कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

घरमै पुगेर उपचार

भीमबहादुर सिंह

जाजरकोट — भाइरलका बिरामी स्वास्थ्य संस्था र अस्थायी शिविरमा आउन छाडेका छन् । स्वास्थ्यकर्मीले सोमबारदेखि जुनीचाँदेका घरघरमै पुगेर उपचार थालेका छन् । उनीहरू झोलामा औषधि बोकेर बिरामी खोज्दै गाउँ डुल्न थालेका हुन् । 

घरमै पुगेर उपचार

उपचारका लागि बिरामी अस्थायी शिविरमा नआएपछि स्वास्थ्यकर्मीले भाइरल नियन्त्रण उन्मुख भएको दाबी गरे । मेडिकल अधिकृत लगायतको स्वास्थ्यकर्मी टोली प्रकोप प्रभावित क्षेत्रका घरघरमै पुगेको छ । उनीहरू उपचारका साथै स्वास्थ्य, सरसफाइ र पोषणलगायतका विषयमा जनचेतना जगाउन थालेका छन् ।

५ वर्षमुनिका बालबालिका र ५५ वर्षका माथिका वृद्धवृद्धालाई विशेष निगरानी गर्न घरघरमा पुगेर उपचार गर्न थालेको महामारी फोकल पर्सन कृष्णबहादुर खत्रीले बताए । बिरामी स्वास्थ्य शिविरमा आउन छाडेपछि घरमै पुगेर उपचार गर्न लागेको उनले जनाए । जुनीचाँदेमा उपचारमा खटिएका १३ जना स्वास्थ्यकर्मीको टोलीलाई ४ समूहमा विभाजन गरेर घरदैलो उपचार थालिएको हो ।


जुनीचाँदे १ को बडकुले, काभ्रा, कार्कीगाउँ, २ को भैरवटोल, देशीपाटा, पाल्त, आली, मौगान र ३ को पराले, डाँडाकोट र स्याँला लगायत स्थानमा उपचार टोली खटिएको छ । डा. अमित अज्र्याल लगायत स्वास्थ्यकर्मी टोली घरघरमा पुगिरहेको छ । उपचारका लागि सोमबार जुनीचाँदेका आधा दर्जन टोलका घरदैलोमा पुग्दा ज्वरो तथा रुघाखोकीका १० जना मात्र बिरामी फेला परेको फोकल पर्सन खत्रीले बताए । ती टोलमा अन्य रोगका बिरामी भने ४० जना फेला परेका थिए । ‘गत साताभन्दा बिरामी निकै घटेका छन् । भाइरल इन्फ्लुएन्जा करिबकरिब नियन्त्रणमा आएको छ,’ उनले भने ।


जुनीचाँदेको भाइरल नियन्त्रणमा आएपछि कर्णाली विज्ञान प्रतिष्ठानका डा. नम्रता सिन्दान लगायतको टोली प्रकोप क्षेत्रबाट फर्केको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । भाइरल पूर्णरूपले नियन्त्रणमा आउन अझै ३/४ दिन लाग्ने उनको भनाइ छ ।


‘फाटफुट बिरामीको उपचारका साथै स्वास्थ्य सरसफाइका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मी अबको ५ दिनसम्म प्रभावित क्षेत्रमै रहनेछन्,’ उनले भने । तीन साताअघिदेखि जुनीचाँदेमा फैलिएको भाइरलबाट १४ जनाको मृत्यु भएको थियो । करिब २ हजार प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २, २०७४ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?