कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको जनसंख्या १ अर्ब ३९ करोड

चेतनाथ आचार्य

बेइजिङ — सन् २०१७ को अन्त्यसम्ममा चीनको जनसंख्या १ अर्ब ३९ करोड ८० हजार पुगेको छ । बेइजिङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय तथ्यांक व्यूरोका प्रमुख निङ ची चले यो जानकारी दिएका हुन् ।

चीनको जनसंख्या १ अर्ब ३९ करोड

जनसंख्या नियन्त्रणमा चीनले निकै कडा नीति लिंदै आएको छ । सन् १९७८ देखि लागू गरिएको एक सन्तानको नीति दुई वर्ष अगाडि हटाइएको थियो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार यो संख्यामा हङकङ, मकाउ, ताइवान र विदेशमा रहेका प्रवासी चिनियाँलाई समावेश गरिएको छैन ।


यसैगरी चीनमा गत वर्ष सन् २०१७ मा आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुगेको छ । विगत सातवर्षदेखि निरन्तर घट्दै गएको चिनियाँ वृद्धिदर गत वर्ष चाहिँ बढेको हो । गत वर्ष चीनको कूल गार्हस्थ उत्पादन ८२७ खर्ब चिनियाँ युआन पुगेको छ । यो अघिल्लो वर्ष सन् २०१६ को तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । सन् २०११ पछि पहिलोपटक चीनको वृद्धिदर अघिल्लो वर्षको भन्दा बढेको हो । व्यूरो प्रमुख निङ ची चले पत्रकार सम्मेलनमा बताए अनुसार सन् २०१७ मा चीनको अर्थतन्त्र स्थिर हुँदै अनुमानभन्दा राम्रो भएको हो ।


सन् २०१७ मा चिनियाँ नागरिकको औसत आम्दानी २५ हजार ९ सय ७४ युआन पुगेको छ । यो अघिल्लो वर्ष सन् २०१६ को तुलनामा ७.३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष चीनले इस्पात र कोइलाको वार्षिक उत्पादन क्षमतालाई घटाउने काम गरेको थियो । वातावरण प्रदूषणलाई नियन्त्रण गर्नका लागि केही उद्योगको उत्पादन क्षमता घटाए पनि आर्थिक वृद्धिमा निकै सकारात्मक भएको बताइएको छ ।


प्रकाशित : माघ ४, २०७४ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?