कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

दाङमा तीन दिनदेखि आमहड्ताल, आन्दोलन राजमार्ग केन्द्रीत

आन्दोलनको नेतृत्व राजनीतिक दलहरुले लिए
दुर्गालाल केसी

दाङ — पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै तीन दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ । 

दाङमा तीन दिनदेखि आमहड्ताल, आन्दोलन राजमार्ग केन्द्रीत

आमहड्तालका कारण शुक्रबार पनि बिहानैदेखि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना सञ्चालन हुन सकेका छैनन् । जिल्लाका मुख्य बजार र सडकमा निरन्तर प्रदर्शन भैरहेका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन समेत गरेका छन् ।


दाङ प्रादेशिक राजधानी सरोकार समितिबाट चल्दै आएको आन्दोलनको नेतृत्व बिहिबारदेखि राजजनीतिक दलहरुले गरेका छन् । केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दलहरु एकजुट भएर आन्दोलनमा होमिएका छन् ।


एमाले अध्यक्ष टिकाराम खड्का संयोजक, कांग्रेस सभापति किर्तीबहादुर खड्का सहसंयोजक र माओवादी केन्द्रका सहईञ्चार्ज निर्मल आचार्य सचिव रहेको सर्वदलीय संघर्ष समिति गठन गरिएको छ । अन्य राजनीतिक दल र पेशागत संघसंगठनहरु सदस्य रहेका छन् ।


समितिले आन्दोलनलाई राजमार्ग केन्द्रीत बनाएको छ । लामो समय अलपत्र परेका यात्रुलाई राती गन्तव्यमा जान दिएको र आज बिहान ४ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको संघर्ष समितिका सचिव आचार्यले जानकारी दिए । अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्ड ठप्प भएको छ ।


संघर्ष समितिले घोराहीमा हुने राष्ट्रियसभा निर्वाचन अवरोध गर्ने बताएको छ । अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद् र जिल्लाका उच्च तहका नेताहरुप्रति आक्रोशित भएका छन् ।


जनताको आक्रोश छल्न केही नेताले प्रेस विज्ञप्ती जारी गरेर सरकारी निर्णयको विरोध गरेका छन् भने केही आन्दोलनमै सरिक भएका छन् । माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले प्रेस विज्ञप्ती जारी गरी सरकारले विवेक सम्मत तरिकाले निर्णय गर्न नसकेको भन्दै आपत्ती जनाएका छन् । एमाले स्थायी समिति सदस्य एवं दाङ क्षेत्र नं. २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित शंकर पोख्रेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ती दिंदै आफैले बनाएको कार्यदलको सिफारिश विपरितका ठाउँलाई प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् ।


कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सिचाई मन्त्री दिपक गिरीले बिहीबारको कांग्रेस केन्द्रीय समितिको बैठक बहिस्कार गरेको बताएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबाले दाङलाई अस्थायी मुकाम नतोकेकोमा असन्तुष्टी व्यक्त गर्दै बैठक बहिस्कार गरेको उनले बताए । कांग्रेसबाट जिल्लामा एक्लै प्रदेशसभा सदस्यमा निर्वाचित श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि सरकारको निर्णयप्रति असन्तुष्टी व्यक्त गर्दै आन्दोलनको समर्थन गरेका छन् ।


जिल्लाबाट निर्वाचित अन्य सांसद् एवं पूर्व सांसद्हरुले पनि प्रेस विज्ञप्ती जारी गरी सरकारी निर्णयको विरोध र आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित : माघ ५, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?