१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित 

पूर्ण विके

पोखरा — सरकारले तोकेको भन्दा बढी शुल्क माग गरिएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजमा नयाँ भई अध्ययनको तयारीमा रहेका विद्यार्थीले शुक्रबार विरोध जनाएका छन् । 

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित 

त्रिभुवन विश्वविद्यालयबाट शुल्क तिर्ने गरी नाम निकालेका २८ जना विद्यार्थीले तोकिएको भन्दा बढी शुल्क माग गरिएपछि विरोध जनाएका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विएससी नर्सिङ अध्ययनको ४ वर्षे कोर्षको लागि ७ लाख ४८ हजार ६ सय ३० रुपैयाँ शुल्क तोकेपनि विद्यालयले १२ लाख लाग्ने भन्दै थप शुल्क माग गरेपछि आफूहरुले विरोध जनाएको नुवाकोटकी सुकृति श्रेष्ठले बताइन् । पोखरामा अस्पताल सञ्चालन गरेको कलेजले अर्घौमा अध्यापन गर्दै आएको छ ।


आफूले मंसिर २९ गते उक्त कलेजमा भर्ना हुनको लागि माग गरिए अनुसार ३ लाख ७४ हजार ३ सय १५ रुपैयाँ प्रभु बैंकमार्फत रकम दाखिला गरेकोमा कलेजका प्राचार्य रविन्द्रप्रसाद श्रेष्ठले उक्त रकम भर्ना बुकमात्र गर्नको लागि भनेपछि आफू थप अन्यौलमा परेको श्रेष्ठले जानकारी दिइन् । ‘पहिला भर्नाको लागि हो भन्दै त्यो पैसा हाल्न भनियो,’ श्रेष्ठले भनिन्, ‘तर अहिले भर्ना हुन नभई कक्षा बुक गर्नको लागि मात्र पैसा मागेका हौं । भर्ना हुनको लागि थप पैसा चाहिन्छ भनिएपछि छाँगोबाट खसेजस्तो भएकी छु ।’


कलेजको नीति, नियमबारे शुक्रबार जानकारी गराउने भन्दै आफूहरुलाई बोलाईएपनि शुल्क बृद्धिको आफूहरुले विरोध जनाएपछि कलेजका प्राचार्यसहितका कर्मचारी १ बजे आउँछु भनेर बेलुका ६ बजेसम्म नआएपछि आफूहरु कजेल हाताभित्र नै रहेको काठमाडौंकी लिशा श्रेष्ठले बताइन् । आफूलाई फोन गरेर ३ लाख रुपैंयाँ माग गरिएको उनले बताइन् । ‘पहिले भर्ना बाहेकका कुनै पनि शुल्क लाग्दैन भनिएको थियो,’ उनले भनिन्, ‘तर अहिले भर्ना हुन थप ३ लाख रुपैंयाँ शुल्क बुझाउनु पर्छ भनेर भनियो ।’


पहिले भर्ना हुनको लागि थप पैसा चाहिँदैन भनेर भनिएपनि पछि छोरी सुजातालाई भर्ना गर्न १ लाख ६० हजार रुपैयाँ माग गरिएको आमा एकमाया सुनारले बताईन् । ‘फोन गरेर पहिले ३० हजार मागियो,’ उनले भनिन्, ‘त्यसपछि अर्को दिन छोरी पढाउने भए १ लाख ६० हजार रुपैंयाँ थप शुल्क लाग्छ भनियो । सबै अभिभावकलाई फोन गरेर यसरी नै भन्ने गरिएको रहेछ ।’


कलेजले विद्यार्थी अनुसार फरक फरक रकम माग गरेको अभिभावकहरुले गुनासो गरे । धादिङकी नविना घिमिरे, चितवनकी रक्षा शर्मा, नवलपरासीकी मोनिका तिवारी, रुपन्देहीकी निरुता पोखरेल, संखुवासभाकी सनिपा श्रेष्ठ लगायतले आफूहरुलाइ १ लाख ६० हजारदेखि ३ लाख रुपैयाँसम्म थप शुल्क माग गरिएको बताए ।


चिकित्सा शिक्षाको नाममा ठगी गर्ने उक्त कलेजलाई कारवाही र आफूहरुले पढ्न पाउने अधिकारको सुनिश्चितता हुनु पर्ने विद्यार्थीको माग छ । ‘राज्यले तोकेको पैसा हामी जसरी पनि तिर्छौ,’ उनीहरुले भने, ‘तर विभिन्न बाहनामा गरिएको ठगी हामी कहिल्यै स्विकार गर्दैनौं ।’


कलेज प्रशासनले शुल्क बढी लिएको बारेमा आफूलाई जानकारी नभएको कलेजका प्राचार्य डा. रविन्द्रप्रसाद श्रेष्ठले बताए । तर उनी स्वयंले बढी रकम माग गरेको विद्यार्थीको गुनासो छ ।

‘शुल्क बढी लिईएको बारेमा मलाई जानकारी छैन,’ उनले भने, ‘यस विषयमा सिओसँग कुरा गर्नु पर्छ ।’


आईओएमले शिक्षण शुल्कको लागि मात्रै उक्त रकम तोकेको र कजेलबाट विद्यार्थीलाई प्रदान गरिने थप सेवा सुविधाको लागि थप रकम लाग्ने भएकोले आफूहरुले आईओएमबाट स्विकृति लिएर नै रकम बढाएको कलेजका सिईओ सन्तोष खनालले बताए । ‘हामीले स्विकृति अनुसार नै रकम लिएका हौं,’ उनले भने, ‘विद्यार्थीसँग बढी रकम असुलेका छैनौं ।’

प्रकाशित : माघ १३, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?