कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

राष्ट्रिय सभा निर्वाचन - दलहरू उम्मेदवार छान्दै

-कांग्रेसले प्रदेश ७ को टुंग्यायो -एमालेमा ५, ६ र ७ को तय-माओवादीले मंगलबार निर्णय लिने-मधेसी दलहरू अलमलमा

काठमाडौँ — राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा मधेसी गठबन्धनसँगको तालमेल अनिश्चित बनेपछि कांग्रेस उम्मेदवार छनोटमा जुटेको छ । कांग्रेस नेता विमलेन्द्र निधिले तालमेल प्रयास पनि जारी रहेको बताए ।

राष्ट्रिय सभा निर्वाचन - दलहरू उम्मेदवार छान्दै

तालमेलका लागि कांग्रेसले प्रदेश २ मा २ सदस्य दिन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग आग्रह गरेको छ । तर, मधेसी दुई दलको गठबन्धनले आफूहरूलाई ५ सिट दिन कांग्रेसलाई आग्रह गर्दै आएका छन् । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनसँग नमिल्दा पनि प्रदेश २ मा ४ सिट जित्ने करिब निश्चित छ । कांग्रेससँग तालमेल गर्दा एक सिट बढी पाउनुपर्ने तर्क गठबन्धनको छ । कांग्रेसले भने दुई सिटमा आफूलाई सहयोग गर्न आग्रह गरेको हो ।


निधिका अनुसार २ नम्बर प्रदेशमा तालमेलको प्रयास जारी भएकाले मंगलबार बिहान मात्रै उम्मेदवार छनोट हुन सक्ने बताए । ‘अन्य प्रदेशमा उम्मेदवार छनोट गर्ने काम सुरु भएको छ,’ निधिले भने, ‘२ नम्बरमा राजपा र संघीय समाजवादी फोरमसँग तालेमलका लागि छलफल भइरहेकाले त्यसलाई अन्तिममा राखिएको छ ।’ तालमेल भए बढीमा १४ सिट र नभए त्यसभन्दा बढी उम्मेदवार हुने निधिले बताए । प्रदेश २ मा भने तालमेल भए २, नभए ४ जना उम्मेदवार हुनेछन् ।


उम्मेदवार छनोटका लागि सोमबार बिहानदेखि पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र केही वरिष्ठ केन्द्रीय सदस्यबीचको बैठक चलिरहेको छ । बैठकले साँझसम्म प्रदेश ७ को उम्मेदवार मात्रै टुंग्याएको छ । उम्मेदवार छनोट गर्ने पार्टीको आधिकारिक निकाय संसदीय समिति विधानविपरीत गठन भएको भन्दै विवादमा तानिएपछि शीर्ष नेताहरूले उम्मेदवार छनोट गर्न लागेका हुन् । प्रदेश ७ मा खुलाबाट बद्री पाण्डे, महिलाबाट तारादेवी भट्ट, दलितबाट शेरीराम पार्खी र अपांगता भएकाबाट छत्रराज जोशीको नाम चयन भएको छ । प्राथमिकताका आधारमा पाण्डे र भट्ट अगाडि पर्ने भएका छन् ।


मधेसी दलमा तालमेलकै कसरत

मधेसी गठबन्धनमा रहेका राजपा र संघीय समाजवादी फोरममा पनि कांग्रेससँगको तालमेल गर्ने या नगर्ने भन्नेमा अलमल छ । प्रदेश २ मा वाम गठबन्धनले मधेसी गठबन्धनलाई आफूहरूसँग तालमेल भए ५ सिट दिन तयार रहेको बताएको छ । त्यसैका आधारमा मधेसी गठबन्धनले कांग्रेससँग बार्गेनिङ गरिरहेको छ । ‘अहिलेसम्म कोसँग तालमेल गर्ने भन्ने निर्णयमा पुग्न सकिएको छैन,’ राजपा नेता केशव झाले भने, ‘अध्यक्ष मण्डलका सदस्यहरूले कांग्रेस र फोरमका नेतासँग निरन्तर छलफल गरिरहनुभएको छ । सम्भवत: मंगलबार बिहानसम्म टुंगोमा पुगिएला,’ तालमेल हुने/नहुने टुंगो लागेपछि मात्रै उम्मेदवार चयन प्रक्रिया अघि बढ्ने झाले बताए । तालमेल हुने/नहुने टुंगो भएपछि मात्रै कुन समूह (क्लस्टर) बाट उम्मदेवार दिने भन्ने निक्र्याेल हुने भएकाले उम्मेदवार छनोटमा ढिलाइ भएको उनको तर्क छ । उम्मेदवार छनोट र तालमेलका विषयमा छलफल गर्न सोमबार राजपा र फोरमका अलग/अलग बैठक चलिरहेका छन् ।


एमालेमा सकस

सोमबार मध्यरातसम्ममा एमालेले प्रदेश ५, ६ र ७ का उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार प्रदेश ७ मा कमला ओली (महिला), इन्दु कडेरिया बिष्ट (महिला), शेरबहादुर कुँवर (खुला), चक्रप्रसाद स्नेही (दलित) उम्मेदवार हुनेछन् । प्रदेश ६ मा कविता बोगटी (महिला), नन्दा शर्मा (महिला), नरपति लोहार (दलित), भैरवसुन्दर श्रेष्ठ (खुला) र ठगेन्द्र पुरी (खुला) उम्मेदवार हुनेछन् ।


प्रदेश ५ मा रामलखन हरिजन (दलित), खिमलाल भट्टराई (खुला), मीना बुढा (महिला), कोमल वली (महिला) उम्मेदवार हुनेछन् । प्रदेशले धेरै नाम सिफारिस गरेपछि उम्मेदवारको टुंगो लगाउन एमालेलाई सकस परेको हो । सोमबार रातिसम्म स्थायी समिति बैठक बसेको थियो । सिफारिसमा परेका प्रत्येक व्यक्तिका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक लम्बिएको हो । ‘उम्मेदवार बनाउने व्यक्तिहरू सबैका बारेमा विश्लेषण गर्नु परेकाले बैठक केही लम्बिएको हो,’ स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने ।


माओवादीमा नेतृत्वलाई जिम्मा

राष्ट्रिय सभा चुनावका लागि माओवादीले पनि प्रादेशिक तहबाट सिफारिस भएका नामलाई मंगलबार टुंग्याउने भएको छ । सोमबार बसेको प्रदेश इन्चार्जसहितको बैठकले नाम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । ‘इन्चार्जहरूको सुझावअनुसार शीर्ष नेताले नै नाम अन्तिम रूप दिनुहुनेछ,’ नेता मणि थापाले भने ।


माओवादी केन्द्रले गठबन्धनका तर्फबाट १४ सिटमा उम्मेदवारी दिनेछ । माओवादीको प्रदेश तहबाट यसअघिको चुनावमा नउठेका मुख्य नेताहरू रामबहादुर थापा र दीनानाथ शर्माको नाम सिफारिस भएको छ । उनीहरूलाई माओवादीले राष्ट्रिय सभा चुनावको उम्मेवार बनाउने करिब निश्चितजस्तो छ । त्यस्तै लीलामणि पोखरेल, नरमाया भट्टराई, विमा काफ्ले, गंगा कार्की, विमला सुवेदी, गंगा पराजुली, सरिता महर्जन, श्रीराम ढकाल, बलावती शर्मा, परशुराम रम्तेल, खिमकुमार विके, भक्त रसाइली, हरिराम चौधरी, सहदेव बोगटी, पद्मराज जोशी, देवराज रेग्मी, मीनबहादुर खत्री, ललीराम लोहारलगायतको नाम आएको छ ।

प्रकाशित : माघ ९, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?