क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

बालकृष्ण बस्नेत

काठमाडौँ — सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरूलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटाउने भएको छ । केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरूले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । तर, उनीहरूको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ । 

हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रूपमा कार्यरत छन् । उनीहरू नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने वरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ ।
प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन् । उनीहरूको पदलाई प्रदेश सचिव भनिनेछ । ‘प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय सञ्चालन सहजै हुने गरी हामीले गृहकार्य गरेका छौं,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले बिहीबार कान्तिपुरसँग भने ।
सरकारले ७ प्रदेशमा बुधबार नियुक्त गरेका प्रदेश प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्भवत: शुक्रबार शपथ लिनेछन् । त्यसपछि अर्को साताबाट उनीहरू सम्बन्धित प्रदेशमा गई जिम्मेवारी सम्हाल्नेछन् । क्षेत्रीय प्रशासकले मुख्यमन्त्री चयन भएपछि मात्र आफ्नो कार्यालय हेर्ने भएकाले तत्काललाई प्रदेश प्रमुख कार्यालयको कर्मचारी व्यवस्थापन हेर्न भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा रहने २५ कर्मचारीमध्ये प्रमुखले सचिवालयमा राख्ने १२ जना निजी सचिवालयका कर्मचारीसमेत पर्छन् ।
‘क्षेत्रीय प्रशासन कार्यालय मातहतकै कर्मचारी सम्बन्धित प्रदेशमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नभएका प्रदेशमा पनि सहसचिवसहित कर्मचारी खाका तयार छ । सम्भवत: भोलि नै त्यसबारे निर्णय हुनेछ,’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले बिहीबार भने । प्रदेश प्रमुखको कार्यालयमा एक सहसचिव, ४ उपसचिव, ५ शाखा अधिकृत सहितका १३ पद प्रस्तावित छन् । त्यस्तै निजी सचिवालयतर्फ प्रमुख स्वकीय सचिव, सह–स्वकीय सचिव, उप–स्वकीय सचिवसहित १२ जना छन् ।
लामो अडचनपछि बुधबार सरकारले ७ वटा प्रदेशमा अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा त्यसको लिखित जानकारी बुधबारै गराइएको थियो । राष्ट्रपति कार्यालयले बिहीबार प्रदेश प्रमुखहरूको नियुक्ति, संविधानअनुसार उनीहरूको योग्यता, पृष्ठभूमिलगायतमा अध्ययन गरेको छ । ‘सरकारले जस–जसको नाम पठाएको छ, सबैलाई नियुक्त गरी शुक्रबार साँझसम्म शपथ खुवाइसक्ने योजना छ,’ शीतल निवासका एक अधिकारीले कान्तिपुरलाई बताए ।

प्रकाशित : माघ ५, २०७४ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्

केन्द्रीय समितिमा देउवाको कडा आलोचना

पार्टी हारेको छैन भन्नु लाजैमर्दो : गुरुङ
संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भंग गर्नुपर्छ : जोशी 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेतृत्वको गलत निर्णय र कार्यशैलीका कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार व्यहोर्नुपरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको कडा आलोचना भएको छ । 

निर्वाचनपछि पहिलोपटक विहीबार बोलाईएको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरुले सरकार र पार्टी दुवै मोर्चामा नेतृत्व असफल भएको भन्दै पार्टी सभापति देउवाको आलोचना गरेका थिए । देउवा पक्षीय सदस्यहरुले भने नेतृत्वको बचाउ गरेका थिए ।

बरिष्ठ नेता पौडेलले देउवा प्रधानमन्त्री भएका बेला पार्टीलाई ‘नोक्सान’ मात्रै पुग्ने गरेको बताउँदै फेरि सरकारको नेतृत्वको आकांक्षा नराख्न आग्रह गरे । ‘उहाँ (देउवा) को ग्रहदशाले पटक(पटक प्रधानमन्त्री बन्ने तर पार्टीका लागि भने सधै प्रत्यूपादक हुने गरेको छ । ज्योतिषले सातपटक प्रधानमन्त्री हुन्छ भनेका छन् भनेर उहाँले सार्वजनिक रुपमा भन्नुभयो,’ बैठकमा पौडेलले राखेको भनाई उत्धृत गर्दे स्रोतले भन्यो, ‘देउवाजी जतिपटक प्रधानमन्त्री हुनुभयो । त्यतिपटक पार्टीलाई क्षति पुगेको छ । अब यो हुन दिन हुन्न । पार्टीलाई बचाउनु पर्छ ।’

पौडेलले त्यसो भन्दा देउवाले मेरो ग्रहदशाले तपाईले चुनाव हारेको चाहिँ होइन है भन्दै व्यंग्य गरेका थिए । पौडेलले निर्वाचनमा पार्टी पराजित हुनुमा नेतृत्वको भूमिका मुख्य कारण रहेकाले जिम्मेबारी पनि त्यहिँ रुपमा लिनुपर्ने बताए । उनले पार्टी बैचारिक र संगठानात्मक रुपमा पार्टीभित्र आमुल परिवर्तनको आवश्यकता भएको बताएका थिए । पार्टी विधान विपरित केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति बनाईएको भन्दै त्यसको खारेजीको माग पनि पौडेलले राखे । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति केन्द्रीय कार्यसमिति पछिको दोस्रो महत्वपूर्ण निकाय हो भने संसदीय समिति चुनावमा उम्मेदवार चयन गर्ने शक्तिशाली निकाय हो । यी दुवै समितिमा देउवाले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य मनोनित गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले अपबादबाहेक यसअघि समानुपातिक तर्फबाट सुविधा लिईसकेलाई नदोर्‍याउने निर्णय गरेविपरित सभापतिले समानुापतिकमा दोर्‍याएको भन्दै पौडेलले त्यसको पनि विरोध गरे । प्रतिनिधिसभाको समानुपातिकको अन्तिम सूची पठाउँदा कसैलाई पनि नदोर्‍याउन उनले माग गरे ।

देउवाले निर्वाचन समीक्षाका लागि पछि छुट्टै बैठक राख्ने भन्दै बैठकको सुरुमा राष्ट्रियसभाको निर्वाचनको बिषयमा मात्रै छलफल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । देउवाले निर्वाचनका समीक्षाका लागि लामो छलफल आवश्यक रहेको भन्दै राष्ट्रियसभा निर्वाचनपछि छुट्टै बैठक बोलाउने बताएका थिए । बैठकमा पहिलोपटक लिखित एजेण्डा प्रस्तुत गरेका देउवाले सदस्यहरुको आक्रोश मत्थर पार्न महासमिति बैठक बोलाईने भनी आश्वस्त समेत पारेका थिए । तर, देउवा निकट केही केन्द्रीय सदस्यहरु बाहेक बैठकमा कसैले पनि उक्त औपचारिक एजेण्डामा छलफल गरेनन् । अधिकांश सदस्यहरु निर्वाचनमा हारको बिषय उठाएर नेतृत्वको आलोचनामा उत्रिएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचनको हारको बिषयमा गम्भीर छलफल प्रारम्भ भएको बताए । निर्वाचनको लामो समीक्षाका लागि अर्को केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यही बैठकबाट महासमितिको तिथी र स्थान समेत तोकिने उनले बताए ।

बैठकमा नेताहरु चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, प्रदिप पौडेल, कल्याण गुरुङ देउवाप्रति सबभन्दा बढी आक्रमक बनेका थिए । नेतृत्वको असफलताकै कारण निर्वाचनमा पार्टीको हार भएको भन्दै केन्द्रीय सदस्य भण्डारीले नेतृत्वले राजनीतिक भ्रष्ट्राचार गरेको आरोप लगाए । उनले सबै कुरा गुमाईसकेपछि राष्ट्रियसभा निर्वाचनमा गम्भीर हुनुपर्छ भन्नुको कुनै औचित्व नरहेको भन्दै निर्वाचन समीक्षामै आफ्नो समय खर्चिएका थिए । ‘निर्वाचन परिणामले नेतृत्वको असफलता प्रमाणित भईसकेको छ, यसको समीक्षा गरेर अघि बढ्नुपर्छ ।’

बैठकमा केन्द्रीय सदश्य नवीन्द्रराज जोशीले विधान विपरित बनाइएका संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भंग गर्नुपर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय सदस्यहरु धनराज गुरुङ र प्रदीप पौडेलले निर्वाचनमा पार्टीको पराजय नभएको भन्दै सभापति देउवाको बचाउमा उत्रिएका केन्द्रीय सदस्यहरुको कडा प्रतिवाद गरेका थिए । ‘यो निर्वाचनमा कांग्रेसको हार भएको होइन भनेर निष्कर्ष निकाल्न खोजियो भने कांग्रेस पतनको बाटोमा जान्छ,’ पौडेलले भने, ‘समानुपातिक तर्फ पनि कांग्रेस प्रतिस्पर्धी एमालेभन्दा ४५ हजार मतले पछि छ । प्रत्यक्षमा तेस्रो पार्टी छ । पार्टीले नेतृत्व गरेको सरकारका बेला चुनाव हुँदा पनि मुर्धन्य नेताहरु हार्नु भएको छ । यो भन्दा ठुलो पार्टीका लागि क्षति के हुनसक्छ ?’

नेताहरुको विश्वास र परम्पराको आधारमा नभएर विधानको आधारमा पार्टी चलाउनु पर्छ भन्दै पौडेलले थपे, ‘जनवादी नीति बोकेका कम्यूनिष्ट पार्टीको अध्यक्ष भन्दा पनि हाम्रा नेतृत्व स्वच्छाचारी र निरंकुश देखिए ।’ त्यही प्रवृतिका कारण पार्टी कमजोर बनेको उनको तर्क थियो । बैठककमा अधिकांशले संविधान जारी भएपश्चात सुशील कोइरालालाई प्रधानमन्त्रीमा प्रतिस्पर्धा गराउने दिनदेखि नै कांग्रेस ओरालो लागेको बताएका थिए । यो प्रकरणमा कांग्रेसका तत्कालीन सभापति कोइरालाका अतिरिक्त देउवा र पौडेलसमेत जिम्मेबार रहेको उनीहरुको भनाई थियो ।

नेतृत्वको आलोचना गर्नेहरुले बाम गठबन्धनका कारण मात्रै पार्टी पराजय नभएको भन्दै नेतृत्वको गलत कार्यशैलीलाई नै मुख्य जिम्मबार ठर्‍याएका थिए । भारतले लगाएको नाकाबन्दीका बारेमा पार्टी नेतृत्वले बोल्न नसक्नु, लोकमानसिंह कार्कीमाथि लगाईएको महाअभियोगबारे मौन बस्ने तर तत्कालीन प्रधानन्यायाधीश सुशील कार्कीमाथि महाअभियोग लगाउन अग्रसर हुने, गलत व्यक्तिलाई राजदूत नियुक्ति गर्ने, प्रहरी महानीरिक्षक बनाउने प्रकरणमा पार्टी नेतृत्वले अनावश्यक हस्तक्षेप गर्नेलगायतका कार्यले नै सहरी मतदाता भडकएको उनीहरुको तर्क थियो ।

उम्मेदवार चयनमा नेतृत्वको हस्तक्षेप गरी राम्रालाई भन्दा हाम्रालाई च्यापेको, गुटको आधारमा उम्मेदवार चयन भएको जस्ता कारणले आन्तरिक अन्र्तघात बढाएको उनीहरुले बताए । बाम गठबन्धनलाई चिरेर अघि बढ्ने कार्यक्रम र रणनीतिक योजना समेत ल्याउनु नसक्नुलाई नेतृत्वको असफलतासँग जोडै युवा नेताहरुले घुमाउरो शैलीमा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने संकेत गरेका थिए । तर केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दालाई भने कसैले उठाएनन् ।

बैठकमा धनराज गुरुङले नेतृत्वको बचाउन गर्नेलाई लाज नभएको भन्दै अति चाकडीमा नउत्रन आग्रह गरे । उनीभन्दा अघि बोल्ने केन्द्रीय सदस्य महेन्द्र यादवले ०६४ सालको संविधानसभा निर्वाचनमा पनि कांग्रेस दोस्रो भएको भन्दै अहिलेको नेतृत्वले निर्वाचन गराएर सफल भएको तर्क गरेका थिए । उनले पार्टी हारेको नभएर जितेको दावी समेत गरेका थिए ।

‘चाकडीको पनि सीमा हुन्छ । अझै पार्टी जितेको छ भनेर भन्न लाज लाग्दैन ?’ गुरुङले सभापति देउवाप्रति प्रश्न गर्दै भने, ‘तपाईले केन्द्रीय कार्यसमितिलाई ढाँट्नु भएको छ । केन्द्रीय कार्यसमितिले समानुपातिक नदोर्‍याउने भनी निर्णय लिने तर तपाईले यसअघि समानुपातिकमा आईसकेकालाई पुन: राखेर केन्द्रीय कार्यसमितिलाई ढाँट्ने ? यो अधिकार तपाईलाई कसले दियो ?’ उनले निर्वाचनमा पार्टी पराजय हुनुमा नेतृत्वको तदर्थवादी कार्यशैली र गलत निर्णय प्रकृया नै मुख्य जिम्मेबार रहेको बताए ।

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले बुधबार नै सभापतिले प्रदेश प्रमुखमा नियुक्ति दिँदा पञ्चायती पृष्ठभूमिका व्यक्तिलाई पक्षपोषण गरेको भन्दै सभापतिको भूमिकाप्रति नै प्रश्न उठाएका थिए । पार्टीलाई संस्थागत भन्दा एकल र केही व्यक्तिको घेराबाट चलाउन खोजिएको र यसैले पार्टी संगठन कमजोर भएको उनको धारणा थियो । ‘म पनि निर्वाचित सदस्य हुँ, तपाईको (देउवा) कृपाले सदस्य भएको होइन, सिंगो पार्टीलाई एउटा व्यक्ति र दुई चारजनाको घेराबन्दीमा राख्न पाईदैन,’ उनले भने । गुरुङ सभापतिप्रति आक्रमक हुन थालेपछि देउवाले उनलाई समय सिद्धिएको भन्दै बोल्न रोकेका थिए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति देउवाले विधान विपरितको अभ्यास थालेको भन्दै असन्तुष्टी जनाएका थिए । समानुपातिक उम्मेदवार चयन गर्दा संस्थागत छलफल नभई गुटका आधारमा भागबण्डा भएको उनले बताए । विधान विपरितका दुई समिति विघटन गर्न पौडेललगायत उनी पक्षीय केन्द्रीय सदस्यहरुले राखेको माग प्रति केसीले पनि समर्थन गरे ।

देउवाको प्यानलबाट १३ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका केसीले भने, ‘पौडेलजी तपाईले दह्रो खुट्टा टेक्नुहोस् । सभापति सच्चिनुभएन भने मेरो साथ तपाईलाई हुन्छ । सभापतिको गल्ती र कमजोरीको भारी बोक्न म चाहन्नँ ।’ केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य र मीनेन्द्र रिजालले पनि निर्वाचनको गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै निर्वाचनपछि कार्यकर्तालाई उत्साह हुने योजना अघि सार्नुपर्ने बताएका थिए ।

बैठकमा देउवा निकट सदस्यहरुले संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति पौडेलसमेतको सहमतिमा बनेको भन्दै त्यसलाई विघटन गर्न नहुने बताएका थिए । केन्द्रीय सदस्य विमलेन्द्र निधि, प्रकाशरण महत, भिष्म आङदम्बे, एनपी सावद, अतहर कमाल, श्याम घिमिरेलगायत नेताहरुले पार्टी हारको जिम्मेबार सभापतिमात्रै नरहेको भन्दै त्यसको जिम्मेबारी पौडेलले पनि लिनुपर्ने बताएका थिए । साठी चालिस भागबण्डाकै आधारमा उम्मेदवार चयन भएकाले त्यसै आधारमा जिम्मेबारी पनि लिनुपर्ने उनीहरुको तर्क थियो ।

दाङलाई मुकाम नबाइएकोमा बैठक बहिष्कार
केन्द्रीय सदस्य दीपक गिरीले प्रदेश नम्बर ५ को मुकाम दाङलाई नबनाएकोमा विरोध जनाउँदै बैठक बहिष्कार गरेका छन् ।

सरकारले बुधबार मात्रै प्रदेशको मुकाम तोकेको थियो । प्रदेश नम्बर ५ को मुकाम रुपन्देहीलाई तोकेको छ । सभापति देउवाले बोल्नसाथ आफ्नो भनाई राखेर गिरीले बैठक बहिष्कार गरेका थिए । देउवाले भने सपथ लिनका लागि मात्रै स्थान तोकिएको भन्दै बैठकमा बस्न आग्रह गरेका थिए ।

प्रकाशित : माघ ४, २०७४ २०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्