कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भ्रष्टाचार बढ्दा मुलुकै असफल हुन सक्छ’

काठमाडौँ — अमेरिकी लेखिका सराह चायेसले भ्रष्टाचारले विश्व सुरक्षामै असर गर्ने बताएकी छन् । अधिकांश भ्रष्टाचार संस्थागत र व्यवस्थित रूपमा हुने गरेको पनि उल्लेख गर्दै उनले राज्यका बलियो निकायले नै यस्तो भ्रष्टाचारलाई संरक्षण गर्ने हुँदा कतिपय मुलुक असफलता र आन्तरिक द्वन्द्वतिर गएको बताइन् ।

‘भ्रष्टाचार बढ्दा मुलुकै असफल हुन सक्छ’

त्यस्तो सहकार्यले आतंककारीलाई समेत सहयोग पुग्ने हुनाले यसमा मुलुकको राज्य संयन्त्र र जनता बढी चनाखो हुनुपर्नेमा पनि उनले जोड दिएकी छन् ।

अस्ट्रेलियन एड, नीति फाउन्डेसन र एसिया फाउन्डेसनले बुधबार गरेको कार्यक्रममा उनले बिचौलिया, उच्चतहका कर्मचारी र राजनीतिक संगठनको अस्वाभाविक उठबसबाट नै ठूला भ्रष्टाचार योजना बन्ने उल्लेख गरिन् । यस्तो प्रवृत्ति खासगरी अल्पविकसित मुलुक र एक दलीय शासन व्यवस्था भएका मुलुकमा बढी रहेको उनको भनाइ छ ।

‘थिभ्स अफ स्टेट’ (राज्यका चोरहरू) नामक पुस्तककी लेखिका उनले मुलुकमा पूर्णत: कानुनी शासन हुनुपर्ने र त्यसका लागि जनता नै जिम्मेवार हुने उल्लेख गर्दै उनले भनिन्, ‘तर, केही फरक दृष्टान्तसमेत रहन्छ । एलिटहरूको सञ्जाल र शक्तिमा बस्नेले गर्ने अर्थतन्त्रको दोहन नै प्रमुख रहेका छन् ।’ कार्यक्रममा अमेरिकी राजदूत अलाइना बी टेप्लिट्ज र अस्ट्रेलियन राजदूत पिटर बडले समेत चायेससँग जिज्ञासा राखेका थिए ।

राजदूत टेप्लिट्जले नेपालमा राजनीतिक स्थायित्वसँगै विकास प्रक्रियामा जाने हुनाले सराहको धारणामा ध्यान दिन सक्नुपर्ने बताइन् । अस्ट्रेलियन राजदूत बडले यस्तो अन्तक्र्रियाले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि सबैलाई जागरुक गराउने बताए ।

अफगानिस्तानको विषयमा केन्द्रित पुस्तकमा उनले मुलुकका नीति निर्माताले नै कसरी माफियासँग सहकार्य गरे र भ्रष्टाचार कुन तहसम्म रहेको छ भन्ने उल्लेख गरेकी छन् । कार्यक्रममा एसिया फाउन्डेसनका प्रमुख जर्ज भर्गिज, आर्थिक सुशासनमा कलम चलाउँदै आएका सुजीव शाक्य, सेरा तामाङलगायतले जिज्ञासा तथा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित : माघ ४, २०७४ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?