कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोटमा भाइरल ज्वरो: बिरामीको नमुना काठमाडौं पठाइयो

१३ बिरामी जिल्ला अस्पताल भर्ना
प्रभावित गाउँमा २ सय मास्क बाँडियो
तुलाराम पाण्डे

घटाली गाउँ (कालिकोट) — दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कालिकोटमा भाइरल ज्वरो: बिरामीको नमुना काठमाडौं पठाइयो

महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो ।


खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए । तीमध्ये गम्भीर अवस्थामा रहेका ६ जनाबाट नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘महामारीले चर्को रूप लिएको बस्तीका ६ जनाको स्याम्पल पठाएका हौं,’ अलीले भने, ‘गाडीमार्फत सुर्खेत पठाएका छौं, त्यहाँबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले काठमाडौं लैजाने छन् ।’ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएपछि मात्र रोगका बारेमा यकिन हुने उनले बताए । बिरामीमा देखिएको लक्षणका आधारमा जिल्ला स्वास्थ्यले भाइरल ज्वरो भएको अनुमान गरेको छ ।


रोग फैलिएपछि गाउँमा विद्यालय पनि सुचारु हुन सकेका छैनन् । स्थानीय जनजीवन मावि र नवज्योति आधारभूत विद्यालयमा दलित बस्तीका अधिकांश बालबालिका विद्यालय नआएको शिक्षक भीमप्रसाद पाण्डेले बताए । गाउँमा २ सय मास्क वितरण गरिएको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।


रोगबाट ताडी घटाली गाउँमा सबैभन्दा बढी बिरामी छन् । त्यहाँका कुनै पनि घरमा बिरामी खाली नभएको वडा सदस्य जय विश्वकर्माले बताए । आइतबार बिहान जिल्ला स्वास्थ्य प्रमुख डा. अली, अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर सिंहसहित गाउँ पुग्दा हरेक घरका कुनै न कुनै सदस्य ज्वरोले सुतेका थिए । १० दिनदेखि ज्वरो आएर उठ्न नसकेको ५९ वर्षीय मनसरे विश्वकर्माले कान्तिपुरलाई बताए । ‘मेरो घरमा त कोही सद्दे छैनन्,’ विश्वकर्माले भने, ‘९ जनाको जहान सबै ढलेका छौं ।’ घटाली गाउँमा डाक्टर पुगेपछि बिस्तारै जम्मा भएका सबैजसो बालबालिका, महिला तथा वृद्धवृद्धा खोकिरहेका थिए ।


गाउँ पुगेको टोलीले केही बिरामीलाई औषधि वितरण गरेको छ भने गम्भीर भएकालाई बोकाएर जिल्ला अस्पताल मान्म ल्याउन लगाएको छ । जिल्ला अस्पताल पुर्‍याइएका १९ बिरामीमध्ये १३ जनालाई भर्ना गरिएको छ ।


खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिकासहित ५ को मृत्यु भएपछि शनिबार खटिएको दुई स्वास्थ्य टोलीले टोल–टोलमा गएर बिरामी पहिचान गरेको थियो । निमित्त प्रजिअ राजकुमार दुलालले क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतबाट कालिकोटका लागि एक ट्रक औषधि पठाइएको बताए ।


यसैबीच, आइतबार बेलुकी जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक बसी महामारी नियन्त्रणका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी परिचालन गर्ने र थप जनशक्तिका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लास्तरका सञ्चार माध्यमले सन्देशमूलक सचेतना प्रसारण गर्ने र सबै निकायले समन्वय गरेर महामारी नियन्त्रणमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : माघ ७, २०७४ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?