदावरी धाम विकासका लागि गुरुयोजना बनाएर काम थाल्न आग्रह गरेका थिए ।

गोदावरीमा मकर मेला सुरु

प्रसिद्ध तीर्थस्थल कैलालीको गोदावरी धाममा आइतबारदेखि बाह्रराशी मकर मेला सुरु भएको छ । आइतबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवाले हरेक वर्ष आयोजना हुने मकर मेला उद्घाटन गरे । मेला आयोजनास्थल गोदावरी धाममा श्रीयन्त्र निर्माण, स्नान कुण्ड, मेला मैदान, शिव मन्दिर जाने बाटो निर्माणदेखि सबै तयारी पूरा भएको छ । श्रीयन्त्रमा २ सय ८ कलश स्थापना गरिएको छ भने एकै पटक ५ सय श्रद्धालुले स्नान गर्न सक्ने कुण्ड स्थापना गरिएको छ ।

मेला भर्न आइतबार राति नै हजारौं दर्शनार्थी गोदावरी धाम आइसक्छन् । मसान्तको रात भजनकीर्तन र बिहान गोदावरी नदीमा स्नान गरिन्छ । समितिका अध्यक्ष जोशीले गोदावरी क्षेत्रमा हरेक १२ वर्षमा महाकुम्भ र ६ वर्षमा अर्धकुम्भ आयोजना हुने गरेको बताए । मेला १३ दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : माघ १, २०७४ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?